कालचिनीः अलिपुरद्वार लोकसभा केन्द्रको सबैभन्दा दुर्गम अनि उच्च स्थानमा अवस्थित बक्साद्वारमा शुक्रबार बिहान प्रायः ७ बजीदेखि मतदान शुरु भएको थियो भने समुन्द्रतलबाट प्रायः २६०० फूटमाथि अवस्थित बक्साद्वारमा जम्मा तीनवटा मतदान केन्द्र बक्साफोर्ट, चुनाभट्टी र आदमामा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ।
बक्साफोर्ट प्राइमरी स्कूलको मतदान केन्द्रमा बक्साद्वारको लाप्चाखा, खाटालाइन, बक्साफोर्ट, डाँडागाउँ, लालबाङ्गला, टाँशीगाउँ, ओचुलुम र सदरबजारका प्रायः ८०० मतदातामा प्रायः ५०० भन्दा अधिक मतदान भएको बताइएको छ। देशको १८औँ लोकसभा चुनाउ भइसक्दा पनि आजसम्म दुर्गम बक्साद्वारमा वाहन चल्ने सडक नभएको एवम् आधारभूत विकासबाट बक्साद्वारवासी वञ्चित भएता पनि लोकसभा, विधानसभा र पञ्चायत भोटमा यहाँको मानिसहरूले भोट दिँदै आइरहेको बताउँदै जसले पनि भोट जितेर सांसद भए बक्साद्वारको विकास गर्न निवेदन रहेको बक्साद्वारका डुक्पा समाजसेवी टेन्डु डुक्पाले जनाएका छन्।