कालचिनीः साहित्य, कला र खेलकूदको त्रिवेणी संस्था सृजनशील समूह कालचिनीको आइतवार छैठौँ स्थापना दिवस पालनसितै नयाँ कार्यकारिणी कमिटी गठन भएको जानकारी समूहको संयोजक कथाकार तथा कवि अबीर खालिङले जनाएका छन्। आइतवार समूहको कार्यालयमा सम्पन्न छैठौँ स्थापना दिवस समारोहमा मुख्य अतिथिको रुपमा वरिष्ठ समाजसेवी तथा संरक्षक दुर्गा चामलिङको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा समूहको संरक्षक तथा सल्लाहकारगण आसबहादुर सुब्बा र सागर राई देवान एवम् समूहको जन्मदाता संयोजक अबीर खालिङ अनि समूहको कर्मठ सदस्यहरूको उपस्थिति रहेको थियो। समूहको कर्मठ सदस्य अनि संरक्षक महिपाल सुब्बाको अध्यक्षतामा सम्पन्न सो समारोहमा समूहको क्रियाकलाप र उपलब्धिबारे विस्तृत चर्चा परिचर्चा हुन अघि समूहको वरिष्ठ सल्लाहकार आसबहादुर सुब्बा र सागर राई देवान एवम् सभाध्यक्ष महिपाल सुब्बाको बाहुलीबाट भानुभक्त आचार्यको प्रतिमूर्ति साथै समूहको जन्मदाता एवम् संरक्षक स्व. कवि इन्द्रबहादुर गुरुङको प्रतिकृतिमा धुप दीप प्रज्ज्वलित गरिएको थियो।
समूहको कार्य र अभिभारामाथि टिका टिप्पणी पश्चात अन्ततः समूहको नयाँ कार्यकारिणी कमिटी गठन गरिएको थियो। नयाँ कार्यकारिणी कमिटीमा आगामी ३ वर्षको निम्ति अध्यक्षको रुपमा सर्वसम्मतिले महिपाल सुब्बालाई चयन गर्दै मूलसचिवमा कवि ज्ञानलाल दर्नाललाई चयनित गर्दै उपाध्याक्षमा शम्भु शर्मा, सहसचिवमा बाबलु सापकोटा र कोषाध्यक्षमा चित्रकार सञ्जोग लामालाई नियुक्त निर्वाचित गरिएको बताइएको छ। समूहको विदाई अध्यक्ष प्रदीप लामा र विदाई सचिव चन्दन भट्टराई एवम् संयोजक अबीर खालिङले निर्वाचित पदाधिकारीहरूलाई खदा पहिराएर शुभकामना जनाएका थिए।
यता नवनिर्वाचित अध्यक्ष महिपाल सुब्बा र मूलसचिव कवि ज्ञानलाल दर्नालले समूहले नयाँ थप दायित्व प्रदान गरेकोमा यसलाई सकारात्मक ऊर्जाको रुपमा ग्रहण गरेको र आगामी दिनमा समूहको अग्रज तथा अनुज सबैको सरसल्लाह लिएर कार्यक्रम गर्दै लैजाने जनाएका छन्। समूहको नयाँ कार्यकारिणी समितिमा सबै सदस्यहरूलाई यथावत राखिएको र अझै नयाँ सदस्यहरू बनाईने पनि सभाले प्रस्ताव ग्रहण गरेको बताइएको छ।