कालचिनीः फेमिली प्लानिङ एसोसिएशन अफ इन्डियाको ७५औँ वर्षगाँठ कार्यक्रम चलिरहेको क्रममा शनिबार एफपीएआई कालचिनी शाखाको क्लिनिक परिसरमा एउटा सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको जानकारी एफपीएआई कालचिनी शाखाको प्रबन्धक तुषार चक्रवर्तीले दिएका छन्। उक्त अवसरमा एफपीएआई कालचिनी शाखाको चेयरपर्सन सौरभमय सरकार, भाइस चेयरपर्सन मधुपर्ण मुखर्जी, संरक्षक अभिदीप हाजरा, बीएससी सदस्य विश्वजीत दत्ता र अदिति मोइत्रा, वरिष्ठ समाजसेवी ललित न्यासुर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
शाखा प्रबन्धक तुषार चक्रवर्तीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रथमत एफपीएआईको स्थापनादेखि यसले गर्दै आइरहेको मानवीय सेवाहरूको विवरण एवम् एमआईएसपी र एसआरएच सेवामाथि प्रोजेक्टर मार्फत सम्झाइएको थियो। त्यस पश्चात कालचिनीमा एफपीएआईको शाखा शुरु भएयता सहयोगिता दिएर आइरहेको विभिन्न संस्थापक सदस्यहरू एवम् कालचिनी क्षेत्रको समाजसेवीहरूलाई मायाको चिनो स्वरूप सम्वर्द्धना प्रदान गरिएको थियो।
उक्त सम्बन्धमा पत्रकार सम्मेलन मार्फत एफपीएआई कालचिनी शाखाको प्रबन्धक तुषार चक्रवर्तीले एफपीएआईले ७५औँ वर्षगाँठ पालन गरिरहेको र गत २३ जुलाईको दिन हेमिल्टनगञ्ज श्याम प्रसाद संघको क्लब परिसरबाट सांस्कृतिक एकताको झाँकीहरूसहित शोभायात्रा निकालेको र २६ जुलाईको दिन यौन शिक्षा सचेतनाबारे बाइक ऱ्याली गरिएको र शनिबार एसोसिएसनका वरिष्ठ सदस्यहरु एवम् सहयोग पुऱ्याउँदै आइरहेको समाजसेवी अनि मिडिया कर्मीहरूलाई सम्वर्द्धना प्रदान गरिएको र आगामी ३० जुलाईको दिन एडभोकेसी कार्यक्रम एफपीएआई कालचिनी क्लिनिक हलमा सम्पन्न गरिने अनि त्यस अवधिभित्र नै सर्भाइकल क्यान्सर स्क्रीनिङ क्याम्प पनि सम्पन्न गरिने जनाएका छन्।