अलिपुरद्वारमा विभिन्न मागहरूमा विरोध मार्च र ज्ञापनपत्र
कालचिनीः आज दिउँसो २ बजे अलिपुरद्वारको बलाइमोडमा रहेको श्रमिक कृषक भवनबाट वाममोर्चा र कंग्रेसका संयुक्त श्रमिक सङ्गठनबाट एउटा विरोध मार्च सम्पन्न भयो। विरोध र्याली शहरका विभिन्न क्षेत्र परिक्रमा गर्दै अन्ततः अलिपुरद्वारको जिल्ला प्रशासनिक भवन डुवर्सकन्या अगाडि पुगेर समाप्त भएको थियो। जिल्लाका बन्द चियाकमान खोल्न, श्रमिकहरूको न्यूनतम पारिश्रमिक बृद्धि, किसानको बालीको उचित मूल्य औ क्षतिपूर्ति एवम् राज्यभरी महिला हिंसा र बलात्कारका घटनाको विरोध लगायत १२ वटा माग राखेर विरोध कार्यक्रम आयोजना गरिएको थियो।
उक्त विरोध र्यालीमा सिटु, इन्टक, यूटूयूसी, एआईयूटीयूसी र एआईसीसीटीयूका दुई सयभन्दा बढी कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको थियो भने विभिन्न भातृ संगठन अनि ट्रेड यूनियनका जिल्ला तथा ब्लक नेताहरूको पनि उपस्थिति रहेको थियो।