बाइसनको हमलामा एकजना गाउँलेको मृत्यु
कालचिनी : गाउँघरमा लगातार जङ्गली हात्ती र बाइसनको उत्पात मच्चिरहेको क्रममा आइतबार फेरि दुखद घटनाको साक्षी बनेको छ मेन्दाबारी क्षेत्रका गाउँलेहरू। साँझपख मेन्दाबारी ग्राम पञ्चायत क्षेत्रको साताली नाकाडाला गाउँमा एउटा बाइसन पसेर उत्पात मचाइरहेको बेला एकजना ६२ वर्षीय बुधु उराँव कुजूरले बाइसनको हमलामा ज्यान गुमाएको घटना प्रकाशमा आएको छ।
प्राप्त जानकारीअनुसार ६२ वर्षीय वृद्धा बुधु उराँव कुजूर गाई धपाउन बारीमा निस्किएको थियो तर त्यही बेला गाउँमा पसेको जङ्गली बाइसनले तिनीमाथि अचानक आक्रमण गर्दा घटनास्थलमा नै वृद्धाको मृत्यु भएको बताइएको छ। यता सो घटनाले सम्पूर्ण मेन्दाबारी क्षेत्रमा नै सनसनी फैलिएको छ भने शवलाई बन विभाग र पुलिसले उद्धार गरेर लगेको गाउँलेहरूले जनाएका छन्। सो घटनाप्रति शोक व्यक्त गर्दै मेन्दाबारी ग्राम पञ्चायतका प्रधान चन्द्रा नार्जीनारीले घटना जङ्गलमा नभएर गाउँभित्र भएकोले यसमा बन विभागले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने दाबी राखेकी छन्।
मृतक वृद्धाको परिवार आर्थिक रूपमा विपन्न रहेकोले सक्दो मदद ग्राम पञ्चायतबाट गरिने तिनले जनाएकी छन्।