मोबाइल नेटवर्क नहुँदा विक्षुब्ध अच्छापाडा बासिन्दाहरू

मोबाइल नेटवर्क नहुँदा विक्षुब्ध अच्छापाडा बासिन्दाहरू

कालचिनीः देशले डिजिटल युगको धाक लगाइरहेको यसघरी पनि देशको धेरै गाउँ र बस्तीहरूमा इन्टरनेट परिसेवा छैन भन्दा दुई मत नहोला। चियाकमान गाउँहरूमा अझै पनि मानिसहरू जियो, एयरटेल, भोडा इत्यादि कम्पनीहरूको इन्टरनेट परिसेवाबाट लाभान्वित भएका छैनन्। चियाकमान कम्पनीसँगको चुक्ति अनुरूप कतिपय मोबाइल नेटवर्क कम्पनीहरूले कमानहरूमा इन्टरनेट परिसेवा शुरु गर्न मोबाइल टावर लगाए तापनि नेटवर्क सर्वराह नगरेको आरोप उठेको छ। यस्तै प्रसङ्गमा एयरटेल कम्पनीले कालचिनी खण्डको भाटपाडा ए अच्छापाडा चियाबारीको हाटखोला मैदान संलग्न जमीनमा विगत ३ वर्ष अघि एयरटेल मोबाइल टावर बसाएको थियो। शुरुमा ठीकठाक परिसेवा दिएता पनि हाल केही दिनयता उक्त मोबाइल टावरको विद्युत परिसेवा बिजुली विभागले काटेको गाउँलेहरूले जनाएका छन्।
टावर लगाएर जेनेरेटर जडान नगरिएको र सोलर प्यानल भए तापनि यसले काम नगरेको त्यसमाथि अचानक कसैलाई थाह नगराई बिजुली विभागले बिजुली काटेर गएकोले हाल इन्टरनेट मात्र नभएर साधारण कल परिसेवाबाट पनि वञ्चित रहन बाध्य भएका छन् अच्छापाडा चियाकमानको बासिन्दाहरू। स्थानीय बासिन्दाहरू शिवचरण टोप्पो, रवि सार्की एवम् गाउँलेहरूले यो एयरटेल कम्पनीले टावर बसाएपछि सबैले सिमकार्ड पोर्टिङ गरेर एयरटेल बनाएको थियो तर अहिले एयरटेलको न कल नै लाग्छ न नै इन्टरनेटले काम गर्छ भन्दै यो अग्लो टावर मात्र राखेर यसको केही काम नभएकोले यसलाई कि त खोलेर लगियोस् कि चैँ इन्टरनेट परिसेवा चालू गरियोस् भन्ने अपील गरेका छन्।
मूलतः एयरटेल कम्पनीले टावर बसाएपछि यसमा बिजुलीको अस्थायी कनेक्सन हुकिङ मार्फत गरेको र बिजुली कम्पनीलाई खर्च र बिल समयमा जमा नदिएकोले बिजुली काटेको हुनसक्ने कतिपय गाउँलेहरूले आशङ्का व्यक्त गरेका छन्। यता उपरोक्त सम्बन्धमा भाटपाडा चियाबारीका सिनियर म्यानेजर एसके पाण्डेसँग जान्न चाहाँदा तिनले टी गार्डेनले टावर लगाउने ठाउँ दिएको र टावर पनि बसेर परिसेवा शुरु भइरहेको थियो तर बीचमा बिजुली विभाग र टावर कम्पनीमाझ के भयो यसबारे कुनै जानकारी आफूलाई पनि नरहेको बताउँदै कमानमा मोबाइल नेटवर्कको समस्या सबैले भोग्न परिरहेको जनाएका छन्। मोबाइल नेटवर्क ठीकठाक नरहेकोले नै केबल वाइफाई कनेक्सन गरेर काम गर्न परिरहेको र यसको तत्काल समाधान गर्न बिजुली विभाग र एयरटेल कम्पनीले पदक्षेप ग्रहण गर्नुपर्ने पनि सिनियर म्यानेजर एसके पाण्डेले थप जनाएका छन्।
अर्कोतिर विक्षुब्ध अच्छापाडा बासिन्दाहरूले एयरटेल कम्पनीले उपभोक्ताहरूलाई ठग्ने काम गरेकोले अब यसमाथि विश्वास गर्न नसक्ने बताउँदै यदि चाँडै यो टावर मार्फत मोबाइल कल र इन्टरनेट परिसेवा चालू नगरिए कमानमा टावर बस्न नदिइने र एयरटेल बहिष्कार गरिने चेताउनी समेत दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment