अपराजिता एन्टी रेप बिल लिएर पत्रकार सम्मेलन।
कालचिनी : पश्चिम बङ्गाल विधानसभाले दुष्कर्म गर्ने अपराधीहरू विरुद्ध कठोर सजायको मापदण्ड ल्याउन ध्वनिमतले अपराजिता एन्टी रेप बिल पास गरेको छ। यद्यपि यो बिलमाथि राष्ट्रपतिको मोहर हस्ताक्षर लाग्न थाँती नै छ। यता अपराजिता एन्टी रेप बिलले दुष्कर्मी अपराधीहरूलाई उचित सजायको प्रावधान बन्ने खुसी जाहेर गर्दै तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले बिहीबार तृणमूल कालचिनी ब्लक कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरे। आरजी कर अस्पताल काण्डले सम्पूर्ण देशभरी नै सनसनी मच्चिएको र यसले सबै स्तब्ध बनेको परिस्थितिमा पश्चिम बङ्गाल राज्य सरकारले पुरै भारतवर्षलाई नै पथ प्रदर्शन गर्दै अपराजिता एन्टी रेप बिल ल्याएको तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले जनाएका छन्।
उक्त पत्रकार सम्मेलनमा ब्लक सभापतिलगायत ब्लक सहसभापति ओमदास लोहार, तृणमूल युवा कांग्रेस कालचिनी ब्लक सभापति पवन योल्मो, कालचिनी अञ्चल चेयरम्यान अतिश छेत्री एवम् अन्यान्य नेतृत्वहरूले उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा ब्लक सभापति असीम पाख्रिनले आरजी कर अस्पताल कान्ड लिएर राज्य सरकारलाई बदनाम गर्ने विरोधीहरूको कुचक्रलाई मात दिएर मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा जसरी विधानसभामा अपराजिता एन्टी रेप बिल पास गरिएको छ त्यसको अहिले अन्य राज्यका नेताहरूले पनि प्रचार अनि समर्थन गरेकोले फेरि एकपल्ट बङ्गालले देशको दिशानिर्देश गर्न सक्ने उदाहरण प्रस्तुत गरेको जनाएका छन्।
तिनले जुन प्रशिक्षणार्थी महिला चिकित्सकमाथि घोर अपराध तथा अन्यान्य भयो त्यसको सारा शिक्षित औ सभ्य देश र समाजले निन्दा गरिरहेको र अपराधीलाई कठोर मृत्युदण्डको सजाय दिने माग उठिरहेको तर विरोधी दलहरूले यसलाई लिएर राजनैतिक रोटी सेक्ने काम गरेको तर राज्य सरकारले यस्तो अपराधलाई रोक्न अब अपराजिता एन्टी रेप बिल ल्याएको बताए।