जोगी खोलामा अस्थायी बॉंधको काम शुरु


जयगाउँः कालचिनी खण्ड अन्तर्गत जयगाउँ थानास्थित खोक्ला बस्ती जोगी खोलाको पानीको बहावलाई रोक्न अस्थायी रूपमा बाध बॉंध्ने काम आजबाट शुरु भएको छ। खोक्ला बस्ती, तोरीबारी, मङ्गलबारे गुरॉंस टोल आदि क्षेत्रमा भोटानबाट बग्ने जोगी खोलाले फोहोर मैला ल्याई स्थानीय बासिन्दाहरूमा असुविधा पुर्‍याउने गरेको छ। त्यसै असुविधाको कारण गत दिन स्थानीय बासिन्दाहरूलाई केही राहत पुर्‍याउने आश्वासन जेडीए चेयरमेन गङ्गाप्रसाद शर्माले दिएका थिए। त्यसै फलस्वरूप आज भोटानका जिल्ला प्रशासन साथै भारतका जिल्ला प्रशासन मिले दुवैतर्फ आआफ्नो क्षेत्रमा अस्थायी रुपमा बॉंध बॉंध्ने कार्य भएको जान्नमा आएको छ। भुटान र भारत क्षेत्रका जिल्ला प्रशासनद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन गरी आजदेखि बॉंध बॉंध्ने कार्य थालिएको र यो बॉंध स्थायी नभई अस्थायी रहेको जानकारी स्थानीय ग्रामवासीको तर्फबाट सोसियल मिडिया प्रभारी दुर्गा राई थुलुङले दिएका छन्।
यस्ता अस्थायी बॉंधले कतिञ्जेल थेग्न सक्छ र यसको स्थायी समाधान कहिले हुन्छ भन्ने स्थानीय बासिन्दाहरू काकाकुल हेरिरहेको छन्। हरेक वर्ष यस खोलाको बाढीमा प्रभावित भएका गाउँले कहिलेसम्म यस्तो अस्थायी समाधानको भरमा बस्ने भनी जन गुनासो रहेको पनि पाइयो। जोगी खोलामा अस्थायी बॉंध बॉंध्ने साथै फोहोर मैला सफा गर्ने अभियानमा तृणमूल कंग्रेसका अञ्चल सभापति विष्णु लामा, उपप्रधान सुवाला शाह, क्षेत्रीय पञ्चायत सदस्य छेसाङ लामा, समाजसेवी पवन लामा आदि उपस्थित भएका भने यसरी स्थानीय बासिन्दाहरूको आग्रहलाई स्वीकार गरी दुवै देशका जिल्ला प्रशासनहरूले काम गरेकोमा गाउँलेको तर्फबाट दुर्गा राई थुलुङले विशेष आभार व्यक्त गरेका छन्।

Leave a comment