(कविता)
चिसो शहर
•रिपन गौतम।
मोडमा उभिएर हेर्छु मान्छेको लस्कर,
तीव्र छ गति सबैको।
चिसो पसेको छ शहरभित्र, मधुर उज्यालोसँग।
भुइँमा कुइरोको पातलो लहर फैलिएको छ।
मधेशको चिसो काँडाजस्तै हुन्छ।
लुगाको भित्र कताकता चस्किरहन्छ।
यहाँको जाडो मुटु काम्ने हुन्छ।
भिडहरू रङ्गीन देखिन्छन्।
जाडो मनाउन पहाड पनि झर्दछ
निक्कै जमघट भइरहन्छ।
म स्थिर हुन्छु
व्यस्त शहरको कुनै एउटा मोडको छेउमा।
अनि निश्चेत भएर हेरिरहन्छु
मानिसहरू अनि उनीहरूको जिजीविषा।
खासै भिड मलाई मन पर्दैन।
मन पर्दैन यहाँबाट निस्किने ध्वनिहरू।
आफ्नै प्रतिस्पर्धामा होमिएको यो हुल मन पर्दैन।
यहीँ शहरमा छु म, तर
मन नपर्ने कुरालाई मन पराएर बाँच्नु
जीवनकै उत्कृष्ट कला मान्छु म।
लाग्छ, कति सम्झौताहरूलाई मान्यता दिएर
कति दूरीसम्म यात्रा तय गर्नु पर्ने
अझै ठिहीको साउती लिएर
ठीक समयमा विस्तारै-विस्तारै आउने यो चिसो मौसम।
अनि
मन प्रफुल्ल पार्ने मिठा अतीतहरू,
मन भत्काउने कुनै कोण नमिलेका दोषी समयहरू
इत्यादि… इत्यादि!
यो समयले सबैलाई जीवन जिउने कला सिकाएर जान्छ।
यो चिसोले एउटा बहाना लिएर आउँछ,
आत्मीय साइनोसित हातेमालो गर्दै
कुनै रेस्टुराँ पसेर तातो कफी पिउने बहाना,
आफ्नै परिपाटीले लगाएको तातो लुगाको
प्रदर्शनी गर्ने बहाना।
जाडो महिनामा मसिना-मसिना सोसल पोस्टको बहाना।
सुटुक्क मनपर्ने मानिससँग गाडीमा आकस्मिक भेट हुँदा
नचाहिँदो भएर टाँसिने बहाना।
ठुस्किएर टाढा भएका बन्धु भेट्दा
मफलर माथि सारेर आधा अनुहार छोप्दै
नचिनेको अभिनय गर्ने बहाना।
चिसो भयो भनेर दुई पेग लगाउने बहाना,
ठूल्ठूला कुरा गर्ने बहाना।
•••
झस्किएछु म यो मोडको हल्लाले।
ब्युँझिएछु अहिले यो शहरको आवाजले।
कसैले नदेखोसझैँ गरी हिँड्छु म।
हातमा झुन्डिएको छ एक प्याकेट अमुलको दूध
र एउटा कफीको डब्बा।
चिसो त मैले पनि भगाउनुछ।
•गाेरूबथान