डा. सुदास लामा भाषा तथा संस्कृति अध्ययन केन्द्रको डाइरेक्टर
कालचिनी : उत्तरबंगाल विश्वविद्यालयका इतिहास विभागका एसोसिएट प्रोफेसर डा. सुदास लामा हाल विभिन्न प्रशासनिक जिम्मेवारी सम्हाल्दै विश्वविद्यालयको शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय योगदान दिइरहेका छन्| हालै गठन गरिएको स्थानीय भाषा तथा संस्कृति अध्ययन केन्द्र (सेन्टर फर स्टडीज ईन लोकल ल्याङ्वेज एण्ड कल्चर) का निर्देशकको रूपमा डा.लामाले २०२५ अप्रेल ४ मा पदभार ग्रहण गरेका हुन्| सो केन्द्रको पहिलो कार्यसमितिको बैठक मंगलवार सम्पन्न भएको बताइएको छ| तिनको नेतृत्वमा केन्द्रले उत्तरबंग क्षेत्रका लोपोन्मुख भाषाहरू लेप्चा, टोटो, कुडुख,तामाङ लगायतका भाषाहरूको परिचयात्मक पाठ्यसामग्री तयार गर्ने योजना अघि सारेको छ| साथै तिनले उत्तरबंगका विभिन्न भाषिक समुदायहरूको भाषिक तथा सांस्कृतिक प्रोफाइल तयार गर्ने दीर्घकालीन योजना पनि रहेको डा. सुदास लामाले जनाएको छ|
यसअघि डा. सुदास लामाले विश्वविद्यालयमा विविध जिम्मेवारी सम्हालिसकेका छन् जसमा राष्ट्रिय सेवा योजना (एनएसएस) का कार्यक्रम अधिकृत (२०१७२०२३), एनएसएस कार्यक्रम समन्वयक (२०२३२४), वाच एण्ड वार्ड विभागका प्रभारी अधिकृत, इतिहास विभागका प्रमुख (२०१९-२०२१), अक्षयकुमार मैत्रेय हेरिटेज संग्रहालयका निर्देशक (२०१९-२०२१ र २०२४ देखि हालसम्म) रहेका छन्| हालै उत्तरबंगाल विश्वविद्यालय सहकारी समितिको पॉंच वर्षे कार्यकालको लागि निर्वाचित सदस्यको रूपमा पनि डा. सुदास लामा चयन भएका छन् भने इतिहास स्नातक अध्ययन बोर्डका अध्यक्षको जिम्मेवारीमा पनि आफू रहेको डा. सुदास लामाले जनाएको छ|
डा. सुदास लामाले उत्तरबंगाल विश्वविद्यालयले भाषा, संस्कृति र इतिहासको अनुसन्धान तथा संरक्षणमा नयॉं ऊर्जा लिएर काम गर्ने बताएका छन्| यता डा. सुदास लामाको सफलतालाई डुवर्सेली संघ संस्थाका प्रतिनिधिहरूले गौरवान्वित क्षण ठानेका छन् भने कालचिनी थाना अन्तर्गत गंगुटिया चियाकमान निवासी डा. सुदास लामाको परिवारले खुसी व्यक्त गरेका छन्|
याे पनि हेर्नुस्
