डुवर्सको विभिन्न गुम्बाहरूमा बुद्ध पूर्णिमा पालन

कालचिनीः बिहीबार बुद्ध जयन्तीको अवसरमा डुवर्सको प्रत्येक गुम्बा तथा मोनास्ट्रीहरूमा पूजा पाठ र म्हाणी मोलम सम्पन्न हुनको साथै दिउँसो प्रचण्ड गर्मीको परवाह नगरी बौद्ध श्रद्धालुहरूले बुद्धको झाँकी र पवित्र दोमङ शास्त्रको साथ शोभायात्रा निकालेको थियो। यसै क्रममा कालचिनीस्थित टाँशी छ्योई फेलिङ गुम्बा, मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्री, भाटपाडास्थित झ्याङछुब छ्योई फेलिङ गुम्बा र तामाङ साङा छोईलिङ गुम्बा, गंगुटियास्थित टाँशी छ्योई कुन्सोलिङ गुम्बासाथै हेमिल्टनगञ्ज, लोथाबारी, राजाभात, राजाभातखावा, २८ बस्ती बक्सा रोडस्थित केवालुङ गुम्बा, भर्नाबारी, साताली, बीच चियाकमान, दलसिंहपाड़ा, जयगाउँ, खोक्ला, तोर्षा, कुमारग्राम ब्लकको विभिन्न ठाउँहरूमा बुद्ध जयन्ती पालन गरिएको थियो।


यसै क्रममा बिहीबार कालचिनी खण्डको मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्री लगायत भाटपाडास्थित झ्याङछुब छ्योई फेलिङ गुम्बा र तामाङ साङा छोईलिङ गुम्बा अनि गंगुटियास्थित टाँशी छ्योई कुन्सोलिङ गुम्बामा गाउँका माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई अभिप्रेरणा गर्न सम्वर्द्धना प्रदान गरिएको थियो। मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीमा गाउँका आशा, एएनएम अनि आईसीडीएस स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र एवम् सम्वर्द्धना पत्र प्रदान गरिएको थियो। यसै क्रममा मेचपाडा चियाकमानका प्रबन्धकहरूको उपस्थिति रहेको थियो भने उनीहरूको बाहुलीबाट कोरोनाकालमा जोखिम वहन गरेर गाउँमा स्वास्थ्य सचेतना गर्न खटने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यता भाटपाडास्थित तामाङ साङा छोईलिङ गुम्बाको आयोजनामा माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्वर्द्धना प्रदान गरिएको जानकारी सो गुम्बा कमिटीको अध्यक्ष विनय गोले र सचिव सञ्जित पाख्रिनले दिएका छन्। यस क्रममा गुम्बा कमिटीको पक्षबाट झ्याङछुब छ्योई फेलिङ गुम्बाबाट कोरवा शोभायात्रा गर्दै आइपुगेका श्रद्धालुहरूलाई ठन्डा पानी र जुस वितरण गरिएको थियो।
यता यसै क्रममा मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्री लगायत भाटपाडास्थित तामाङ साङा छोईलिङ गुम्बामा साँझ सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमबारे पेमा छ्योई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जन र भाटपाडास्थित तामाङ साङा छोईलिङ गुम्बाको अध्यक्ष विनय गोले र सचिव सञ्जित पाख्रिनले सागा दावाको पवित्र व्रत आगामी ६ जुनसम्म चल्ने भएकोले लगातार गुम्बामा अध्यात्मिक कार्यक्रम जारी रहने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment