चिया बगान श्रमिकहरूको २० प्रतिशत बोनसको मागमा मालबजारमा विरोध प्रदर्शन
मालबजार : चिया बगान क्षेत्रका श्रमिकहरूले २० प्रतिशत बोनसको मागसहित शुक्रबार मालबजारमा ठुलो विरोध प्रदर्शन गरे। प्रोग्रेसिभ टी वर्कर्स यूनियनको पहलमा आयोजित यस आन्दोलनमा सयौं श्रमिकहरूको उपस्थिति रहेको थियो। विरोध जुलुस बसस्ट्यान्ड चोकबाट सुरु भई थाना मोड, घडी मोड हुँदै सहायक श्रम आयुक्तको कार्यालय अगाडि पुगेपछि विरोधसभामा परिणत भएको थियो। आन्दोलनका क्रममा श्रमिकहरूले नाराबाजी गर्दै बोनस नदिइएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका थिए।

विरोधसभामा अगस्टस केरकेट्टा, सुरेश केरकेट्टा, तेजकुमार टोप्पो, बिनिता कुजुर टेटे, बाब्लु माझी, अमरदान बाक्ला लगायत श्रमिक नेताहरूले श्रमिकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्न सरकार र प्रशासनलाई आग्रह गरे। उनीहरूले लामो समयदेखि श्रमिकहरू अन्यायमा परेको उल्लेख गर्दै बोनस वितरणमा ढिलाइ गर्ने मालिक पक्षलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए। विरोध प्रदर्शनपछि श्रमिक नेताहरूको प्रतिनिधिमण्डलले सहायक श्रम आयुक्तलाई मागपत्र बुझाएको थियो। सो मागपत्रमा श्रमिकहरूको २० प्रतिशत बोनस तुरुन्तै वितरण गर्नुपर्ने, बोनस वितरणमा ढिलाइ भएमा व्यापक आन्दोलनको तयारी गर्ने, श्रमिक–मालिकबीचको वार्ता प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने लगायतका बुँदा समावेश गरिएका थिए।
यसैबीच, विरोध प्रदर्शनलाई ध्यानमा राख्दै कानून–व्यवस्था कायम राख्न आईसी सौम्यजीत मलिकको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रशासनले स्थिति नियन्त्रणमा रहेको र कुनै अप्रिय घटना नभएको जनाएको छ। श्रमिकहरूले बोनस नपाएसम्म आन्दोलन जारी रहने दृढता प्रकट गरेका छन् भने प्रशासनले वार्ता र छलफलमार्फत समाधान निकाल्ने प्रयास भइरहेको बताएको छ।
याे पनि हेर्नुस्
