साहित्यकार नन्द हाङ्खिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने

साहित्यकार नन्द हाङ्खिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने


बाग्राकोट: मूर्धन्य साहित्यकार नन्द हाङ्खिमलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिने भएको छ। पश्चिम डुवर्सको बाग्राकोटमा आइतवार बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको बैठकमा हाङ्खिमलाई १४ औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार २०२५ द्वारा पुरस्कृत गरिने निर्णय लिइएको हो। पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षता बैठक सम्पन्न भएको थियो। बैठकमा हाङ्खिमको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको प्रतिष्ठानका सचिव रूपेश शर्माले जानकारी दिएका छन्। आगामी २ फरवरी, २०२५ मा बाग्राकोटमा एक भव्य पुरस्कार अलङ्करण समारोह आयोजन गरी हाङ्खिमलाई पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ। पुरस्कारमा प्रशस्ति-पत्र, अङ्ग वस्त्र र नगद राशि सम्मिलित रहनेछन्। उल्लेखनीय छ, विशिट साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा गठित प्रतिष्ठानले सन् २०१२ देखि भारतीय नेपाली साहित्यका प्रतिभाशाली हस्तीहरूलाई प्रत्येक वर्ष बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्दै आएको छ।


११ नोभेम्बर, १९४४ मा दार्जीलिङको मार्गरेट्स होप चियाबारीमा जन्मिएका नन्द हाङ्खिमले छ दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा कलम चलाउँदै आएका छन्। उनले उपन्यास, नाटक, लघु कथा, कथा, कविता, समालोचनासहित चलचित्र क्षेत्रमा पनि कलम चलाएका छन्। उनका डेढ़ दर्जनभन्दा अधिक कृति प्रकाशित छन्। दार्जीलिङका एक ख्यातिप्राप्त प्रगतिवादी साहित्यकारका रूपमा उनको सुनाम छ। उनका प्रकाशित कृतिहरूमा ‘लाश’ (१९६४), ‘अर्को अनुहार’ (१९७१), विडम्बना (२०१९) उपन्यास; ‘उन्मुक्ति’ (१९७०), ‘सत्ता ग्रहण’ (२०१२) र ‘प्रीतिका चिट्ठीहरू’ (पत्रात्मक कथा सङ्ग्रह, १९७९) कथा सङ्ग्रह; ‘प्रेमालाप’ (१९७१), ‘चियाबारीमा’ (खण्डकाव्य, १९७२), ‘हिमपुरीको देशमा’ (खण्डकाव्य, २०१६), मैनबत्तीको आत्मकथा (खण्डकाव्य, २०१६) काव्य; ‘मृत्यु दिवस’ (एकाङ्की, १९७६), ‘युद्धहरू’ (१९९३), ‘अभिषेक’ (१९९५), ‘लीला-अ-लीला’ (२००६) ‘शिव-सती’ (काव्यात्मक नाटक, २०२०) नाटक; ‘नन्दन निबन्धन’ (२०१५) निबन्ध; ‘गीतानन्द’ (२०१७) गीत; ‘कहीं अँध्यारो कहीं उज्यालो’ (चलचित्रको पटकथा, संवाद, गीत रचना, १९८५), ‘१९५५ साल’ (टेलिफ्लिम, २००६), ‘सपना’ (दार्जीलिङको पहिलो धारावाहिक लघु चलचित्र, २०००) चलचित्र; ‘नेपाली आधुनिक कविता सङ्कलन’ (सम्पादन, साहित्य अकादमी/१९९२) आदि प्रमुख छन्। परि प्रकाशन, सिक्किमले हालै तीनवटा खण्डमा उनका कृतिहरूलाई ‘नन्द हाङ्खिमः कृति कुञ्ज’ (२०२४) नाम दिएर प्रकाशित गरेको छ। ८१ वर्षको उमेरमा पनि सक्रिय रूपले कलम चलाइरहेका हाङ्खिमका चारवटा कृति ‘एकदिन जङ्गलमा’ (बाल नाटक), ‘हाम्रा केही नाङ्गा कथाहरू’ (कथा सङ्ग्रह), ‘चिन्तक चरित्रहरू’ (लेख सङ्ग्रह) र संस्मारिका (लेख सङ्ग्रह) प्रकाशोन्मुख रहेका छन्। ‘चियाबारीमा’ खण्डकाव्य उनको चर्चित कृति हो भने ‘सत्ता ग्रहण’ कथा सङ्ग्रहका लागि उनलाई २०१४ मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको थियो।


नेपाली साहित्यमा एक गतिशील, निष्ठावान र सक्रिय स्रष्टालाई १४ औँ बद्रीनारायण स्मृति पुरस्कार अर्पण गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले लिएको निर्णयबारे प्रसन्नता जाहेर गर्दै पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले भने, “प्रतिष्ठानको यो निर्णयले पनि विगतमा पुरस्कार चयनमा गरिएको सटीक मूल्याङ्कनलाई गरिमामय ढङ्गमा निरन्तरता दिएको छ। नन्द हाङ्खिम नेपाली साहित्यका एक विशिष्ट प्रतिभा हुन्। साधना, समर्पण, साहित्यप्रेम, दायित्वबोधले उनलाई आजसम्म सक्रिय राखेको हामीले पाएका छौँ। उनलाई सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित छौँ।” यसैगरी, प्रतिष्ठानका सचिव रूपेश शर्माले पनि बद्रीनारायण प्रधान र नन्द हाङ्खिमहरूले सत्तर-अस्सीको दशकमा सँगै मिलेर प्रगतिवादी साहित्यिक धारालाई गति दिएको अनि यस धाराबाट पलायित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाएको बताए। बद्रीनारायण प्रधानको प्रकाशोन्मुख पुस्तक ‘१९४७’ (संस्मरण)-मा हाङ्खिमले २००६ मा नै भूमिका लेखेको पनि शर्माले जिकिर गरे। समाजका निम्न तप्का एवं खटिखाने वर्गका पक्षमा साहित्य लेख्ने एक चिन्तनशील अग्रणी साहित्यकारलाई सम्मानित गर्न पाउनु प्रतिष्ठानकै लागि सम्मानको विषय भएको उनको भनाई थियो। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले प्रतिष्ठानले सही व्यक्तिको चयन गरेर यसपटक पनि पुरस्कार चयनको गरिमालाई उच्च राखेको मन्तव्य पोखे। साहित्य परिक्रमा परिवारले पनि हाङ्खिमको चयनप्रति खुशी जाहेर गर्दै उनलाई बधाई दिएको छ।

याे पनि हेर्नुस्


Leave a comment