गोपालसिंह विश्वको ‘केही खोज: केही अध्ययन’ सार्वजनिक

गोपालसिंह विश्वको ‘केही खोज: केही अध्ययन’ सार्वजनिक


बाग्राकोट : डुवर्सको प्रतिष्ठित साहित्यकार, अन्वेषक एवं इतिहासपरक लेखकका रूपमा सुपरिचित गोपालसिंह विश्वको छैटौँ कृति ‘केही खोज: केही अध्ययन’ आज एक विशेष समारोहबीच बाग्राकोट उनकै निवासमा सार्वजनिक गरिएको थियो।
‘सन्दर्भ: डुवर्स र गोर्खाहरू’ जस्तो ऐतिहासिक र मूल्यवान कृति दिइसकेका लेखक विश्व अनुसन्धानपरक लेखनमा विशेष रुचि राख्ने स्रष्टा हुन्। उनका अनुसार, डुवर्स क्षेत्रको इतिहास, समाज, संस्कृति र गोर्खा समुदायका योगदानहरूका बारेमा आधारित यो नयाँ पुस्तकमा विभिन्न अध्ययनपरक लेखहरू समावेश छन्।

कार्यक्रमको अध्यक्षता वरिष्ठ समाजसेवी एवं भाषा सङ्ग्रामी जे.बी. छेत्रीले गरेका थिए। कार्यक्रममा साहित्यकार शङ्कर प्रधान, मदन खड्का, गङ्गाप्रसाद प्रधान, निर्मल शर्मा, अशोक विश्व र रूपेश शर्मा लगायतको उपस्थिति रहेको थियो।
लेखक गोपालसिंह विश्वमाथि निर्मल शर्माले परिचयात्मक टिप्पणी प्रस्तुत गर्दै उनका कृतिहरूमा देखिने ऐतिहासिक दृष्टिकोण र तथ्यपरक अध्ययनको प्रशंसा गरे। उनले सार्वजनिक गरिएको कृतिबारे पनि प्रकाश पार्दै यसले डुवर्सेली इतिहास र साहित्यिक अध्ययनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
उपस्थित साहित्यकारहरूले गोपालसिंह विश्वको लेखनको गहनता, अनुसन्धानशीलता र निरन्तरताको सराहना गर्दै उनलाई भविष्यमा पनि यस्तै गहकिला कृतिहरू सृजना गर्न शुभकामना दिए।

याे पनि हेर्नुस्


Leave a comment