रूपेश विश्व
अझै पनि एउटा बुझ्नै नसकिने
ठूलो नाटक चलिरहेको छ यहाँ
यो पाठकहरूको फीड-ब्याक पोइन्टमा
कुनै पनि लेखकमाथि गरिने समालोचनाको मञ्चमा !!
निडर, निष्पक्ष र पारदर्शी सोंचहरूको हतियारहरूमा अचेल
खिया लागेको छ।
किन लेख्नु गहिरो कविता?
पाठकले बुझ्दै बुझ्दैनन् !
किन लेख्नु गहनतम् कथा?
पाठकले रूचिनै देखाउँदैनन्!
किन गर्नु लेखनको पोस्ट मर्टम?
पाठकहरूले बुझ्ने समयनै निकाल्दैनन्!
जब कलमकारहरूको एउटा हुद्दाले यस्तो सोच्न थाले
तब आलोचकहरू हराएको छ ।
उनीहरूको साहित्यको सम्पन्न शहरबाट होइन
हाम्रै साहित्यको सम्पन्न गाउँबाट
आलोचकहरू हराएको छ !
किन डराउँछ एउटा पाठक
एउटा लेखनको स्क्यानिङ गर्न?
पाठकले लेखकको रूप हेर्छ कि लेखन?
पाठकले लेखनको विशेषता हेर्छ कि आवरण?
पाठकको मनभित्र पूर्वाग्रह र महत्वकांक्षा छ कि
लाचारीपन?
जब कलमकारहरूको एउटा हुद्दाले यस्तो सोच्न थाले
तब आलोचकहरू हराएको छ!
पाठकको आलोचना सही भएन भन्दैमा
लेखनको हत्या नै किन गर्नु ? भनेर
कलमकारहरूको अर्को हुद्दाले पनि
यस्तो सोंच्छन् र मात्रै हो।
नत्रता
पाठकहरूको असली हो कि बनावटी मायाले हो
लेखकहरू जताततै उम्रेका छन् ।
तर एउटा कुरा याद राख्नोस् महाशय
सशक्त लेखकहरू पनि एकदिन ओझेल भएर जानेछन्
निष्पक्ष आलोचकहरूको सहनै नसक्ने
आलोचनाले होइन
पक्षपाती आलोचकहरूको कारणले
पक्षपाती पाठकहरूको कारणले ।
भनिन्छ
अचेल आलोचकहरू हराएको छ!!
पत्थरझोडा,डुवर्स