टाँडमुनि बसेर पढदैछन् बनछायाँ बस्तीका प्राइमरी विद्यार्थीहरू
कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रमा पर्ने दुईवटा गाउँ क्रमैले भोटे बस्ती र गङ्गुटिया बनबस्ती रिलोकेशन भएर बनछायाँ बस्तीमा स्थानान्तरण भएर आएको पनि ६ महीना लागिसकेको छ। प्रायः ८०-९० घर हाल बनछायाँ बस्तीमा बसाई सरेका छन् भने गर निर्माणको काम अझै पनि चलिरहेको छ। रिलोकेशनमा बसालेको गाउँमा गाउँसितै शिक्षाको अधिकार अनुसार स्कूल बनेको हुनपर्ने तर स्कूल भवन नहुँदा बनछायाँ बस्तीका प्राइमरी कक्षाका विद्यार्थीहरू कसैको टाँडे घरको सिकुवामा पढ्न बाध्य बनेका छन्। गाउँमा स्कूललगायत स्वास्थ्य केन्द्र र आईसीडीएस केन्द्रको अभाव खडकिएको महशुस गर्छन् गाउँले अभिभावकहरू। नयाँ बसाई सरिएको बनछायाँ गाउँमा स्कूल नभएकोले अहिले पनि सानो नानीलाई जयन्ती स्टेशनमा आफन्तको घरमा राखेर स्कूल पढाइरहेको बताउँछिन् भोटे बस्तीबाट सरुवा भएर आएकी नमिता गौढ।
यता कम्ति भए्पनि पढ्न आउने बच्चाहरूलाई छिमेकीको घरको सिकुवामा पढाउन परेको स्थानीय पारा शिक्षक मदन लामा भन्छन् अब स्कूल भवन गाउँ बसाउने बेला नै बनाई दिएको भए धेरै राम्रो हुन्थ्यो तर स्कूल तयार नभएकोले जति रेजिस्टरमा भएको विद्यार्थीहरू आउँछन् उनीहरूलाई यही घरको सिकुवामा पढाउन परेको बताउँछन्। यता गाउँ सरेर आउन त आए तर छोडेको ठाउँको स्कूल भने ल्याउन प्रशासनले ढिल्याई गरेको बताउँदै धेरै जसो बच्चाहरूलाई अभिभावकहरूले नजीकको स्कूल अनि बाहिर भर्ना गराएको स्थानीय समाजसेवी मनि लामा बताउँछन्। भोटे बस्तीबाट सरुवा भएर आएका वृद्धा सुर्यमान थापाले गाउँ त डल्लै सरेर आयो ६ महीना लाग्योनी तर स्कूल, स्वास्थ्य केन्द्र र आईसीडीएस केन्द्र अझै पनि नआएकोले असुविधा भइरहेको जनाएका छन्।
अर्कोतिर रिलोकेशनमा बनेको बनछायाँ बस्तीलाई अलिपुरद्वार जिल्लाको एउटा मोडल भिलेज बनाउने योजना सरकारको रहेको सुनिएता पनि मोडल भिलेज बन्ने ठाउँमा प्राथमिक विद्यालयको अस्थाई भवन पनि नबनेको अप्ठ्यारो महशुस गर्न थालेका छन् बनछायाँ बस्तीका बासिन्दाहरूले।