रिलोकेशनले स्थापित बनछाया बस्ती रमाइलो बन्दैछ

रिलोकेशनले स्थापित बनछाया बस्ती रमाइलो बन्दैछ


कालचिनीः नेशनल टाइगर कन्जर्भेशन अथेरिटी र बक्सा ब्याघ्र प्रकल्पको संयुक्त पहलमा अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको दुर्गम कोर जङ्गलमाझ रहेको दुईवटा गाउँ गंगुटिया बनबस्ती र जयन्ती नदीपारी रहेको भोटे बस्तीका प्रायः ७८ घर परिवारलाई १५ लाखको आर्थिक प्याकेज र ८ डेसिमल जमीनसितै कालचिनी खण्डको भाटपाडा चियाबारी संलग्न नवस्थापित बनछाया बस्तीमा बसाइँ सरेका गाउँलेहरूले जीवनको नयाँ अध्याय शुरु गरेका छन्। विगत फरवरी महीनादेखि बनछाया बस्तीमा बसाइँ सरेका गाउँलेहरूले आफ्नो पुरानो जन्मस्थान भनौँ बासस्थान गंगुटिया बनबस्ती र भोटे बस्तीलाई छाडेर सरुवा भएपछि विस्तारै बनछाया बस्तीले नयाँ आबादीको शुरुवात गरेका छन्। धेरै समय अघिदेखि नै डिमा नदीको सङ्कट अनि कठिन जीवन यापनको भोगाईले विरक्ति खाएका गंगुटिया बनबस्ती र जयन्ती नदीको त्रास औ कोर जङ्गलमाझ रहेको भोटे बस्तीका मानिसहरुले रिलोकेशनको भनेजस्तो सुविधा खोजीरहेको क्रममा बन विभाग र एनटीसीएले १५ लाखको आर्थिक प्याकेज दिने भएपछि यी दुवै बस्तीका मानिसहरूले सहर्ष यसलाई स्वीकार गरेपछि बसेको नयाँ गाउँको नाम हो बनछाया बस्ती।


प्रायः ५ महीनाको अन्तरालमा अहिले गंगुटिया बनबस्ती र भोटे बस्ती यी दुवै बस्तीका मानिसहरूले बनछाया बस्तीमा शुन्यबाट भनौँ नयाँ जीवन शुरु गरेका छन्। घरहरूको धमाधम निर्माणमा व्यस्त हाल बनछायाका गाउँलेहरूले पहिलाको दुखको तुलनामा आफूहरू अहिले खुसी रहेको बताउँछन्। आफ्नो पुरानो घडेरी छोडेर आउँदा मन कता कता अमिलो भएर आएता पनि भावी पीढी र सन्ततीको सुखको जिन्दगीको खातिर बनछाया बस्तीमा आफूहरू रमाउन थालेको बताउँछन् बनछाया बस्तीका बासिन्दाहरू मनिक लामा, कोपिला राई, दुर्गा राई र विजय गोपहरू। सुविधाको कुरा गर्दा पहिला गंगुटिया बनबस्तीबाट डिमा नदी पार गरेर यातायात गर्न धेरै गाह्रो हुन्थ्यो अहिले नदी र जङ्गलको भय छैन सजिलै कालचिनी, हेमिल्टनगञ्ज, अलिपुरद्वार आउजाउ गर्न सकिने तर पुरानो घडेरीमा गाईवस्तु पालेर दुध बेचेर परिवारको पालन पोषण हुन्थ्यो जुन अहिले यहाँ नभएको बताउँछन् गाउँलेहरू। बरु सरकारले राम्रो नश्लको गाई, भैँसी र बाख्राहरु प्रदान गर्ने व्यवस्था गरिदिए गाउँलेहरू अझ उपकृत हुने बताउँछन् गाउँले लोकबहादुर कार्की। घर बनाएर बस्न थालेको अरु सुविधाहरू विस्तारै पुरा हुने आशा रहेको तर घरको छानामाथि भएर गएको हाइटेन्सन बिजुलीको तारले आफूहरू त्रसित हुन परेको बताउँछिन् गाउँले महिला कोपिला राई। घर त सरेर आयौँ तर रोजगारको माध्यम छैन् यस्तोमा गाईवस्तु पालन गर्ने विचारले गाई बाख्रा पालन गर्नु पनि अलिक साह्रो परेको अब कसरी हुन्छ जिन्दगीको गाडी छोराहरूले कसरी चलाएर लैजाने हो भनि विचार पोख्छन् बनछायाँ वृद्धा माइला मगर। गंगुटिया बनबस्ती र भोटे बस्तीको अब केवल नाम रहेका छन् मुखमा तर छैन् अब त्यो गाउँ अब केही वर्षभित्र कोर जङ्गलमा परिणत हुनेछन् छाडेका ती गाउँ। पुरानोको अन्त नयाँको शुरुवात त्यस्तै देखिएको छ हाल बनछाया बस्ती।

याे पनि हेर्नुस्


Leave a comment