कालचिनीः बक्सा टाइगर रिजर्भ (पश्चिम) को आयोजनामा तथा उत्तर लोथाबारी संयुक्त वन व्यवस्थापन समिति (जेएफएमसी)को सहकार्यमा मानवहात्ती द्वन्द्व न्यूनीकरणसम्बन्धी एक महत्वपूर्ण समन्वय बैठक उत्तर लोथाबारी बस्तीमा सम्पन्न भयो। बैठकको उद्देश्य हात्ती र स्थानीय बासिन्दाबीच भइरहेको द्वन्द्वलाई न्यूनीकरण गर्ने दीर्घकालीन रणनीति तय गर्नु रहेको थियो। उक्त कार्यक्रममा बक्सा टाइगर रिजर्भ पश्चिमका डिपुटी फील्ड डाइरेक्टर डा. हरिकृष्णन, असिस्टेन्ट फील्ड डाइरेक्टर पल्लव मुखर्जी, कालचिनी पञ्चायत समितिका बन तथा भूमि कार्याध्यक्षा बानिकान्त मारक, पुलिस तथा विद्युत विभागका अधिकारीहरू साथै उत्तर लोथाबारी संयुक्त वन व्यवस्थापन समिति (जेएफएमसी) का सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको प्रारम्भमा बक्सा टाइगर रिजर्भका प्रतिनिधिहरूले हालको अवस्था, हात्तीको गतिको निगरानी र वन्यजन्तुहरूको संरक्षणसँग सम्बन्धित तथ्यांकहरू प्रस्तुत गरे। सत्रको दोस्रो चरणमा स्थानीय जेएफएमसी सदस्यहरू, विशेषगरी उत्तर लोथाबारी बस्तीका बासिन्दाहरूले हात्ती प्रवेशका कारण निम्तिएका समस्याहरूबारे जानकारी गराए। तिनीहरूले रातिको समयमा हात्तीले बाली नष्ट गर्नु, घरको नजिकै आएर त्रास सिर्जना गर्नु, तथा कहिलेकाहीँ जनधनको क्षति समेत हुने गम्भीर अवस्था रहेको बताए।
बैठकमा सम्भावित समाधानहरूबारे जस्तै सौर्य ऊर्जामा आधारित ‘हात्ती विरुद्धको बार’ निर्माण गर्ने करीडोरमा एआई क्यामेरा जेएफएमसीको दायित्वमा जडान गर्ने अनि ‘अर्ली वार्निङ सिस्टम’ को विकास गर्ने, सामुदायिक जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने चर्चा चलेको थियो। बक्सा टाइगर रिजर्भका डा. हरिकृष्णनले मानवहात्ती द्वन्द्वलाई नियन्त्रण गर्न सामुदायिक सहभागिता अत्यावश्यक भएको बताउँदै यस कार्यमा जेएफएमसीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताए। तिनले थपे, हामी संरक्षणमा समुदायको सहभागितालाई पहिलो प्राथमिकता दिन्छौं। संरक्षणका लागि जनताको सुरक्षा र सहकार्य अनिवार्य छ।
बैठकको समापनमा सहभागी सबै निकायहरूले मानवहात्ती द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन रणनीति निर्माणमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे साथै, समाधान उपायहरूको कार्यान्वयनमा अनुगमन र पुनरावलोकन प्रणाली विकास गरिने निर्णय गरियो भने यसै क्रममा जेएफएमसीबाट प्रदत स्प्रे मशीनहरू गाउँका १४ जना लाभार्थीहरूलाई उपस्थित अतिथिगणको बाहुलीबाट प्रदान गरिएको थियो। स्थानीय बासिन्दा र जेएफएमसी सदस्यहरूले यस्तो बैठक पहिलोपटक आफ्नो क्षेत्रमा भएको भन्दै सन्तुष्टि व्यक्त गरे र भविष्यमा पनि यस्ता सहभागितामूलक छलफललाई निरन्तरता दिन आग्रह गरे।
