प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – १३
१२१. घटनाको शिकार
यसपटक पनि घटनाको शिकार ऊ नै भयो। निकैवटा घटनाहरूमा परेपछि यस पटकको घटना उसको लागि अलिक असामान्य नै हो।
घटना के हो त !
बुझ्नु भएपछि अवश्य तपाई ‘हत्तेरि यति सानो कुरो’ अवश्य भन्नु हुनेछ। तर उसको लागि घटना गम्भीर नै थियो।
घटनाको नायक- ऊ।
खल-नायक उसको भूतपूर्व मित्र।
भूतपूर्व मित्र – भूतपूर्व कालमा अति सामान्य। वर्तमान कालमा असमान्य अर्थात् सम्भ्रान्त। डेरा सार्ने काममा ऊ यसपटक सम्भ्रान्तकै नजीक आइपुग्यो। यो अज्ञानतावशको भूल थियो।
घटना के हो भने सम्भ्रान्त मित्रले उसलाई चिनेनन् । चिन्दै चिनेनन् कि चिनेर नै चिनेनन् । पहिलो पटक भेट्दा उसले मित्रलाई मुस्काएर ‘गुड मर्निङ’ भन्यो मित्रको भव्य बालकोनीतिर फर्केर। मूर्तिवत् मित्र। दोस्रो पटक ‘नमस्ते’ को विनम्रता नै बिछ्यायो। ढुङ्गा मित्र। उसले आफूलाई संसारको सबैभन्दा हीन बस्तु ठान्यो। यति हीन कि उसको हीनताभन्दा तल झर्ने कुनै बिन्दु नै छैन। तर उसले सम्भ्रान्त मित्रलाई मनले सलाम नै ठोक्यो। घर आएपछि ऊ ढोका लगाएर एक कोठे डेराभित्र रोइरह्यो। स्वास्नीले आएर ऊ रोएको कैफियत सोधी। पुरानो मित्रको मृत्युको खबर सुनेर रोएको स्वास्नीले उसको सुशार गरिरही।
बेलुकी बाहिर हल्ला मच्चिदा स्वास्नीसँगै ऊ पनि बाहिर निस्कियो। उसले देख्यो तिनै सम्भ्रान्त मित्रलाई। तिनी कार निकालेर कतै जान लागेका थिए। तर तिनकी स्वास्नीले तिनलाई टाईमा समातेर गाडी बाहिर स्याण्डलले पिट्दै थिई।
कैफियतको हावा सम्पूर्ण कानहरूले समात्यो- सम्भ्रान्त मित्रले भर्खरै पत्नीको अर्को संस्करणलाई अर्कै कोठीमा सजाएर राखेका रहेछन् ।
यही दिन ‘विश्व नारी दिवस’ को उपलक्ष्यमा एक हुल नारीहरू फेस्टुन र प्ले कार्ड लिएर सचेतन जुलूसमा हिँडिरहेका थिए।
धन्य विश्व नारी दिवस !
एककोठे डेराभित्र धेरैबेर उसले स्वास्नीलाई अँगालो हालिरह्यो।
******+******
१२२. स्थानीयता
एकजना भ्रष्ट कर्मचारीले कार्यालय अधिकारीको सामू टेबल ठोक्दै दाबी राख्यो- ‘हामी स्थानीय कर्मचारीको हैसियत यस अफिसमा विशेष किसिमको हुनपर्छ।’
कार्यालय अधिकारीले सोधे- ‘हैसियतको आशय?’
भ्रष्ट कर्मचारी फेरि कड्कियो ‘हामी स्थानीय विशेषहरू जति सिनियर बन्दै जान्छौं त्यति नै अफिसमा हामीले आधा दिन मात्र काम गर्ने र पेश्कीको सुविधा पाउनुपर्छ।’
‘अन्य सुविधाको माग बताउनु होस् ।’
अधिकारीले फेरि उसरी नै सोधे।
‘हामीले घुससँग सम्बन्धित फाइल मात्र चलाउन पाउनु पर्छ।’
‘त्यो त आचार संहिताबाहिर पर्न गयो।’
‘आचार संहिता हाम्रो सुविधाअनुसारको हुनपर्छ। किनकि हामी स्थानीय हौं।’ भ्रष्ट कर्मचारी फेरि टेबल ठोकेर गयो।
स्थानीयता कुन प्रयोग हो? ऊ घोरियो। स्थानीयताको स्वरूप नबुझ्दा उ त्यसको खोजीमा बाहिर निस्कियो। तर चारैतिर घुम्दा पनि स्थानीयता बस्तु भेटिएन ।
एक सप्ताहपछि कार्यालय अधिकारी फेरि अफिस आयो।
अफिसरका कर्मचारीहरू सबै त्यही भ्रष्ट कर्मचारीको शोक सभामा मौनता धारण गरेर प्रार्थना गरिरहेका थिए।
अहिले उसले मृत्युको सन्दर्भमा स्थानीयताको मुद्दा कस्तो हुन्छ भनी सोच्यो र अल्मलिरह्यो।
*****+++*****
१२३. दृष्टान्त
सारा जीवन बेकार बसेपछि अन्तमा उसले साहित्यकार बन्ने विचार गर्यो। साहित्यकार बन्नलाई कुनै अन्तर्वार्ताको सम्मुखिन पनि बन्न नपर्ने। यसर्थ, ऊ एकैचोटि कागज-कलम लिएर कथा लेख्न बस्यो। तर उसलाई कथा आउँदै आएन। उसले टेबलमा कलम-कापी राख्यो। अचानक एउटा कथा फुत्रुक्क गरेर टेबलमाथि कहीँबाट उफ्रिएर देखा पर्यो। कथा उसकै कल्पना स्वरूपको कथा थियो र उसले त्यसलाई हात पार्न शीघ्रताका साथ पक्रन खोज्यो। तर कथा उफ्रिएर अर्कोतिर गयो। उसले कथालाई नियालेर हेर्यो। अत्यन्त सुन्दर देखियो कथा। यस्तो सुन्दर कथालाई ऊ कुनै हालतमा पनि गुमाउन चाहँदैन थियो। यसर्थ, कथालाई लेखेर नभए पनि समातेर हात पार्न उसले जोडसँग हात बढायो। कथा उसरी नै उफ्रिएर टाढा गयो। उसले फेरि कागज कलम समाएर केही लेख्न खोज्यो। अचानक त्यही कथा आएर उसको एक गालामा गतिलै थप्पड मार्यो।
उसले कथालाई सोध्यो – ‘तिमीले किन यसरी थप्पड मार्यो ?’
कथाले भन्यो- ‘तिमी जस्तो अव्यावहारिक मानिस संसारमा कोही छैन। लेखेर तिम्रो परिवार चल्छ ?’
तत्कालै उसले कागज र कलमसँग सम्बन्ध बिच्छेद गर्यो।
*****+++*****
१२४. प्रतिशोध
जीवनमा कहिल्यै माला लगाउने मौका नजुरे पनि अरूलाई माल्यार्पण गर्नमा ऊ सँधै अघि रह्यो। तर यस पटकको सन्दर्भ र उत्सवमा एकजना शिक्षा माफियाको नाम आयो। यस माल्यार्पणको कार्यक्रममा उसले अर्कै किर्तीमान कायम गर्ने अठोट गर्यो। माफियालाई सम्बर्द्धना जनमानसमा अनौठो भएको हुँदा सर्वसाधारण सो कार्यक्रममा अंशग्रहण गर्न अल्मलिए पनि ऊ आत्मविश्वाससँग कार्यक्रम स्थलमा यथासमय पुग्यो।
परिचित शुभचिन्तकहरू माफियालाई माल्यार्पण गर्न ऊभन्दा अघि पुगिसकेका थिए। उसलाई भन्दा पनि अरूलाई माल्यार्पणद्वारा गुण तिर्ने हतार भएको उसले अनुमान लगायो।
मञ्चमा सगर्व आसिन शिक्षा माफियालाई देख्दा उसको छात्ती सगर्व फुलियो। – माफियाले भर्खरै राष्ट्रिय पुरस्कार प्राप्त गर्यो।
– धेरै वर्षदेखि माफियाले धेरैलाई शैक्षिक गुण लगायो।
प्रथम उद्घोषणा हुनसाथ ऊ मञ्च सामू पुग्यो।
ऊ आन्दोलित भयो।
तेरिम्मा टोक्ने ! तीन बर्षअघि छोरीको किर्ते वोर्ड प्रमाण-पत्र झिकाउन दिएको दश हजार रुपियाँ त्यसै पचाउन लागेको ? ऊ अघि बढ्यो ।
तत्कालै माफियाका भुस तिघ्रहरू आए।
जुत्तार्पणको उसको प्रयास असफल रह्यो।
जुत्ताको माला लगाई दिएर उल्टो तिनीहरूले उसलाई भकुर्नसम्म भकुरे। उद्धारको लागि कोही आए?
*****+++*****
१२५. अनौठो अस्वीकृति
दाल, भात, डुकुको पछि कुद्दा कुद्दा उर्जाहीन भइसकेको उसको जीवनमा भाग्य रेखा छामेरै चट्याङ लाग्यो। यो चट्याङ सकारात्मक कुन अर्थमा थियो भने कुनै कुनै दिन पानी पिएर भोक टार्ने मानिसको भागमा यस पटक दश लाख रुपियाँको लटरी पर्यो। लटरी सपना थिएन। त्यो उसको धमिलो उज्यालोको यथार्थ थियो। बिहानदेखि जितौरीको आशामा पानी पिएर भोक मार्ने समूह उसको किरायदार घरको ढोकामा भीड लाग्न थाले।
उसले सबैको सामू बिहानै घोषणा गर्यो – ‘हाम्रो निम्ति दश लाखको लटरी अनौठो ऐतिहासिक घटना हो। म तपाईहरू जस्तै साविक भुक्तभोगी वनिरहन चाहन्छु। यसर्थ, यो ऐतिहासिक अनौठो घटनालाई स्वीकार गर्ने पक्षमा म छैन।’
उसले लटरीको कागज टुक्रा टुक्रा च्यातेर सबैको सामू छरिदियो।
*****+++*****
१२६. रङ्ग-रूची
कार्यालयको अधिकारीसँग उसको सिद्धान्त र सोच यस अर्थमा मिल्दैन थियो कि अधिकारी घुस खान्थ्यो। ऊ चाहिँ चामलको टिन रित्तिदाँ पनि बरू भुस खान्छु सम्झन्थ्यो। तर आँखाले रङ्ग खाने विषयमा चाहिँ अधिकारीसँग उसको भिन्नता थिएन। ऊ जुन दिन जुन रङ्गको कमीज लगाएर जान्थ्यो अधिकारी त्यो दिन त्यही रङ्गको कमीज लगाएर आएको हुन्थ्यो। तर बजेटबाहिरको रङ्ग उसले कहिले प्रयोग गरेन । ऊ – कार्यालय अधिकारी। सेतो = सेतो, नीलो = नीलो, गुलाबी = गुलाबी।
तर उसले यो रङ्ग एकरूपतालाई भङ्ग गर्न चाहन्थ्यो। यसर्थ, उसले घरमा नै सानो प्रयोगशाला खोलेर अनौठो र अमिल्दो रङ्गको सृजना गर्न चाह्यो जुन रङ्गको कपडा उसले प्रयोग गर्दा बिस्मित बनोस् कार्यालय अधिकारी। तर त्यही अन्तराल अकारण अधिकारी केही दिनको लागि गायब बन्यो। के सुनियो भने नयाँ रङ्गको सिद्धान्तको चोरी मामलामा अधिकारी अदालत धाउन लाग्यो। अधिकारीबाट घुसको प्रतिशत चाट्न पाउने कर्मचारीहरूले हल्ला गरेनन्।
रङ्गको प्रयोग-शालाबाट अनुसन्धान गरिएको अनौठो रङ्गकै कपडा लगाएर ऊ कार्यालय गयो। तर त्यही अधिकारी भनाउँदो त्यही दिन फेरि त्यही रङ्गको कपडा लगाएर घुम्ने चौकीमा घुम्दै व्यङ्ग्यात्मक मुस्काइ रहेथ्यो।
त्यो दिनदेखि उसले रङ्गहीन बाँच्ने किरिया खायो।
*****+++*****
१२७. धिक्कार
आइवरी टावरमा चढ्ने मौका नमिले पनि ऊ आत्महत्याको लागि बिजुलीको एउटा वृहत् टावरमा चढ्यो र आफ्नो अन्त्यको कल्पना गर्न लाग्यो। यस्तैमा ऊसँग छुट्टानाम गरिसकेको उसकै जीवन एकपटक उसको सामू देखा परेर उसलाई धिक्कार्न थाल्यो- ‘धुक्क ! यदि यस्तै निर्णय लिने तेरो मनसाय पहिल्यै बुझ्दो हुँ त तेरो जन्ममा नै म तसँग छुट्टानाम गर्ने थिएँ। मसँग सम्झौता गर्न नसक्ने तँ जस्तो निकम्मालाई रोजेर मैले ठूलो भूल गरें।’
पश्चताप भएपछि ऊ टावरबाट तल झर्यो धरतीमा जहाँ लाखौं जीवन हाँसिरहेको थियो।
उसले आफ्नो जीवनलाई ठिम्याएर त्यसको खुट्टा हुँदै भन्यो- ‘म आफ्नै विरुद्ध पापी र अपराधी भएँ। मलाई क्षमासहित तिमीभित्र समाहित गर।’
पुलिसको टोली उसलाई लिन आइसकेको थियो ।
*****+++*****
१२८. किड्नी-धन्धा
विदेशमा ज्यादै किड्नीको माग रहिआएको हुँदा त्यसको आपूर्तिका लागि किड्नी धन्धाको गिरोह गोप्य सूत्रहरू फैलाएर चारैतिर रग् रगी फैलिएको थियो।
किड्नीको उत्पादन सम्भव छैन । यसको उत्पादनको लागि मानिसकै उत्पादन बढ्नु पर्यो। मानिसको उत्पादन यताका मुलुकहरूमा अपरिमित भएका हुनाले किड्नी आपूर्तिको प्रशस्त सम्भावना यता रहेको किड्नी गिरोहका विशेषज्ञहरूले स्वीकारेका छन् ।
छर-छिमेकका सबैले रू० एक लाखको दरले आफ्नो किड्नी बेच्न थाले। विदेशी बजारमा किड्नीको माग दोब्बर बढेर जाँदा गिरोहको सक्रियता पनि अझ बढेर गयो। मागको अनुपातमा आपूर्ति नहुँदा एजेण्टहरू रात दिन छट्पटिन लागे।
एक दिन एकजना एजेण्टले ऊकहाँ आएर भन्यो- ‘सबैले आफ्नो किड्नी बेचिसके। तपाई मात्र बाँकी रहनु भयो। मूल्य अहिले एकदेखि बढेर दुई लाख पुग्यो। तपाईं आफ्नो किड्नी यथाशीघ्र हामीलाई प्रदान गर्नु होस् ।’ उसले एजेण्टलाई कुनै वचन दिन सकेन।
तीन वर्षअघि नै वीश हजारमा उसले आफ्नो एउटा किड्नी बेचिसकेको थियो।
*****+++*****
१२९. काग-कान
हल्लाको सङ्क्रमणमा अरू सरह ऊ पनि सङ्क्रमित बन्यो।
थुम थुममा सबै कराउँदै थिए – ‘कागले कान लग्यो। लौ छाम छाम। कागले कान लग्यो।’ गाउँलेहरू सबै दिशाहीन दौडे। हल्ला कुन दिशाबाट भयो- त्यो कसैले भन्न सकेनन् । वास्तवमा गाउँलेहरू सबै निदाएरै कुदिरहेका थिए। रातले तिनीहरूको चेतना अपहरण गरेपछि त्यसरी कुद्नु बाहेक अन्य कुनै उपाय पनि थिएन। दिनलाई समेत निलेर रातले अन्धकारको फाल्सा फाल्सा छादिरह्यो चारैतिर।
दृश्यहीन। शून्यता अनि दृष्टिहीन।
त्यसपछि फेरि ‘कागले कान लग्यो’ भन्ने हल्ला सुनिएन। उसले चाहिँ हल्ला सुन्ने कोशिश गर्यो। तर ऊ त्यतिञ्जेल सद्दे बहिरो बनिसकेको थियो – न त नारा सुन्न सक्ने, न त जुलूसमा आफ्नै मागको आवाज उठाउन सक्ने !
*****+++*****
१३०. अर्को भोक
ऊसँग सबै बिमुख भइसकेका थिए।
घरमा खाद्य सामग्री थिएन।
स्वास्नी छोरो लिएर माइत गइसकेकी थिई। मुसाहरू पनि उसको घरबाट निर्वासित थिए। किनकि ‘चिसो चुल्हो‘ उसको भोक-साहित्यमा अन्तर्भुक्त थियो।
उसले आफ्नो अवस्थाको कारण ईश्वरलाई सोध्ने निश्चय गर्यो। यसर्थ, ऊ मध्य रातमा एउटा मन्दिरमा पुग्यो। उसले रुँदै मन्दिरभित्रको मूर्तिलाई सोध्यो- ‘प्रभु, यति लामो अवधिसम्म भोकै रहन परेपछि स्वास्नीले मलाई त्याग गरि हाल्नु पर्ने कारण के हो?’
‘तिमीलाई थाहा भएकै कारण हो – भोक ।’
मन्दिरबाट शब्द निनाद आयो।
‘यो भोकबाट मलाई मुक्ति दिनु होस् प्रभु ।’
उसले घुडा टेकेर प्रार्थना गर्यो।
अर्को शब्द-निनाद आयो – ‘भोकबाट म पनि मुक्त छैन मनुवा । मानिसहरू सबै नास्तिक भइसके। मन्दिरमा फल प्रसादि चढाउन आजकल कोही आउँदैनन् ।’