दलसिंहपाडामा कुखुराको भालेको बलि चढाइ उँभौली पूजा सम्पन्न गरे
दलसिंहपाडा : आज दलसिंहपाडा रणबहादुर बस्ती टाउके लाइनस्थित केन्द्रीय समितिका माङ्पा रञ्जित राईको घरमा धुमधामसँग उँभौली पूजा सम्पन्न भयो । बिहान माङ्पा राईले घरको माङ (मन्दीर)मा रहेको साम्खा (चुला)लाई विधिवत पूजा गरी उँभौली पर्व शुरु गरे । शिल्ली टोलीको नृत्यसँगै शिल्ली थानमा परिक्रम गरी पिपलको रुखमा रहेको शिल्ली ढुङ्गालाई विधिवत पूजा गरे वप्पा (कुखुराको भाले) को बलि चढाइ उँभौली पूजा सम्पन्न गरे भने गाउँमा रहेको शिल्ली टोलीले पारम्परित शिल्ली नृत्य गरी मनोरञ्जन गराए ।
रणबहादुर बस्ती टाउके लाइन माङ्पा रञ्जित राई दुमीको घरमा प्रत्येक वर्ष बैसाखी पूर्णिमाको अवसरमा उँभौली पूजा गर्दै आएको छ । विगत् वर्षहरूमा माङ्पाले आफ्नो घरमा साकेला पूजा गर्दै आएको र केही वर्षदेखि यता गाउँले र दलसिंहपाडा वारिपरिका शाखाहरूले संयुक्त रुपमा उँभौली पूजा गर्दै आएको छ भने आज सोही पूजा सम्पन्न गरेका थिए ।
उक्त उँभौली पूजामा डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिका महासचिव प्रशान्त थुलुङ,कोषाध्यक्ष विकास बान्तावा, सांस्कृतिक सचिव गङ्गाबहादुर राई, साहित्य प्रकोष्ठका प्रमुख कमल थुलुङ लगायत खोक्ला बस्ती शाखा, जयगाउँ शाखा, गोपालबहादुर बस्ती शाखा, डिग्वीर लाइल शाखाका प्रतिनिधिहरू उपस्थित रहेका थिए भने गाउँका सम्पूर्ण गाउँलेहरूको उपस्थिति रहेको थियो ।