वनछाया गाउँलाई आर्ट भिलेज बनाउन प्रयासरत गाउँलेहरू
कालचिनी : कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको दुईवटा वन बस्ती गंगुटिया र भोटे बस्तीलाई स्थानान्तरण गरेर बसाइएको तथा नयॉं अस्तित्वमा आएको गाउँ वनछाया अहिले डुवर्सको बक्सा पर्यटकीय मानचित्रमा समावेश भइसकेको छ भने नयॉं बेहुली जस्तै सजिएर बसेको वनछाया गाउँ सबैको भ्रमण स्थल बनेको छ| प्रायः ६५ परिवारमा विभाजित २६० जति सदस्यहरूको नयॉं वास स्थान वनछाया गाउँलाई राज्य सरकारको निर्देशमा तथा अलिपुरद्वार जिल्ला प्रशासनको पहलमा एउटा मोडल भिलेज बनाउने प्रक्रिया पनि चलिरहेको जान्नमा आएको छ| यसैबिच वनछाया गाउँलेहरूको पक्षबाट तथा वनछाया होमस्टे सञ्चालकहरूको पक्षबाट गत केही दिन अघि मात्र अलिपुरद्वार जिल्ला शासक समक्ष पर्यटन सम्बन्धित केही प्रस्ताव पनि लिखित रुपमा जमा गरिएको वनछाया गाउँका बासिन्दा तथा आर्ट अफ लिभिङ वाईएलटीपी र युगान्तर परिवारको संयोजक रामकुमार लामाले जनाएको छ|
अहिलेघरी केही पर्यटकहरू पनि वनछाया गाउँमा आउने गरेकोले अब पर्यटकहरूलाई स्वागत गर्न अनि रमाइलो गराउन आर्ट अफ लिभिङ वाईएलटीपीको पक्षबाट गोर्खा संस्कृतिमाथि केन्द्र गर्दै तामाङ सेलो, राई सिलु नृत्य र मारुनी नृत्यको प्रशिक्षण पनि चलिरहेको रामकुमार लामाले जनाएको छ| वनछाया गाउँबाट राइमाटाङ वन बस्ती, अच्छापाडा, नयॉं बस्ती, चिञ्चुला, गंगुटिया र राजाभातखावासम्म सफारी र साइकल ट्रेलको पनि प्रस्ताव जिल्ला शासक समक्ष दिएको रामकुमार लामाले बताएको छ| गाउँलाई आकर्षक बनाउन गाउँलाई नै कला गाउँमा रुपान्तरित गर्न काम शुरु गरिएको बताउँदै सरकारले एउटा सामुदायिक भवन, सार्वजनिक खुल्ला मञ्च, बायोडाइभर्सिटी पार्कको काम शुरु गरिसकेको वनछायाका बासिन्दाहरूले जनाएका छन्| यता गाउँलेको पक्षबाट पर्यटन वृद्धि गर्न बायोडाइभर्सी पार्कमा एउटा अग्लो बुद्धको मूर्ति पनि सरकारले गरिदिने निवेदन गरेको रामकुमार लामाले थप जनाएको छ|
याे पनि हेर्नुस्
