अनन्त श्रेष्ठ
डुवर्स भारत
जन्मभूमि !
जब म मात्सलयसित लुटुपुटु गर्थे
तिम्रा ममतामयी छालहरू ओडेर
पाठशाला जाने-आउने गर्थे
साँच्चै जन्मभूमि !
त्यसबेला तिम्रो कञ्चनजङ्घा हेरेर मात्रै पनि
म कति धेरै सम्मोहित भएको थिएँ
तिमीभित्र फुलेका रङ्गीविरङ्गी फूलहरू देखेर मात्रै पनि
म कति धेरै आह्लादित भएको थिएँ
तिमी बुझ्छौ-बुझ्दैनौ, म जान्दिन
म घाम उदाउने देश हेरेर मात्रै पनि
कति धेरै श्रद्धा र भक्तिले भिजेको हुन्थे
पर्यटकहरू रमाउने तिम्रो सौन्दर्य देखेर मात्रै पनि
म कति धेरै आनन्दित हुन्थे
जहाँ म मेरा पीडा भुल्न सक्दथे
जहाँ म मेरा अभाव बिर्सन सक्दथे।
जिन्दगीको यो मोडमा बुझ्दछु म जन्मभूमि !
जिन्दगीमा कति धेरै घाउहरू रहेछन् तिमीसँग
अनि बुई चढेका रहेछन् घाउहरू तिम्रो शरीर भरिभरि
कहिले यो घाउ अस्तित्वको घाउ भएर दुख्दोरहेछ
कहिले यो घाउ स्वाभिमान अतिक्रमित भएर बढ्दोरहेछ
कहिले यो घाउ शरणार्थीहरूको उत्पीडन भएर झुल्दोरहेछ।
म अनुभव गर्न सक्दछु जन्मभूमि
जिन्दगीमा कति धेरै यातनाहरू रहेछन् तिम्रा
हिउँदमा यो कठ्याङिग्रएर अझ दुख्दोरहेछ
बर्खायाममा भिजेर यो अझ फुल्लिँदोरहेछ
यन्त्रणाका चोटहरू मात्र रहेछन् तिमीसँग जन्मभूमि
सहेर कसरी बाँचिरहेछौ यसबेलासम्म तिमी (?)
यहाँ आफ्नोत्व भन्ने बाँचेको के रहेछ र?
आफ्नै देशमा आफ्नाहरूको ठाउँ निर्वासित भएको रहेछ
आफ्नै देशमा आफ्नाहरूको जगेरा शरणार्थी भएको रहेछ !
सिमसार भएर असन्तुष्टिहरू उम्रेका रहेछन् जहाँ तहीँ
जहाँ सभ्यताको नाउँमा केवल यो शहरमा
अट्टालिका भवनहरू थपिदै रहेछन्
कही यो ढल्दैनन् भूइँचालोमा गर्त्यामगुर्लुम भएर (?)
सन्त्रास मात्र बाँचेको रहेछ हामीभरी
जहाँ सौन्दर्यको नाममा यो शहरमा
नग्नता प्रदर्शन हुँदोरहेछ
कही यो हुँदैन सर्वाङ्ग एकदिन (?)
ग्लानि र त्रास मात्र बाँचेको रहेछ हामीभरी ।
हामीभित्र कति धेरै अतिक्रमण हुलिएका रहेछन्
सायद यी सब अटाउने हाम्रोमा कारखाना छ
हुस्सुमय वातावरण सधैँ ओडेर
हुस्सुमय जीवन बाँच्ने एउटा अभ्यस्तता छ
सायद सधैँभरी फूलहरूसित मात्रै रमाएर
सधैँभरी कोमल र पराश्रित हुन मात्र सिकेछौँ
सायद सधैँभरी हिमाल मात्र तापेर
रक्तरञ्जित नसाहरू चिसो र ठोस बनाउन सिकेछौँ
यो देशको रखवाला भनेर चिनिने हामी
केवल रखवाला मात्रै हुन जानेछौँ
स्वामी कहलाइन कहिल्यै जानेनछौँ।