चिया उत्पादनमा वृद्धि र रोग व्याधी रोकथाम गर्न संसारी पूजा सम्पन्न

चिया उत्पादनमा वृद्धिका निम्ति संसारी पूजा

कालचिनीः विज्ञानले चरम विकास गरिरहेको यस समयमा पनि डुवर्सको गाउँ बस्तीहरूमा पारम्परिक प्रकृति पूजा र धार्मिक अभ्यास अझै पनि यथावत रहेको देखिन्छन्। सबैको घरमा मोबाइल र आधुनिकताले वास गरेता पनि गाउँलेहरूमा पारम्परिक अभ्यासको रुपमा प्रकृति पूजा गर्ने चलन अझै पनि जारी छ। यस्तै प्रकृति पूजाको रुपमा चियाबारी गाउँहरूमा गाउँ घरको रोग कष्ट र लुतो खेदाउन अनि समयमा बर्षा होस् र चियापत्ती उत्पादन अनि अन्न खेती बढेर जाओस् भन्ने उद्देश्यले शनिबार भाटपाडा चियाबारीमा संसारी पूजा सम्पन्न भएको देखियो। प्रायः जसो चियाबारी गाउँहरूमा संसारी पूजा गर्ने चलन रहेको छ। यसको निम्ति चियाबारी प्रबन्धनपक्षले पनि सहयोगिता र सहभागिता जनाउँदै आइरहेको देखिन्छ।
चियाकमानमा सुखा सीजन अर्थात कलम काटेर नयाँ पालुवा पत्ती पलाउने बेला ठीक गर्मी महीनाको शुरुवातमा यसरी नै संसारी पूजा अर्थात धुर पूजा सम्पन्न हुने गरेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। विज्ञानले यसलाई अन्धविश्वास भनेता पनि गाउँले आस्था संसारी पूजा अर्थात प्रकृति पूजामा रहेको र यसको निम्ति गाउँका प्रत्येक घरबाट फूल प्रसाद लिएर गाउँदेखि बेग्ले जंगल संलग्न क्षेत्रमा पूजा स्थलमा जाने चलन रहेको गाउँलेहरूले जनाएका छन्। पूजामा बलि प्रथा रहेता पनि अचेल बलिको सट्टा फलफूल र अन्डामा पूजा सम्पन्न गर्ने चलन रहेको झाँक्री पुरोहित चक्रे वाइबा बताउँछन्। यो संसारी पूजाले चिया उत्पादनमा वृद्धि हुने र गाउँले र पशुप्राणीहरूको रक्षा हुने जनविश्वास रहेको पनि झाँक्री पुरोहित चक्रे वाइबा र जेठा घिसिङले दाबी गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment