नो एन्ट्री

कथा

निलीमा आचार्य 
विश्वनाथ असम
निलीमा आचार्य, विश्वनाथ असम



हिजोआज गाउँका वीरेन्द्र महाजनले घरअघि “नो एन्ट्री”-को फलेक लगाएका छन्। रहरले होइन, करले। उनलाई मान्छेले बाध्य गराए यति गर्न । नभए त उनी मान्छेलाई लिएर मान्छेकै बीचमा बाँच्ने एकजना समाजप्रिय मान्छे हुन् । उनको सामाजिक अवदानको कुरा गनेर गन्न सकिँदैन। त्यस्ता एकजना सामाजिक व्यक्ति किन आज समाजदेखि टाढा बस्न खोज्दैछन्? भीडदेखि पर भाग्दैछन् किन ? निश्चय यसको पछि केही कारण होला! मैले सुने अनुसार सहनै नसक्ने वातावरण सृष्टि भएर उनले यस्तो कठोर निर्णय लिएका हुन् । ठुला अक्षरले नातिलाई लेख्न लगाएर बिर्सालाई घरअघि त्यो काष्ठफलक चढाउन लगाएका हुन् ।

फलक झुण्डिएका दिनदेखि उनीहरूकहाँ आउने मान्छेको लस्कर एक्कासी कम भएको छ। कमिलाको जस्तो ताँतका ताँत आउने मान्छेहरू एउटै फलकले गर्दा बन्द भएका छन् । बढो शान्तिपूर्ण परिवेश विराज गरेको छ अहिले वीरेन्द्रकहाँ। म पनि कसोकसो गर्दै केही कामले उनीकहाँ पुगेछु। बाहिरको फलक देखेर गेट खोल्न अलिक अनकनाउँदै थिएँ। दिशा-पिसाब लागेको मान्छेजस्तो, एकछिन यताउता गरिरहेको थिएँ, त्यत्तिकैमा भाउजूका आँखा ममा परे- “होइन कान्छा नानी ! किन त्यसरी छट्पटाउनु भएको? आउनुहोस् घरतिर। दाजु अस्तिदेखि तपाईँको कुरा बढो आग्रहले सोद्धै हुनुहुन्थ्यो।” भाउजूको कुरा सुनेर केही नबोली सरक्क गेट खोलेर पसेँ। घरको मूल ढोकानेर एक बकेट पानी र सैनिटाइजर राखिएको रहेछ। चप्पल उतारेर हातखुट्टा धोएर सैनिटाइज गरेँ। भाउजूले सोझै वीरेन्द्रदाइको कोठामा लगिन् । सुन्दर, सुसज्जित, सफा कोठो भित्तामा केही साहित्यकारहरूका चित्र झुण्डिएका छन्। मन्द सोरमा दुर्गा वन्दना बजिरहेको थियो। कोठाको उत्तरपूर्व कुनामा भएको बिस्तरामा वीरेन्द्र दाइ सुतिरहेका थिए। ´सुन्नु भयो! कान्छा नानी आउनुभएको छ। सुन्नु त?´ भाउजूको आवाजले उनी झस्किन्छन् । अनि बिस्तारी उठेर सिरानीको भरमा भित्तामा अडेसा लाग्छन्। “तपाईं बस्तै गर्नु नानी! म चिया पकाउँछु।” भन्दै भाउजू भान्साघरतिर लागिन् ” ए! कान्छा आइस्? म तँलाई नै खोजीरहेको थिएँ। राम्रै भयो, भेट भयो। बाहिरको फलक देखेर तँ पनि आत्तिस क्यारे ?” भन्दै उनी खित्का छोडेर हाँसे। त्यो हँसाइमा कताकता विपन्नता लुकेको थियो। उनले नदेखाए पनि उनका अनुहारमा त्यो स्पष्ट झल्किएको थियो। परिवेशलाई सहज पार्दै मैले भनेँ- “कुकुरबाट साबधान” लेखेको फलक देख्दा त पस्ने मान्छे म। यहाँ “नो एन्ट्री” मात्रै त छ नि। त्यो पनि पशुलाई हो कि मानिसलाई? थाहै भएन र पसेको।” : ठिकै भनिस् कान्छा। पशुलाई त होइन! तर दुईखुट्टे पशुलाई अवश्य हो। यी दुईखुट्टे पशु आउन छाडेपछि म अलिक बोल्न सक्ने भएँ।”


“किन दाइ?”
“तँलाई थाहै छैन? असलमा मान्छेलाई यी कुरा त्यति थाहा हुँदैनन् । मान्छेको रूपमा हिँड्ने भिन्नै ठाउँको भएका प्राणीलाई मात्रै थाहा हुन्छ। र दगुर्दै आउँछन् । यमराजका दूत भएर।” भन्दै फेरि उनी हाँसे। मिठो तर करुण हाँसो। मैले पनि टाउँकोमा भएको टोपीतिर इसारा गर्दै हाँस्दै भनेँ, “दाइ ! मैलेचाहिँ सम्पूर्ण जातिको सिर लिएर आएकोछु है। एक्लै आए पनि पुरै समाज लिएर आएको छु नि दाइ।”


“हो नि कान्छा! त्यसैले तँ…. !” भन्दै उनी अडकिए। त्यो दिन वीरेन्द्र दाइसँग धेरै बेर कुरा भयो, भाउजूको हातको मिठो चिया र नास्ताको स्वाद अझै जिब्रोले बिर्सेको छैन। दाइले एकठेली पुस्तक गाउँको पुस्तकालयमा दान गरे। दाइ र भाउजूबाट बिदा माग्न अघि दाइलाई मैले “नो एन्ट्री” को रहस्य सोधेँ। दाइले जुन कुरा भने, सुनेर म टल्ल परेँ।
” सुन कान्छा! जति पनि मान्छे बिरामीको खबर लिन आउछन् नि, उनीहरू बिरामीको कुरा कम्ति, आफ्नै कुरा धेर सुनाउँछन्। उनीहरूका कुराले बिरामी निको हुनु भन्दा झन् अरू बिरामी हुन्छन्। सोझै मुटुमा आएर बज्रन्छन् भान्साघरमा सासुबुहारीको ठ्याक-ठ्युक लाग्दा झर्के बटुको बज्रेझैँ मान्छेका वाक्य वाण। आज पन्ध्र दिनमा जेजति भोगेँ, देखेँ त्यहीँबाट मैले यो कुरा अनुभव गरेको। मेरो एउटा मिर्गौला काटेर निकाल्नु पर्यो। चेन्नाइको एपोलो अस्पतालमा अप्रेसन भयो आजभन्दा पच्चीसदिन अघि। वहाँबाट पाँच-सात दिनपछि घर आयौँ। जब गाउँमा मेरो मिर्गौला अप्रेसन भएको कुरा फैलियो, मेरा शुभचिन्तकहरूको लस्कर लाग्न थालो मलाई हेर्ने ।”


हा–हा -हा शुभचिन्तक!– सबै चिन्तक हुन् तर शुभ हुन् कि अशुभ त्योचाहिँ मैले छुट्टाउन सकिनँ। अस्ति तल्ला गाउँका मेरा मित्र खबर लिन आए, खुसी लाग्यो उनी आएको देखेर। तर उनका वाक्य वाण सुनेपछि मेरो छाती झन् पोल्न थाल्यो । उनको पहिलो वचन थियो-“मेरा साडुदाजुको पनि यसैगरी एउटा मिर्गौला अप्रेसन गरेको थियो। बिचरा! अप्रेसन गरेको एकै वर्ष नभई बित्नु भयो।” श्रीमतीका मामाका छोरा आएर हातमा मिठाईको कोसेली दिँदै भन्छन् -” कठै! भिनाजु! के भयो नि तपाईँलाई ? बिचरी दिदी! अब कसरी सेतो….!” जोकोही आउँछन् त्यस्तै किसिमका मन पोल्ने, दुख्ने कुरा गर्छन्। कोही कोही त तास खेल्न थाले मलाई साथ दिने निहुँमा। साथ र तास कति ठ्याक्कै मिलेको हेर त! उनीहरू आफ्ना श्रीमतीका अघि महान् बनेका छन् मलाई साथ दिएर तर मेरो नजरमा के बनेका छन् त्यो मलाईमात्र थाहा छ। खैनी-चुरोट खाएर कोठै दुर्गन्धमय पार्छन् । फलानो पनि बित्यो! ढिस्कानो पनि खस्यो ! यस्तै त बिमार थियो नि! भन्छन् खेल जमेन भने। हौसला दिने, प्रेरणा दिने कुरा कोही गर्दैनन्। आफन्तहरू पनि त्यस्तै कुरा गर्छन् । कोही कोही त “बैतर्नी गर्नुभयो नि भन्छन्?” मानौँ बैतर्नी नगरी मेरो आत्मा यतै भट्किने हो र उनीहरूलाई पिर्ने हो! उनीहरूलाई पो खटपटी परेको छ मेरो बैतर्नीको । म जान्दछु, मेरो आयु लामो छैन! धेरै दिन छैन अब मेरो यहाँ। मलाई यो कुरा ज्ञात भए पनि घरअघि मैले अस्ति त्यो फलक झुण्डाएँ। तेरी भाउजू, “मर्दापर्दा मलामी को हुन्छन् ?” भनेर फिटफिट गरिरहेकी छन्।

तँ, उनलाई भनिदिनु है । “कोही नभए हामी हुन्छौँ भाउजू ।” भनेर। तँ अनि अरू दुईचारजना होइदिनु मेरा मलामी बस् मलाई पुग्छ।” त्यति भनेर उनी चुप लाग्छन्। म एक न दुई हुन्छु बिस्तारी चौकी तानेर फेरि बस्छु। दाइले दिएको किताबको ठेलीबाट एउटा निकालेर कविता सुनाउन थाल्छु। कविता मनपराउने दाइ एकचित्त भइ मेरो वाचन सुन्न थाल्छन्। फेरि एक महिनापछि म दाइकोमा गएको थिएँ। बार्दलीमा राखेको पानीले हातखुट्टा धोएर भित्र पसेँ। दाइ केही लेखिरहेका थिए। मलाई देख्नैबित्तिकै अति आग्रहको साथ बोलाउँदै भन्छन्- “कान्छा! हेर मैले के गरेँ ! हेर त!” म उनको छेउमा गएर हेरेँ। लेपटपको स्क्रिनमा टल्कियो एउटा आवरण चित्र जहाँ ठुला ठुला अक्षरमा लेखिएको थियो “एउटा सेतो पन्ना” । जब जब म त्यो सेतो पन्नाका पन्नाहरू खोल्दै गएँ, पढ्दै गएँ , मेरो उत्सुकता झन् बढ्दै गयो। प्रायः दुई तीन घण्टमा मैले सबै कथा पढिसकेँ। कथाहरू मार्मिक तर व्यङ्ग्यत्माक रहेछन् । पुस्तकमा गाभिएको पहिलो कथा थियो “चिकित्साको चक्करमा म”, यस कथामा दाइले आफ्नो भोगाइ, पीडा, चिकित्साको निम्ति अस्पतालको चक्कर लगाउँदा लगाउँदै आफू घनचक्कर भएको कुरा बढो सुन्दर तरिकाले प्रस्तुत गरेका छन्। दोस्रो कथाको शीर्षक “नो एन्ट्री” रहेको थियो । यस कथामा एउटा बिरामीले घरअघि किन नो एन्ट्रीको फलक लगाउन विवश भयो त्यसबारे वर्णन अति रोचक तरिकाले गरिएको छ। कथाहरू मार्मिक भए पनि धेरैजसो कथामा व्यङ्ग्य रस प्रचुर मात्रामा भरिएको पाइन्थ्यो। पुस्तकमा समावेश भएका जम्मै कथानै उत्कृष्ट लागे मलाई । पढि सकेपछि दाइलाई भनेँ- ” एउटा सुन्दर कृति तयार पारिसक्नु भएछ दाइ! बधाई छ हजुरलाई।”
“कर्महीन दिनहरूलाई केही काममा प्रयोग गर्ने प्रयासमात्रै गरेको हुँ भाइ। कथा के कस्ता भएका छन् त्यो त पाठकले जान्दछन् । ए! कान्छा तँ अलिकति हेरकोर गर्दे न, कतै केही छुट्यो कि ? अनि यसलाई शुभकामनाका हरफहरूले सजाएर हाम्रो इन्द्रेनी प्रकाशनलाई प्रकाश गर्न दिनु ल। मैले सम्पादकज्यूलाई आग्रह गरिसकेको छु, प्रकाशक बिनिदिने, उहाँले सहमति पनि प्रदान गर्नुभएको छ। । विमोचन त्यसै दिन गरौँला जहिले उनीहरूले “इन्द्रेनी” पत्रिकाको दोस्रो अङ्क निकाल्छन् । आज एक महिनापछि म दाजुकहाँ फेरि आएको छु। एक ठेली “एउटा सेतो पन्ना” लिएर। वीरेन्द्र शर्माको (महाजन) पुस्तक विमोचन भयो अस्ति गुहाटीमा। दाइको स्वास्थ्य एकदम खराब भएकोले गर्दा उनी सहभागी हुन सकेनन् उक्त पुस्तक विमोचनसभामा। इन्द्रेनीले अति भव्य तरिकाले होटल प्राग कन्टिनेन्टलमा “एउटा सेतो पन्ना” विमोचन गर्छ। तर यो के! दाइको घरअघि गाडीहरूको भीड? गाउँका मान्छेको घुइँचो र ठेला ठेलमा फुलबारीको बार लडिसकेको छ। त्यही बारनेर “नो एन्ट्री” को फलक तेर्सीरहेको छ। मान्छेको भीडलाई चिर्दै म भित्र गएँ। मलाई लाग्यो पक्कै केही अशुभ घटना घट्यो। घरभित्र पसेपछि म छक्क पर्छु। एउटा ठूलो ब्यानरमा लेखिएको थियो “हाम्रो सन्तानको गृह प्रवेश—” भाउजूले मलाई ढोकानेर उभिन भनिन् र दाइको कृति झोलाबाट निकाल्न लगाएर हामी दुवैलाई धूप दीपले अभिनन्दन गर्दै गृह प्रवेश गराइन्। दाइले पुस्तक हातमा लिएर धेरै बेरसम्म हेरिरहे। आँसुका ढिका स्पष्ट टल्किए उनका आँखामा। त्यी आँसु सुखले भरिएका थिए। पुस्तक पाएपछि उनको अनुहारमा जुन दिव्य ज्योति झल्कियो, मलाई लाग्यो यहीनै जीवन जिउँने एउटा ठुलो साधन हो। “भाउजू किन गाउँका मान्छे उर्लेर आएका यसरी? ” के भन्नुहुन्छ नानी! हजुरका दाइले सारा गाउँमा “मेरो सन्तान जन्मियो, उसको गृह प्रवेश हुन्छ आज र उक्त सुखद पलको सहभागी हुन हजुरहरू सबैलाई निम्तो रह्यो।” भनेर निम्त्याउनु भएछ नातिलाई र बिर्सालाई खटाएर। अब यो उमेरमा सन्तान ! त्यसैले सारा गाउँ उर्लेर आएको छ हाम्रो सन्तान हेर्न भनेर। हिँड्नुहोस् भाइ! बाहिर ,सबैलाई हाम्रो नौलो सन्तानको परिचय गराऊँ।

*****+++*****

याे पनि हेर्नुस्


add

Leave a comment