कालचिनीः स्प्रिन्ट चार कार्यक्रम अन्तर्गत फेमिली प्लानिङ एसोसिएशन अफ इन्डिया कालचिनी शाखाले सोमबार एफपीएआई कालचिनी शाखा कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकार सम्मेलनको मुख्य विषय प्राकृतिक प्रकोप र मानव निर्मित सङ्कटकालीन अवस्था, महामारीको बेला सबै तप्का र सरकारी निकायले भौतिक विपदमा परेकाहरूलाई उद्धार कार्य गर्ने काम गरिए तापनि उक्त विपत्तिमा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवामा कसैको ध्यान नजाने गरेकोले सन १९४९मा स्थापित फेमिली प्लानिङ एसोसिएसन अफ इन्डिया (एफपीएआई) ले १८ वटा राज्यमा एमआईएसपी र एसआरएच अन्तर्गत परिसेवा दिँदै आइरहेको र हाल स्प्रिन्ट चार (IV) अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य सेवामाथि एफपीएआईले काम गर्दै आइरहेको एफपीएआई कालचिनी शाखाका प्रबन्धक तुषार चक्रवर्ती र काउन्सिलर छन्दा चक्रवर्तीले जनाएका छन्। एमआईएसपी र एसआरएच सेवामाथि प्रकास पार्दै एफपीएआई कालचिनी शाखाका प्रबन्धक तुषार चक्रवर्तीले एफपीएआईले केन्द्र अनि राज्य सरकार साथै गैरसरकारी संस्थाहरू एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय कोष एजेन्सीहरूसँग साझेदारी गरेर एसआरएच अर्थात यौन तथा प्रजनन स्वास्थ्य सेवामाथि काम गर्दै आइरहेको प्रायः ७ दशकको अनुभव रहेको र वर्तमान स्प्रिन्ट चार प्रकल्पको योजना अनुसार प्राकृतिक एवम् मानव निर्मित सङ्कटकालीन अवस्थाबीच महिला स्वास्थ्यमाथि लगातार काम गरिरहेको प्रष्ट पारेका छन्।
एफपीएआईका कालचिनी शाखाका काउन्सिलर छन्दा चक्रवर्तीले सङ्कटकालीन अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यको लागि न्यूनतम प्राथमिक परिसेवा प्याकेज अर्थात एमआईएसपी अन्तर्गत जीवनरक्षामूलक कार्यक्रम तर्जुमा गर्न एफपीएआईले काम गर्दै आइरहेको बताइन्। एफपीएआईले स्वेच्छासेवी संस्थाहरू जस्तै सिनी, रुरल एड, बीरपाडा वेलफेयर र कासा र वसुन्धरा आदि संस्थाहरूसँग आलोचनाको माध्यममा काम गर्दै आइरहेको र यसले भविष्यमा अलिपुरद्वार जिल्लाका मानिसहरूको निम्ति जरुरी औ सङ्कटकालीन अवस्थामा काम गर्न सकियोस् भन्ने उदाहरण प्रस्तुत गरिन्। यौन तथा प्रजनन स्वास्थ्य विषयमा अहिले पनि समाजमा खोलेर कसैले कुरा गर्न नखोजेको अवस्था रहेको तर वर्तमान युवा प्रजन्मलाई यसको ज्ञान हुन जरुरी रहेको बताएकी छन्। तिनले स्प्रिन्ट चार (४ ) कार्यक्रम अन्तर्गत अलिपुरद्वार र जलपाइगढी जिल्लामा सम्भाव्य प्रकोप हुँदा यौन तथा प्रजनन स्वास्थ्य (एसआरएच) परिसेवा प्रदान गर्न एफपीएआई सक्षम होस् यही सबैसँग निवेदन रहेको पनि छन्दा चक्रवर्तीले अपिल गरेकी छन्। गत कोभिड महामारीको बेला, चक्रवाती तूफानले क्षतिग्रस्त धुपगढी क्षेत्र अनि टिस्टा त्रासदीको समय एफपीएआईले एसआरएच सेवामा बल दिएर महिलाहरूको निःशुल्क स्वास्थ्य जाँच औषधि वितरण एवम् सेनेटरी नेपकिन वितरण गरेको र आउँदो सङ्कटकालीन दिनहरूमा पनि एफपीएआईले स्प्रिन्ट चार प्रकल्पको अधीनस्थ एमआईएसपी अन्तर्गत एसआरएच सेवा गर्ने एफपीएआई कालचिनी शाखाका प्रबन्धक तुषार चक्रवर्ती र काउन्सिलर छन्दा चक्रवर्तीले पत्रकार सम्मेलन मार्फत जनाएका छन्।
