कालचिनीमा भाजपाको ऱ्याली
कालचिनीः मुर्शिदाबादको धुलीराम, शमशेरगञ्ज र अन्यान्य ठाउँहरूमा हिन्दूहरूमाथि मर्मान्तिक हिंसाको प्रतिवादमा आइतबार भाजपाले कालचिनी र हेमिल्टनगञ्जमा धिक्कार ऱ्याली निकाल्यो। भाजपाको कालचिनी राङ्गामाटी रोडदेखि निस्केको ऱ्यालीलाई कालचिनी चौपतिमा पुलिसले अवरोध गर्न खोजेता पनि ऱ्यालीमा सहभागी भाजपा समर्थकहरूले पुलिसको अवरोधलाई परवाह नगरी अघि बढेको थियो भने उक्त ऱ्याली सोझै कालचिनी हाँसीमारा सडक हुँदै हेमिल्टनगञ्ज बस स्ट्याण्डमा पुगेर पथसभामा परिणत भएको थियो। उक्त ऱ्यालीको नेतृत्व भाजपाका कालचिनी विधायक विशाल लामा र भाजपा अलिपुरद्वार जिल्ला सभापति मिठू दासले गरेको थियो भने भाजपा नारी मोर्चा र एसटी मोर्चाका प्रतिनिधिहरूले ऱ्यालीलाई अघि बढाएको थियो। पथसभामा आइपुगेका लोकसभा सांसद मनोज तिग्गाले पुलिसले कहिले भाजपाको ऱ्यालीलाई नरोकेको होइन जहिले पनि भाजपाको कार्यक्रममा बाधा दिन बंगाल सरकारले पुलिस प्रयोग गर्दै आइरहेको बताउँदै एउटा निश्चित जातीको सुरक्षार्थ हिन्दूहरूको बलिदान गराउने मुख्यमन्त्रीले आफ्नै ठाउँबाट पलायन हुन बाध्य हिन्दू विरुद्ध काम गरेकोले यो धिक्कार ऱ्याली निकाल्न परेको बताए। पथसभामा भाजपा अलिपुरद्वार जिल्ला सभापति मिठू दासले पनि हिन्दूहरू आज आफ्नै देशमा असुरक्षित भएको र बंगालमा रामनवमीको दिन आफ्नो घर छोडेर झारखण्ड राज्यमा शरण लिन जान बाध्य भएको बताउँदै हिन्दूहरूलाई पुलिसको आँखा अघि मारपीट गर्दा पनि पुलिसले नदेखेको जस्तो गरेको घटनालाई तीव्र निन्दा गरिने आह्वान गरे।
पथसभा समाप्तीपछि पत्रकारहरू समक्ष कालचिनी विधायक विशाल लामाले बंगालमा फेरि विगत २०१८ को पञ्चायत चुनाउको बेला माहौल तृणमूल सरकारले बनाउन खोजेको र एउटा निश्चित जाति धर्मको समुदायलाई काख च्यापेर हिन्दूहरूलाई भाजपाको समर्थक भन्दै मारपीट र अवहेलना गरेको घटना विरुद्ध यो ऱ्याली निकालिएको जनाएको छ। ऱ्यालीमा भाजपा समर्थकहरूले “दाबी एक दफा एक, मुख्यमन्त्री पदत्याग” सम्पूर्ण हिन्दू एक होऔँ एवम् तृणमूल होसियारको नारा लगाउँदै आउँदा कालचिनी हेमिल्टनगञ्ज सडक जाम लागेको थियो।
याे पनि हेर्नुस्
