बाग्राकोटमा १२० औँ साहित्य परिक्रमा सम्पन्न

बाग्राकोटः बाग्राकोट टपलाइनस्थित बद्रीधाममा १२० औँ साहित्य परिक्रमा कथाकार मदन खड्काको सभापतित्व,वरिष्ठ साहित्यकार गोपालसिंह विश्वको प्रमुख आतिथ्य अनि नारायणविक्रम प्रधान र गणेश बस्नेतको संयोजकत्वमा सम्पन्न भयो। साहित्य-गोष्ठीसँगसँगै लोकसाङ्गीतिक प्रस्तुतिले निक्कै समयपछि आयोजित साहित्य परिक्रमाको १२० औँ प्रकरण अत्यन्तै रोचक रहेको थियो। सन् २००० मा थालिएको साहित्य परिक्रमा मासिकरूपमा भिन्नभिन्न स्थानमा आलोपालो संयोजकभार वहन गर्दै आइरहेको सिलसिलाबीच केही समयदेखि क्रमभंग हुनगएको थियो। निरन्तरतालाई आवश्यक एउटा पहलको रूपमा आयोजित आजको प्रकरणमा साहित्यकार गंगाप्रसाद प्रधानरचित कवितासङ्ग्रह ‘ तप्कना’ माथि विमर्श अनि कवि-गोष्ठीलाई विशेष कार्यक्रमका रूपमा सामेल गरिएको थियो। ‘तप्कना’ कृतिमाथि बोल्नेक्रममा समिक्षक रुपेश शर्माले सामाजिक र सामयिक यथार्थ प्रष्टसित प्रतिबिम्बित सङ्ग्रहभित्रका कविताहरूले प्रगतिवादी भावधारा बोक्न सक्षम रहेको ठहर गरे। उनले तीन दर्जनजत्तिको उपस्थितिलाई हेरेर नियास्रो नमान्न अनुरोध गर्दै ‘हामी भुँडीहरू होइन यहाँ टाउकोहरू भेला भएका छौँ,यसैले धेरै भुँडीको भीडभन्दा थोरै टाउकोको यत्ति भीड मनग्ये हो,समाजनिर्माण र इतिहासनिर्माणमा भुँडीहरू होइन टाउकोहरू निर्णायक हो भनी बताए। अवगत गराइन्छ आजको प्रकरणमा संयोजक नारायणविक्रम प्रधानले स्वागत वक्तव्य, रूपनारायण प्रधानले उद्घोषणा,भुपेश शर्मा,मदन खड्का र नयन प्रधानले कवितापाठ,गोकुलसिंह थापाले लोकगीत अनि श्रीमती गंगादेवी शर्मा र विशिष्ट कलाशिल्पी अमिर सुन्दासले साहित्य परिक्रमाको महत्त्वबारे प्रेरक वक्तव्य अनि बालकलाकार सलिना भुजेलले मनमोहक लोकनृत्य पेश गरेका थिए। यस कार्यक्रममा बाग्राकोट साँस्कृतिक मञ्चका अध्यक्ष गौतम विश्व,मूलसचिव उमेश रोकालगायत साहित्यसेवीहरू क्रमैले विनोद प्रधान,सुबोध खड्का,गणेश कार्की,कविता शर्मा,दुर्गी गुरुङ,उर्मिला श्रेष्ठ,अमृत बस्नेत,अजय श्रेष्ठ,अजय खड्का,दिनेश खड्का आदिको विशेष उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment