डुवर्सका प्रथम कृतिकार लोकनाथ प्रधान अब रहेनन्

डुवर्सकाे प्रथम कविता कृति बिरूवा हाे ।

जयगाउँ : डुवर्सेली नेपाली साहित्यका प्रथम कृतिकार लोकनाथ प्रधानको आज बिहान ११:३० बजे निधन भयो। धेरै समयदेखि उनी मधुमेह रोगले ग्रसित थिए। आज तिनको निधन जयगाउँको त्रिवेणी टोलस्थित घरमा भएको तिनको भतिजी रेवती प्रधानले जानकारी गराएकी छन्। लोकनाथ प्रधान मध्य डुवर्सको बानरहाट अन्तर्गत चमर्ची बजारमा सन् १९४६ सेप्टेम्बर १५ तारिखको दिन जन्मेका थिए। जागिरको सिलसिलामा भुटानको विभिन्न ठाउँमा सर्वे अफिसरको रूपमा जागिर गर्दै पछि स्थायी रूपमा जयगाउँ स्थित त्रिविणी टोलमा बस्दै आएका थिए। डुवर्सेली नेपाली साहित्यको बन्जर भूमिमा बिरुवा कविता सङ्ग्रह १९६५ सालमा प्रकाशित गरेर डुवर्सेली नेपाली साहित्य भूमिमा साहित्यको विजारोपण गरे। बिरुवा कविता सङ्ग्रह पश्चात् उनले सामसामयिक विषयवस्तुहरूमा लेखहरू, संस्मरणहरू र कथा कविता विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गरिरहे। सिङ्गो कृति आकारमा २०१८ मा मायाको मोल पुस्तक प्रकाशित गरे। यस मायाको मोल पुस्तकभित्र कविता र कथाहरूको कोलाज रहेको छ। यसका साथै उनले विभिन्न भाषाका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने काम पनि गरेका थिए।
उनको साहित्यप्रतिको योगदानलाई कदर गर्दै डुवर्स नेपाली साहित्य विकास समितिले चन्द्रवीर प्रधान स्मृति साहित्य पुरस्कारले सम्मानित गरेका थिए भने नेपाली साहित्य प्रतिष्ठान डुवर्सको तर्फबाट सम्मान जनाएका थिए साथै विभिन्न संघसंस्थाहरूले उनको साहित्यिक योगदानको उच्च कदर गर्दै सम्मान गरेका थिए। लोकनाथ प्रधानले आफूपछि दुई छोरा विजय र प्रकाश अनि छोरी छायाँलाई छाडेका छन् । उनको पार्थिव शरीर भोलि बिहान मङ्गलबारी अवस्थित माम्रे चर्चमा राखिनेछ। माम्रे चर्चबाट ११ बजे अन्तिम संस्कारका निम्ति निकालिने छ भन्ने जानकारी रेवती प्रधानले गराएकी छन्।

याे पनि हेर्नुस्

Leave a comment