कालचिनीः डुवर्सेली नेपाली साहित्य जागरणको प्रथम पुरुष स्व. हाइकम सिंह राईको नाम नचिन्ने भारतीय नेपाली साहित्यमा शायद विरलै होला। स्व. हाइकम सिंह राईको जन्म डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कुमारग्राम खण्डको मैनाबारी कैँजले बस्तीमा सन १८९७ सालमा भएको थियो भने तिनले देहरादूनबाट सन १९२९ सालमा प्रकाशित गोर्खा संसार पत्रिकामा गोर्खा समाज सुधार सम्बन्धित कतिपय लेखहरू छापेको प्रमाण पाइएको छ। उनै स्व. हाइकम सिंह राईको सुनामलाई अमर राख्न सृजनशील समूह कालचिनीको अभिप्रेरणामा शनिबार हात्तीपत्तामा सालिक निर्माण कमिटी गठन भएको छ।
जयन्ती चियाकमानको समाजसेवी रतन छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त सालिक निर्माण कमिटी सभाको अध्यक्षको रुपमा सर्वसम्मतिले समाजसेवी केदार छेत्री, उपाध्यक्षमा रतन छेत्री र सचिवमा वसन राई, सहसचिवमा सुभाष लामा र कोषाध्यक्षमा विजय गोम्देन लगायत अन्यान्य पदाधिकारीहरूको चयन भएको निर्माण कमिटीको सचिव वसन राईले जनाएका छन्। सृजनशील समूहको पक्षबाट संरक्षक दुर्गा चामलिङ, सागर राई देवान, महिपाल सुब्बा, सचिव चन्दन भट्टराई, कोषाध्यक्ष नामगेल लामा, कर्मठ सदस्यहरू किरण गुरुङ, उर्गेन तामाङ, बाबलु सापकोटा, ज्ञानलाल दर्नाल, लालसिंह भुजेल एवम् अन्यान्यको उपस्थिति रहेको थियो। उक्त सभाको सञ्चालन मैनाबारीका समाजसेवी तथा डुवर्स नेपाली साहित्य विकास समितिको सहसचिव जीवन बराइलीले गरेको थियो भने सभामा स्व. हाइकम सिंह राईको सालिक निर्माणमा हात्तीपत्ता, मैनाबारी, जयन्ती चियाकमान, तुरतुरी, रायडक र कैँजलेका समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।













