गोरुबथानः आज बिहान युद्धवीर उच्चतर माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरू भाग्यले बाँचे। यहाँको पोख्रेबुङ जीपीअन्तर्गत रहेको फर्सीटार वनबस्तीका २५-२७ जना विद्यार्थीहरू सधैँझै पिकअप भ्यानमा बिहानै विद्यालय हिँडेका थिए। गाडी सधैँ जस्तो फागु खोला तर्न लाग्दा अचानक गाडी खोलामा फँसियो। गाडी अघि बढ्न सकेन। पानी लगातार परिरहेकोले खोलामा पानीको स्तर बढिरहेको थियो।
एकातिर खोलामा पानीको स्तर बढिरहेको थियो भने अर्कातिर गाडी खोलामा फँसिएकोले गाडीमा रहेका विद्यार्थीहरू आत्तिन थाले। यस्तोमा गाडीमा रहेका अन्य ठूला व्यक्तिहरूले खोलामा भेलको पर्वाह नगरी विद्यार्थी नानीहरूलाई बोकेर खोला वारी ल्याए। एक विद्यार्थीले बताएअनुसार गाडी खोलामा पुग्दा बिहानको लगभग ८ बजेको थियो। गाडीले खोला पार गर्दै थियो। यस्तोमा गाडी अचानक रोकियो। गाडी चालकले कति कोशिश गर्दा पनि गाडी अघि बढ्न सकेन। खोलामा भेल बढ्न थाल्यो। हामी डरले अत्तालियौ, कराउन थाल्यौँ। यस्तोमा गाडीमा भएका र वरिपरिका ठूला मानिसले हामीलाई बोकेर बाहिर निकाले। खोला पार गर्न नसकेकोले स्कुल जान सकेनौ र घर फर्क्यौ भने।
फर्सीटारलगायत पोख्रेबुङ ग्राम पञ्चायतका सबै गाउँ, जलपाइगढी जिल्लाअन्तर्गत पर्ने पत्थरझोडाका विद्यार्थी नानीहरू युद्धवीरलगायत अन्य विद्यालय पढ्न यही बाटो भएर दैनिक आउने गर्दछन्। बाटोमा फागु र गुर्जुङ खोला पर्ने गर्दछ तर दुवै खोलमा पुल नभएकोले विशेष बर्खाको मौसम स्थानीय विद्यार्थी लगायत जनसाधारणको हरिविजोग हुने गर्दछ।