गजल-१
सार्थक परिणाम-को पर्खाइमा हुन्छ मान्छे!
बाहिर हाँसे पनि आँसुले परेली धुन्छ मान्छे ।
जित हार सहेर पनि सफलता उन्मुख सदैव
अपार सुख पाएरै पनि घरीघरी रुन्छ मान्छे ।
लुट्नु लुटाउनु जीवनको पर्याय बनेको छ
सधैँ आतुरतामा किन भविष्य बुन्छ मान्छे ।
विश्वासमा दरार भेटिएको छ मान्छे-भित्र !
तथापि पनि कानमा तेल हालेर सुन्छ मान्छे ।
गजल-२
घर पोलेर,कसैले पनि आगो ताप्नु हुँदैन
मुहारमा हाँसो लिएर भिख माग्नु हुँदैन ।
छिमेकीले एकछाक भात माग्यो भन्दैमा
खान बोलाउनु तर चौकामै राख्नु हुदैन ।
सबैको आ-आफ्नो,आत्मसम्मान हुन्छ नै
भोकाे भएपनि पराईको हात चाट्नु हुँदैन ।
आफ्नो घरको भकारी खाली छ भन्दैमा
श्रम नै नगरी छिमेकमा झोली थाप्नु हुँदैन ।
क्षणिक खुशी आनन्द सुखको पर्याय हाेइन
बदलामा कसैले गलत कदम चाल्नु हुँदैन ।
~आकाश अधिकारी -तनहुँ।
याे पनि हेर्नुस्
