जल्दापाड़ा राष्ट्रिय निकुञ्जमा ६८० एकड़ घासभूमिको पुनर्स्थापना अभियान


कालचिनीः जल्दापाड़ा राष्ट्रिय निकुञ्ज (अभराण्य)ले हालै एक ऐतिहासिक र महत्वाकांक्षी घासभूमि पुनर्स्थापना अभियान शुरू गरेको छ। जसअन्तर्गत ६८० एकड़ क्षेत्रफलमा फैलिएको घासभूमिलाई पुनर्जीवित गर्ने लक्ष्य लिइएको छ। यो अभियान निकुञ्जका प्रमुख क्षेत्र जस्तै जल्दापाड़ा पूर्व, जल्दापाड़ा पश्चिम, उत्तर जल्दापाड़ा, चिलापाता, कोदालबस्ती,नीलपाड़ा र लंकापाड़ामा विस्तार गरिएको छ। यसले निकुञ्जको सम्पूर्ण परिदृश्यमा वैज्ञानिक आवास व्यवस्थापनलाई प्राथमिकतामा राखेको वन विभागको भनाई छ।
देशी घॉंसको संरक्षण र प्रवर्धन:-अभियानको सफल कार्यान्वयन सुनिश्चित गर्न, निकुञ्जको विभिन्न स्थानहरूमा १४ वटा घॉंस नर्सरीहरू स्थापना गरिएको छ भने नर्सरीहरूमा ८ देखि १० प्रकारका स्थानिक (देशी) घॉंस प्रजातिहरूलाई संकलन, प्रवर्धन र रोपाइँका लागि तयार पारिएको बताइएको छ। यी प्रजातिहरूमा मुख्यतः उच्च पोषणयुक्त तथा जङ्गली जनावरहरूको प्राथमिक आहारका रूपमा रहने घॉंसहरू समावेश गरिएको एवम् नर्सरीहरूको समयमै र पर्याप्त आपूर्तिको कारण रोपाइँ कार्य प्रणालीगत रूपमा सञ्चालन भइरहेको जल्दापाड़ा राष्ट्रिय निकुञ्जका अधिकारीहरूको भनाई छ।


वन्यजन्तुहरूको जीवनशैलीमा सकारात्मक प्रभाव:- जल्दापाड़ाको यो घासभूमि विकास कार्यक्रम वन्यजन्तुहरूको प्राकृतिक आवास सुधार गर्ने उद्देश्यले सञ्चालित गरिएको बताउँदै यहॉं बसोबास गर्ने हात्ती, एकसिङ्गे गैँड़ा, बाइसन (जंगली गाई), चित्तल र अन्य मृग प्रजातिहरूको भोजन आपूर्ति गर्नलाई लगाईएको बताएको छ। पछिल्ला वर्षहरूमा घासभूमिको ह्रासका कारण यी वन्यजन्तुहरू आहारको खोजीमा गाउँ बस्ती क्षेत्रतिर जाने प्रवृत्ति बढ्दै गएको थियो। जसले मानव-वन्यजन्तु द्वन्द्वमा वृद्धि गरिरहेको थियो। तर नयॉं घासभूमिको विकासले वन्यजन्तुहरूको आहार आवश्यकता सहजै पूरा गर्ने र तिनको प्राकृतिक बासस्थानमै रहन प्रेरित गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताउँदै यसले मानव बस्तीमा हुने क्षति र द्वन्द्वको सम्भावनालाई कम गर्न जनाएका छन्।
जैविक विविधताको दीर्घकालीन संरक्षण:- यो अभियान जल्दापाड़ा राष्ट्रिय निकुञ्जको वैज्ञानिक र दीर्घकालीन सोचमा आधारित आवास व्यवस्थापनको उत्कृष्ट उदाहरण हुने र जलवायु परिवर्तन, जैविक आवासको ह्रास र मानव गतिविधिका कारण संकटमा परेका वन्यजन्तु प्रजातिहरूको संरक्षण गर्न यस्तो पहल अति आवश्यक रहेको बताइएको छ। जल्दापाड़ा राष्ट्रिय निकुञ्जको यो अभियान पश्चिम बंगालको वन्यजन्तु संरक्षण क्षेत्रमा एक प्रेरणादायक कदम रहेको र स्थानीय समुदाय, वन विभाग तथा जैविक विज्ञहरूबिचको सहकार्यले यो पहललाई दीर्घकालीन सफलताको दिशामा अग्रसर गरिरहेको बताउँदै निकुञ्ज प्रशासनले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

Leave a comment