अलिपुरद्वार जिल्ला अस्पतालमा बक्कल म्युकोसोल ग्राफ्ट यूरोथ्रोप्लास्टी अपरेशन सफल

कालचिनीः शनिबार अलिपुरद्वार जिल्ला अस्पतालमा पत्रकार सम्मेलन मार्फत बक्कल म्युकोसल ग्राफ्ट यूरोथ्रोप्लास्टी अपरेशन सफल भएको जानकारी अस्पतालका चिकित्सकहरूले जनाएका छन्।कालचिनी ब्लकको उत्तर लोथाबारी क्षेत्रका एकजना रोगी बाबलु खडिया केही वर्षदेखि पिसाब नलीको समस्याबाट पीडित रहेको थियो भने विभिन्न निजी अस्पतालहरूमा पटकपटक उपचार गराउँदै आइरहेको यियो तर यसले पनि उनको समस्या समाधान भएन। केही समय नबित्दै उनको शारीरिक अवस्था गम्भीर बन्दै जाँदा उनले अलिपुरद्वार जिल्ला अस्पतालमा युरो सार्जेन्ट डा. पवित्रा रोयसँग सम्पर्क गरे।
तर जिल्ला अस्पतालमा शल्यक्रियाको पूर्वाधार नहुँदा बिरामीको उपचार गर्न चिकित्सकहरू हिचकिचाउँथे। अन्ततः बाबलु खडियाको शारीरिक अवस्था र आर्थिक जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले जिल्ला अस्पतालमा शल्यक्रिया गर्न पहल गरेका थिए। तीन दिनअघि अलिपुरद्वार जिल्ला अस्पतालमा बाहिरबाट शल्यक्रियाको आवश्यक सामाग्री ल्याएपछि उनको शल्यक्रिया गरिएको थियो। हाल बाबलु खडिया शारीरिक रुपमा निकै स्वस्थ रहेको बताइएको छ। बाबलु खडियाको शारीरिक अवस्था सुधार भएपछि जिल्ला अस्पतालले उनलाई बिदामा घर पठाएको छ।

Leave a comment