प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – १०
९१. उल्टो मुद्दा
ऊ फेरि सपना-सदनमा पस्यो।
सदन भरिभराउ थियो ।
ऊ एकजना प्रतिष्ठित न्यायाधिश भएर जन अदालतमा जन-गुनासो सुन्दै थियो।
एक हुल पुलिसहरू आएर गुहारे ‘न्यायधिशज्यू, डाकाहरूले हामीसमक्ष फिरौतीको रकम रु० तीन लाखको माग गरेका छन्। सो पूरा गर्न नसके तिनीहरूले हाम्रो अपहरण गर्ने भएका छन् ।’
“अर्को के छ?’ सोध्यो उसले।
चिकित्सकहरूको प्रतिनिधि आएर भन्यो – ‘उचित चिकित्सा सेवा नभएको आरोप लगाई रोगीहरू हामीविरुद्ध भोक हडतालमा बसेका छन् ।’
‘सरकारले घुस प्रथा विरुद्ध कार्यवाही गर्न पाउने छैन।’ भ्रष्ट अफिसरको प्रतिनिधि आएर विरोध जनायो।
“पुरस्कार चयन-समितिले मेरो नामको घोषणा गरेर पुरस्कार अर्कै मानिसलाई प्रदान गर्यो । न्याय पाउँ।’
फुकिढल कविले दुखेसो पोख्यो।
अर्को गुनासो यस्तो पोखियो – ‘हामीले मूर्तिहरू विदेशतिर तश्करी गर्न पाएका छैनौँ देउताहरू हाम्रो विरुद्ध अनशनमा बसेका छन् ।’
सपना-सदनबाट ऊ बाहिर निस्क्यिो ।
एकजना भ्रष्ट अधिकारीलाई प्रहार गरेको मुद्दामा भागी भागी हिँडेको हुँदा पुलिसहरू बिहानै उसलाई पक्राउ गर्न आएका थिए।
९२. सस्तो
उसले बजार-भाउको मूल्याङ्कन गर्यो। अखबारको कुना कुना छानेर मूल्य तालिकाको पत्तो लगायो। खाद्य सामग्रीको मूल्य तालिका तोकेर हेर्यो। बाफ रे, आकाश छोएको बजार भाउ ! तर तल धरतीमा पेट त चौबिसै घण्टा भोकाएको हुन्छ। पेटदेखि भोक सङ्क्रमण भएर पुग्यो आँखामा। मूल्य तालिका देखेर आँखा अझ भोकाउँदै गयो।
- – आलू प्रति किलो.…..
- – चामल निकृष्ट प्रयोगको प्रति…..
- – चामल उत्कृष्ट प्रयोगको प्रति……
(विगत नेपथ्य!)
समय रिवाइण्ड भएर चालीस बर्षपछि फर्केर टक्क अडियो। समयको त्यो काल-खण्ड बूढी आमै भएर बोल्यो।
- – हाम्रा पालामा दुई पैसा सेर खसीको मासु ।
- – एक रुपियाँमा सोह्र सेर चामल।
फेरि समय फरवर्ड भएर उसकै सामू आयो।
- – डलरको तुलनामा रुपियाँ…… प्रति डलर…. कम।
- – पेट्रोल प्रति ब्यारेल…… डिजेल प्रति ब्यारेल……..
लेख्दा लेख्दै लेखकको कलममा मसी सकियो। चर्को मूल्य तालिकाको मार् लेखकमा परि रह्यो। उसले टिठ्याएर लेखकलाई हेर्यो। अर्काको कलम मागेर लेखक फेरि लेख्दै थियो। भर्खरै उसले प्राप्त गरेको मूल्य तालिका उसको लागि अव्यवहारिक बन्यो। अव्यवहारिक यस अर्थमा कि उसले सस्तो केही भेटेन।
यसर्थ, सस्तो खोज्ने अभियानमा ऊ बाहिर दुनियाँदारीको मध्यभागमा पुग्यो। त्यहाँ चाहिँ ‘वास्तविक सस्तोपन’ भेटियो। ‘सस्तोपन’ साँच्चै सस्तो त्यहाँ यत्रतत्र।
सबैभन्दा ‘सस्तोपन’ के भेटियो भने ‘भोक’। भोक सस्तो… पेटभरि भोक, बाटाभरि भोक र अनुहार अनुहारमा भोक। भोक पालेर बसेको दुनियाँदारी भोककै महिमा गाइ रहेथ्यो। भोकपछि रोग सस्तो। प्रतिदिन भोको मान्छेलाई खाएर रोग अघाइ रहेथ्यो। रोगपछि नग्नता। त्यो भोक र रोगले उबारि दिएको दुनियाँदारीको आँगभरि बुर्कुसी मारिरहेथ्यो।
अन्तिम सस्तो-मानवता ! सडकभरि, गल्ली र छाप्रोभरि मानवताको आर्तनाद सुनियो। ऊ केही गर्ने अवस्थामा थिएन। तिनै कुराबाट ऊ अर्धपीडित थियो। उसले त्यहाँको पीडा सहनै सकेन र ऊ पनि पूर्णतः घुस्यो त्यही दुनियाँदारीभित्र ।
९३. खुशी-बजार
एउटा चोकमा पुग्यो ऊ। अनौठो बजार। अनौठो मतलब अन्य सामग्रीहीन बजार। थियो त एउटै सामग्री। प्रत्येक अनि प्रत्येक पसलमा एउटै सामग्री। सामग्रीको नाम खुशी। खुशी किन्न बर्षौंदेखि तड्पिरहेका मानिसहरू थिए। ग्राहकहरूको भीड थियो। ऊ पनि भएभरको रुपियाँ खल्तीबाट निकालेर खुशी किन्न अघि सर्यो।
‘एक धार्नी खुशीको मूल्य कति?’
उसले पसलेलाई सोध्यो ।
‘यसको मूल्य अमुल्य छ र तपाई बुझेर मूल्य चुक्ता गर्नुहोस् ।’ पसलेले भन्यो। ‘लौ मलाई एक मासा मात्र खुशी दिनुहोस्।’ उसले माग गर्यो।
तर हठात् उसको कठालोमा कसैले दृढताका साथ समात्यो। उसले पछि फर्केर हेर्यो।
दुःखले उसको कठालो समातेकै अवस्थामा भन्यो- ‘मसँग तेरो हिसाब किताब चुक्ता भएकै छैन। हिँड् चुपचाप ।’
दुःखले उसलाई घसार्दै लग्यो।
९४. भोग र भोक
‘बेश्या विबृत्ति’- मा ऊ पूर्णतः अशक्त भएपछि उसले फेरि नयाँ प्रकरणबारे सोच्यो। एकाएक उसलाई घीन लागेर आयो- ‘कर्णेलको घोडा र वीर्य-कुण्ड’ देखि। यसर्थ, उसले आफ्नो उपस्थिति यस्तो स्थानमा जाहेर गर्यो जहाँ नैतिकता र मानवीय मूल्य पूर्णतः लिलाम थियो। मर्दत्व प्रमाणित गरिने प्रयोगशाला। ऊ पुगेको ठाउँ। वास्तवमा त्यो थियो लेनदेनको बजार । थरि थरिका शारीरिक आनन्दका प्रकारहरूको बजार लागेको ठाउँमा नै पुगेर ऊ उभियो।
वेश्या विबृत्तिमा उसलाई स्वागत जनाउने त्यही बजारू औरत उसको सामू फेरि मुस्काइ रहेकी थिई। तर यसपटक न त कुनै वार्तालाप भयो न त कुनै तर्क। ब्यापारको शर्तअनुसार उसले आफूसँग भएको सम्पूर्ण रुपियाँ त्यहाँ टक्र्यायो। आइमाईले शारीरिक स्वागत जनाई। तर ऊभित्र कुनै उत्तेजक प्रतिक्रिया प्रकट भएन। टक्र्याइएको पैसामा उसले आफ्नो परिवारको भोक, तिर्खा र अभावग्रस्तता टाँसिएको पायो। मर्दत्वको प्रयोगशालामा ऊ हार्यो र चुपचाप ढोका खोलेर बाहिर निस्कियो। पहिला उसलाई भोगवादको परिभाषा दिने अनि अहिले उसले भोग्न नसकेको भोग्या अर्कै सफलतामा पैसा गन्ती गर्दै तर उसको असफलतामा व्यङ्ग्यात्मक हाँसि रही। त्यो प्रयोगशालादेखि बाहिर निस्केर उसले मनमनै आफैलाई धिक्कारेर भन्यो- ‘भोगभन्दा ठूलो कुरो संसारमा भोक नै रहेछ।’
९५. कार्बन – कविता
जुम्रापीडित समाजको आँगमा ऊ जुम्रा मारेको मारेकै छ।
एकजना मत्थु कवि करायो –’कार्बन कपी गरेर म कविता बेच्छु र बेलुकी रक्सी पिउँछु।’
उसले मत्थु कविलाई सोध्यो – ‘तिम्रो कार्बन कविताले समाजको जुम्रा मर्छ?”
साइवरको युगमा मेरो कार्बन कविता एउटा बहना मात्रै हो। समाज नै कार्बन कपी भएको छ र म कार्बन कविता लेख्छु ।’
भोलिपल्टदेखि कार्बन-कवि जुम्राको थाकमाथि सुतेको सुतेकै भयो।
९६. सत्य
उसले मोहन राकेशको ‘अर्ध सत्य’ लाई सम्झ्यो ।
भ्रमित लाग्यो यो शब्द।
फेरि सम्झ्यो – सत्य आफै सत्यताको सम्पूर्णता हो। त्यो कसरी खण्डित हुन सक्छ ? एक पटक ऊ दार्शनिक हुन खोज्यो। तर अब दार्शनिकको दर्शनमाथि पनि सत्यबारे शङ्का गर्ने ठाउँ उसले देख्न थाल्यो ।
शङ्का भएपछि ऊ फेरि अर्कै दुनियाँदारीभित्र पस्यो। त्यहाँ डाकादेखि डाक्टर, इञ्जिनियरदेखि डिङ्गर सबै ‘सत्य बिक्री केन्द्र’ मा सत्यको दर भाऊ गरिरहेका थिए। प्रकारहरू छुट्याइएका सत्यको आ-आफ्नै रङ्गहरू पनि उसले देख्यो। विशेष आकर्षणीय के थियो भने अन्य रङ्गहरू छाडी दुईवटा रङ्गहरू मुख्यतः दृष्टि केन्द्रित थियो। एउटा सत्यको रङ्ग सेतो र अर्को सत्यको रङ्ग कालो। क्रेताहरूको भीड थियो । तर सत्यका क्रेताहरू सबै कालो रङ्गको सत्य किन्न तछाड मछाड गर्दै थिए। कालो सत्य किन्ने ग्राहकहरूको निर्वाद पङ्क्तिमा नै बढे पनि तथाकथित सत्यको डड्डुरले घट्ने नामै लिएको थिएन।
कति दिनदेखि ऊ पनि त्यही पङ्क्तिमा उभिएको थियो। तर अझसम्म उसको पालो आएको थिएन।
९७. जुत्ताको असमर्थता
अहँ, सकेन। उसले केही गर्न सकेन।
असमर्थ।
हरेक थोकमा असमर्थता उसको योग्यताको पर्याय बन्यो।
होइन, अब एउटा किर्तीमान कायम नगरी भएन। मुट्ठी कस्यो, जुरूक्क उठ्यो। घरकाहरू सबै बेकारी भएकाले उठेकै थिएनन् ।
ऊ यथा समय एउटा स्थलमा पुग्यो। चुनावी सभास्थल। दुनियाँ नेताहरूकै पछि कुद्ने परम्परामा ऊ पनि कुदेर त्यहाँ नै पुग्यो।
पाँच वर्षको कार्यकालमा नेताहरूले कति विकास गरे, कसले कति बजेट खाए, कसले कति जनतालाई कुट्पिट गरे, कसले कति बेकारीलाई नोकरीको प्रलोभनमा आर्थिक शोषण, यौन शोषण गरे- सबै सबैको राजनैतिक शैल्य चिकित्सा पक्ष विपक्षबाट भई रहेथ्यो। उसले सम्झ्यो, भूल गरेर भूलको व्याख्या गर्ने महान् व्यावहारिकता नेतामा बाहेक अरूमा हुन्न क्यार !
एकजना भुसतिघ्रे नेताले भाषण दिँदै थियो। पाँच वर्षपछि भाषणमा उसको स्वर अझ गहकिलो सुनियो। नेताको स्वरको गहनतामा पाँच वर्ष अघि उसलाई नोकरी दिलाई दिने आश्वासनमा ऊबाट लिएको घुसको केही प्रतिशत अंश पनि प्रतिध्वनित भइरहेथ्यो।
कठै…गयो त्यो अंश ! माता र पिताको औंठी, चुरा बेचेर दिएको पैसा। तर आज त किर्तीमान कायम गर्नु छ। उठ्यो जुरूक्कै । तेरिम्मा झेक्ने ! उठेरै उसले एउटा जुत्ता फुकाल्यो। एकपटक राष्ट्रपति बुश र इराकी पत्रकारलाई सम्झ्यो। तर जुत्ता हलूँ लाग्यो र खोल्यो अर्को जुत्ता।
कम से कम भोलि अखबारमा त …।
किर्तीमान…। पैसा त गयो… गयो … । माता पिता स्वर्गवासी भइ सके ..। तेरिम्मा ठग् ! यसलाई त नठोकी भएन अब .. ।
तर बिहान कराएकी छोरी फेरि कानमा स्वाट्टै पसी ‘बाबा मेरो जुत्ता फाट्यो। स्कूल के ले जानु?
ज्य है! किर्तीमान कायम गर्दा त खालि खुट्टै हिँड्नु पर्ने भो।
उम्लिएको ज्यालामुखी फेरि सेलायो ।
ऊ थाक्यो र नेताको भाषणपछि अरूसँगै फेरि ताली बजाउन थाल्यो।
१८. बन झाँक्री र आधुनिक जङ्गल
‘हाम्रो पारम्परिक जङ्गलको आदिम गन्ध खोई?’
बन झाँक्रीले लेम्लेमालाई सोध्यो।
‘त्यो पर्यावरणविद्लाई सोध्नु पर्छ।’
लेमलेमाले उत्तर दिई।
त्यसपछि उसले तिनीहरूलाई पर्यावरणविद्को च्याम्बरमा देख्यो। पर्यावरणविद् कङ्क्रिटको जङ्गलभित्र प्रदुषणमाथि एउटा कार्य-पत्र तयार पार्दै थियो। कम्प्यूटरद्वारा नै ऊ प्रदुषणलाई शुद्धिकरण गर्ने दिशामा प्रयासरत थियो। पर्यावरणविद् तत्वहरूको सूत्रमा यसरी एकोहोरिएको थियो कि उसले अनौठो बन्य उपस्थितिको बोध गराउन पर्यावरणविद्लाई निकै झक्झकायो।
‘उल्टो पाइलो हिँड्नु मेरो जन्मजात संस्कार हो।’
ढोकामा आइ पुगेकी लेमलेमाले पर्यावरणविद्लाई सुन्नेगरी भनी।
फेरि भनी – ‘मेरो उल्टो पाइलोको गतिमा उत्तर आधुनिक विश्वले विश्वास राखी पर्यावरणलाई उल्टो दिशा दिए। मेरो उल्टोलाई विश्वले सुल्टो बनाउन सकेन । म उल्टोबाट दुनियाँलाई सुल्टो दिशा दिन चाहन्थे।’
बन झाँक्री पर्यावरण विश्लेषणमा सानो ढ्याङग्रो ठोक्दै उफ्रिएको उसले देख्यो । फलाक्यो- ‘म उल्टो हत्केलामा मनुवा चेलालाई गन्यौला खुवाउँछ। मेरी स्वास्नी लेमलेमा उल्टो पाइला हिँडछे। हाम्रो उल्टो अर्थ बुझेनों… खोइ मनुवा, खोई हाम्रो अदिम जङ्गल ?’
पर्यावरणविद्को प्रयोगशालामा बनझाँक्री उफ्रिन थाल्यो। ढ्याङ्ग्रो ठोक्या ठोक्यै। अन्तमा माउस खिलाउँदै कम्प्यूटरको स्क्रीनमा पर्यावरणविद्ले वन्य अतिथिद्वयलाई व्याखा गर्यो – ‘अब बदलिँदो पर्यावरणअनुसार पारम्परिक जङ्गलको अस्तित्व कल्पना बाहिरको कुरो हो। विकल्पमा वैज्ञानिकहरूले सिन्थेटिक जङ्गल तयार पारेका छन्। उत्तर आधुनिक वैज्ञानिक सभ्यताको उपलब्धी यही हो। यसको सुविधा उपभोग गर्न अब तिमीहरूले जङ्गलको आदिमतादेखि मुक्त भई सिन्थेटिक प्रणालीको सूत्रभित्र समाहित हुनुपर्छ।
उसले बनझाँक्री र लेमलेमाको अन्तिम वाक्य यति मात्र सुन्यो- ‘हाम्रो आदिमतालाई अपहरण गर्न पाइँदैन।’
तर केही महीनापछि उसले देख्यो पर्यावरणविद्को प्रयोगशालाको फर्मलडिहाइटभित्र बन झाँक्री र लेमलेमाको मृत देह तैरिरहेको थियो ।
९९. सैद्धान्तिक चोर
भौतिक भोगबादको सम्पूर्ण आयाममा ऊ पूर्णतः असफल प्रमाणित भयो। स्वास्नीले कराई – ‘तिमी जस्तो निकम्मा संसारमा कोही छैन। लायक छैनौ न त सिद्धान्तमा न त व्यवहारमा ।’
स्वास्नीको व्यङ्ग्यले पूर्णतः आहत भएपछि ऊ आफूलाई एउटा सफल चोरको रूपमा प्रमाणित गर्ने कोशिशमा लाग्यो। यस्तो चोर, जुन चोर संसारमा छँदै छैन। र त्यो ‘छैन’ को परिपूर्ति ऊ नयाँ प्रयोगमा गर्न लाग्यो। ऊ संसारभरिको सिद्धान्त र बाद चोरेर चोरीको क्षेत्रमा नयाँ किर्तीमान कायम गर्न आग्रही बन्यो।
सर्वप्रथम उसले राष्ट्रवाद चोर्ने निश्चय गर्यो।
राष्ट्रवादको तिजोरी खोज्न ऊ नेताको महलमा पुग्यो। घुस र प्रतिशतको मातले नेता निदाएको निदाएकै थियो। तिजोरीको कुना कुना उसले छाम्यो। घोटालाको अवैद्ध रुपियाँको थाक त्यहाँ थियो। तर राष्ट्रवाद भेट्दै भेटिएन।
अन्धकारको सुरक्षात्मक कवचको भर परेर ऊ एउटा चोकमा पुग्यो। सर्वसाधारणले त्यसलाई शहीद चोक भन्न थालेका थिए। कारगील शहीदहरूको सालिग चोक रूँगिरहेको थियो। उज्यालोको आँखामा मस्त दुनियाँभित्र तिनीहरूलाई सम्झने कोही थिएनन् ।
‘तिमीहरू यहाँ किन उभिएका हौ ए शहीदका सालिगहरू?’
उसले सोध्यो ।
शहादत पछि पनि यो चोकलाई पहरा दिनु हाम्रो धर्म हो।’
सालिगहरू एक स्वरमा बोले।
‘म त राष्ट्रवाद खोज्दै यहाँ आएको हुँ। तिमीहरूसँग भए त्यो मलाई दिन सक्छौ?’ उसले माग गर्यो।
‘हाम्रो राष्ट्रवाद राष्ट्रिय डकैतहरूले चोरेर लगिसकेको छ। कारगील युद्धमा हामीले दिएकी शहादतको मूल्य पनि राष्ट्रिय डकैतहरूले नै हरेर लगिसकेका छन् ।’
बोल्दा बोल्दै रून थाले सालिगहरू।
त्यसपछि ऊ मोहब्बद गल्लीमा आयो।
त्यहाँ रातको शून्यतामा कवि गिरी सुकसुकाइ रहेका थिए। जातीय अस्तित्ववाद कवि गिरीसँगै रहेको ठहर गरी उसले सोध्यो ‘कविजी मलाई युद्ध र योद्धामा भएको जातीय अस्तित्ववादको एक अंश दिनु पर्यो। नत्र चोरेरै भए पनि म तपाईंबाट सो प्राप्त गर्नेछु।’
अन्धकारमै कवि गिरी कञ्चनजङ्घा र चियाबारीतिर हेर्दै रोइरहे। मागेर अथवा चोर अंश माग्ने विचार परित्याग गरी ऊ निस्कियो।
त्यसपछि ऊ सोझै कार्लमार्क्सकहाँ पुग्यो। साम्यवादको कुरा उसले विद्यालयकालीन अवस्थामा एकजना शिक्षकबाट सुनेको थियो। रातको जाग्दो सालिगमा समाहित भएर कार्लमार्क्स रसियाको कुनै एउटा चोक रूँगिरहेका थिए। संसारको सबैभन्दा राम्रो सिद्धान्त साम्यवाद हो भन्ने ठहर गरी ऊ कुनै हालतमा पनि मार्क्सवाद प्राप्त गर्न चाहन्थ्यो । मार्क्सवाद कार्लमार्क्सको ओभरकोटको खल्तीभित्र थियो। मध्यरातमा कार्लमार्क्स एक छिन झकाउन लागेको मौका छोपी उसले त्यो ओभरकोटको खल्तीमा हात लगायो।
‘युग निदाए पनि ए सैद्धान्तिक चोर, म निदाएको छैन। मेरो सिद्धान्तका चोरहरू संसारभरि रग् रगी छन्। मेरो सिद्धान्तको घडेरीमा महल बनाउनेहरू बङ्गोप सागरमा शाही नौका बिहार गर्दै छन् । चोरी कोशिशको अभियोगमा म तिमीलाई गिरफ्तार गर्छु।’
कार्लमार्क्स गर्जिए अनि उसको कठालो दह्रो गरी समाए। त्यसपछि संसारका सबै सिद्धान्त र बादहरू आएर उसलाई असफल चोर प्रमाणित गर्दै पाता कस्न थाले।
१००. हजुर आमाको फरिया
एक्काइसौं शताब्दीले ताल ठोकेको ठोकेकै गर्यो। मान्छेको आदिमताले चियाउने गुफाका आँखाहरू बन्द भएको तथ्य दन्त्य कथा भएछ।
आधुनिक … उत्तर आधुनिक !
र्याम्पको खले गहामा उत्रे एक सा एक विश्व सुन्दरी मोडेलहरू । चाक चाकमा चाख उमारेर उपभोक्तावादी आँखाहरूलाई बन्दक बनाई रहे ती मोडेलहरूले। कुनै सांस्कृतिक आँगनको बाँसको टाँगोमा सुकाइएको थियो हजुर आमाको फरिया। त्यसलाई उडाएर ल्यायो ‘टाइफून’ ले र ल्याइ पुर्यायो र्याम्पको लचकदार गतिशिलताको थाप्लोमा।
मोडेलहरूले वास्तै गरेनन् ।
दर्शक-दीर्घाका आँखाहरूले देख्दै देखेनन् । आयोजकवर्गको आँखामा पनि परेन क्यार! फरिया छट्पटियो र्याम्पमाथि । मोडेलहरूको लचकदार वजनले त्यो थिचियो र अझ थिचिँदै गयो।
हेर्दा हेर्दै फरिया हजुर आमामा परिणत भयो।
सांस्कृतिक युद्धमा हारेकी हजुर आमा रक्ताम्मे भइन् र्याम्पमाथि । हजुर आमा चिच्याइन् ‘बचाओ, ए मलाई बचाओ।’
र्याम्प-हलका बत्तीहरू निभ्दै गए। त्यहाँ सुनियो एउटा सिम्फोनी। सिम्फोनीभित्र रोइ रहिन् हजुर आमा सुँक्क सुक्क !