वन्यजीव शिकार मामिलामा ३ वर्षको सजा

कालचिनीः शुक्रबार बक्सा ब्याघ्र प्रकल्पको पूर्व डिभिजन अन्तर्गतको एउटा अर्को वन्यजीव शिकारको मामिलाको सुनवाईमा आरोपित दुइजना अभियुक्तलाई ३ वर्षको कैदसहित ५० हजार रुपियाँ जरिमाना गरिएको बक्सा ब्याघ्र प्रकल्प पूर्व डिभिजनका डीएफडी देवाशीष शर्माले जानकारी गराएको छ। विगत वर्ष १९ जुलाई २०२४ मा जयन्ती रेञ्जको दक्षिण जयन्ती बीटमा भुक्ने मृगको शिकार गरेको अभियोगमा तुरतुरी खण्ड ग्राम पञ्चायत क्षेत्र तथा समुकतला थाना अन्तर्गत पर्ने चुनियाझोडा चियाबारी निवासी लाजरुश मुण्डा र दयाल मुण्डालाई वन विभागले पक्राउ गरेको थियो। पक्राउको क्रममा वन विभागले ३ वटा देशी पिस्तोल समेत बरामद गरेको थियो।
वन विभागले पक्रा परेका दुवै आरोपीहरूलाई अदालतमा प्रस्तुत गरेपछि अदालतले दुवैलाई विचाराधीन कैदी बनाएको थियो भने अपराध मामिलाको ७ महिनाभित्र मुद्दाको सुनुवाइमा सो सजाय सुनाइएको बताइएको छ। बार्किङ डियर अर्थात भुक्ने मृगलाई वन्यजन्तु संरक्षण आइन १९७२ बमोजिम सेड्युल १ प्रजातिको रुपमा संरक्षण गरेको छ भने यस अनुसूचिका रूपमा रहेको वन्यजीवको शिकारका घटनामा बढीमा ७ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। डीएफडी देवाशीष शर्माले मृग लगायतका जङ्गली जनावरको शिकारमा संलग्न नहुन समाजलाई बलियो सन्देश दिन यस्तो आइन हुन जरुरी रहेको जनाएका छन्।

Leave a comment