नीट परीक्षा उत्तीर्ण गरेर चियाकमानको नाम उज्यालो पार्दैछन् विद्यार्थीहरू
कालचिनी : डुवर्सको चियाबारी गाउँ एवम् बस्तीका विद्यार्थीहरूले पनि वर्तमान समयमा यूपीएससी, डब्ल्यूबीसीएस र नीट जस्तो कठिन स्तरको परीक्षाहरूमा सफलता हासिल गर्न पछि परेका छैनन्। डुवर्सको कालचिनी खण्डको चियाकमाने निम्न औ मध्यमवर्गीय परिवारको स्कूले विद्यार्थीहरूले लगातार नीट परीक्षा उत्तीर्ण गर्दै आइरहेको क्रममा यसपाली २०२४ को नीट परीक्षामा पुन मेचपाडा, बुखिमबारी र दक्षीण लोथाबारीका तीनजना विद्यार्थीहरू क्रमैले अनमोल लामा, रिन्छेन लामा र मुस्कान लामाले उत्तीर्ण गरेका छन्।
नीट परीक्षा उत्तीर्ण गर्ने यी विद्यार्थीहरूलाई अहिले विभिन्न समाजसेवी, जनप्रतिनिधि औ नेताहरूले भेट गरेर आशीर्वाद र शुभकामना दिने क्रम जारी रहेका छन्। गत वर्ष २०२३ मा पनि कालचिनी खण्डको ५ जना विद्यार्थीहरूले नीट परीक्षा उत्तीर्ण गरेर कालचिनी खण्डको नाम राखेको थियो भने यसपाली पनि प्राप्त जानकारी अनुसार अनमोल लामा, पिता अमल लामा र माता गीता लामा, मेचपाडा चियाकमान निवासी, रिन्छेन लामा, पिता राहुल लामा, माता तमा लामा बुखिमबारी निवासी र मुस्कान लामा पिता पेन्जु लामा, माता बिन्दा लामा दक्षीण लोथाबारी निवासीले नीट परीक्षा उत्तीर्ण गरेर मेदिनीपुर र जलपागढी मेडिकल कलेजमा प्रवेशको अनुमति पाएको छ।
अझै अन्य विद्यार्थीहरूले नीट परीक्षा उत्तीर्ण गरेको हुनसक्ने तर यसको जानकारी उपलब्ध नभएकोले केही भन्न सकेका छैनन्।
गत वर्ष २०२३ मा पनि कालचिनी खण्डको भाटपाडा चियाकमानका रिता लामा, बुखिमबारीका निधि लामा र मेचपाडा ८ नम्बरका सोइनाम लामा तीनैजना कन्या छात्री एवम् लोथाबारी र भर्नाबारीका २ जना विद्यार्थीले गरि जम्मा ५ जनाले नीट परीक्षामा सफल भएकी थिईन् भने उनीहरू सबै नै हाल विभिन्न मेडिकल कलेजहरूमा अध्यनरत रहेका छन्। यसपाली पुनः कालचिनी खण्डको तीनजना विद्यार्थीहरू दुईजना केटा र एकजना कन्या छात्रीले नीट परीक्षा उत्तीर्ण गरेको खबरले क्षेत्रमा हर्षोल्लास छाएको छ।
यी तीनैजना नीट परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई भेट्न छुट्टाछुट्टै रुपमा क्षेत्रका विधायक विशाल लामा एवम् तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन, तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोलगायत क्षेत्रको समाजसेवीहरू र जनप्रतिनिधिहरू पुगेर विद्यार्थी अनि अभिभावकहरूलाई बधाई दिएका छन्। यति मात्र नभएर गाउँका गुम्बा कमिटी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् समाजसेवीहरूले उत्तीर्ण विद्यार्थीहरूलाई घरमा पुगी शुभकामना दिने क्रम जारी रहेको छ।
नीट उत्तीर्ण विद्यार्थी अनमोल लामाले आमा बाबाको आशीर्वाद र आफ्नो लगनले नीट परीक्षा उत्तीर्ण भएको र मेडिकल पढाईको डिग्री सकेर स्थापित भएपछि अवश्यै गाउँलेहरूलाई सेवा पुऱ्याउने बताएका छन्।
यसरी नै अर्को उत्तीर्ण विद्यार्थी रिन्छेन लामाले पनि आमाको निरन्तर साथ बाबाको माया र आफ्नो मेहनतले नीट सफल भएको र आगामी दिनमा आफ्नो शिक्षाको सफलतालाई गाउँलेहरूको हितमा सेयर गर्ने भन्दै आफू पढेको कालेबुङको सन्त अगस्टिन स्कूलप्रति जीवनभर कृतज्ञ रहने जनाएका छन्। अर्को कन्या छात्री मुस्कान लामाले पनि सबै सफलतामा आमा बाबाको सहयोग रहेको र भविष्यमा गरीब दुखी गाउँलेहरूको सहयोग गर्न पछि नहटने भन्दै आफू पढेको स्कूल बून इङ्गलिस स्कूल हेमिल्टनगञ्ज र सन्त एन्थोनी स्कूल जयगाउँलाई कहिले नबिर्सने र शिक्षकहरूको साथलाई जीवनभर नभूल्ने बताएकी छन्। यता लोथाबारी बस्तीका समाजसेवी डीबी वाईबा, मेचपाडा चियाकमानका समाजसेवी अटलसिंह लामा, युवा समाजसेवी पवन लामा योल्मो समाजसेवी असीम पाख्रिन, कालचिनी विधायक विशाल लामाले लगातार गाउँले विद्यार्थीहरूको यो सफलताले सम्पूर्ण कालचिनी मात्र नभएर डुवर्सलाई नै अभिप्रेरणा दिएको र आउँदो प्रजन्मले अझै धेरै संख्यामा यस्तो रोजगारमुखी परीक्षाहरू उत्तीर्ण गर्न सक्ने जनाएका छन्।
यता डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष धनबहादुर वाईबा र मूलसचिव कुमार गोलेले गोर्खा समाजको एसटी अन्तर्भुक्त तामाङ जनजातिका विद्यार्थीहरूले आरक्षणको सही सुयोग पाइरहेको र आउँदो दिनहरूमा अझै बढी संख्यामा विद्यार्थीहरूले यस्ता परीक्षाहरू उत्तीर्ण गर्न सक्षम बन्ने बताउँदै सरकारलाई यसको निम्ति आभार व्यक्त गरेका छन्।