आञ्चलिक संस्कृतिको दुमो – दिइ हाल भाउजू हाट

आञ्चलिक संस्कृतिको दुमो – दिइ हाल भाउजू हाट


हुन ता संस्कृतिमा आञ्चलिकता हुनु स्वाभाविक तथ्य हो । आञ्चलिक भनेर संस्कृतिको व्यापकतालाई सीमित पार्न त सकिन्न । तर कही कही स्थान विशेषसँग सम्बन्धित संस्कृतिको सिलाखाला विद्धमान हुन्छ । यही सन्दर्भमा यहाँ एउटा स्थान विशेषसँग सम्बन्धित संस्कृतिको छोटो चर्चा गरिन्छ जस्ले एउटा परम्परागत सिलसिला लिएर आएको छ ।

प्रदीप गुरूङ
प्रदीप गुरूङ

पहाड र मधेश छुटिने कछार भेक गोरुबथानमा एउटा आञ्चलिक संस्कृतिको दुमो अझ पाइन्छ । दिइ हाल भाउजू हाट यस स्थानको एउटा परम्परागत विशेषता हो । हुन त प्रत्येक हप्ता यहाँ सोमबार हाट लाग्ने गर्दछ र यसैको आधारमा यसको बजार क्षेत्रलाई सोमबारे हाट पनि भनिन्छ । दिइ हाल भाउजू हाट चाँड प्रसङ्गको हाट हो जो वर्षमा एक पल्ट लाग्छ । सोमबारकै दिन यो हाट लागे पनि यसले रसिक नाम धारण गर्छ । पहिलेदेखि तोकिएको तिथि अनुसार यो हाट त्यौहार पछिको दास्रो सोम्बार पर्दछ । लक्ष्मी पूजाको दिन लक्ष्मी पुजेपछि गाउँ गाउँमा विधिपूर्वक नाँच (मारुनी) उठाइन्छ । नाँच हारोहरू गाउँ पसेर रात छर्लङ्ग कटाउँछन् । केही दिनपछि त्यौहारको रमझम कम हुँदै जान्छ । जब दोस्रो हाटको दिन आउछ तब हाटलाई रमाइलो पार्न गाउँकाहरू मरुनीको डफ्फा हाट रमाइलो गर्न आउँछन् । तर आउन अघि फेरि उनीहरूले विधिपूर्वक नाँच उठाउँछन् । देवी देउरालीलाई भाकेर बल माङ्गछन् । यसै ठाउँको देवी देउरालीलाई – 

शरण तुम्हारी सेबै हामरी
गालै अभर
एकै मूखे रुद्रसे जपि ल्यायौ
गलै अभर
डालिम राजा, डालिम रानी शरण
गलै अभर
मन्तरैले पूर्व बाँध्यौ, पश्चिम बाँध्यौ
चारै दिशा बाँधि ल्यायौ
चेल राजा चेल रानी शरण तुम्हारे
गालै अभर ।

यसमा स्थानीय रङ्ग छ । गोरुबथानदेखि केही टाडा डालिम भन्ने स्थानमा भूटानको गडी थियो । यसको भग्नावशेष अझ छ । इतिहासले के बताउँछ भने अङ्ग्रेजहरूसित युद्ध पर्न अघि यो भूभाग  भूटानको अधिनमा थियो । युद्ध भएपछि मारिएको डालिम राजाको टाउँको लड्दै तल चेल खोलामा डुबेको थियो रे । रानीले भीरबाट हाम् फालेर आत्मा हत्य गरिन् रे भन्ने किंवदन्ती छ । यसरी मारुनीहरूको भाकामा आएको चेल, डालिम राजा रानीको प्रसङ्गको स्पष्टिकरण दिन सकिन्छ । अनि उनीहरू गीतैमा मारुनी सिङ्गार्छन् । मखुण्डो लगाएको ढटुवारे (पुसुङ्गे) शरीरमा बोरा अनि त्यसमाथि सिस्नु बेह्रेर तयार हुन्छन् । निश्चित ठाउँमा भेला भएका मारुनीहरू स्थानीय गणेशधारामा गई फल प्रसादि चढाउँछन् । यसरी नै तल स्थानीय ठाकुरबाडीको मन्दिर सामू भेला भइ पूmल प्रसादि चढाउँछन् । बल बिन्ती माङ्गछन् । अनि पुजारीबाट टिको थापी दश कदम पछि सरेर विदा लिन्छन् ।

सुधावै आँगनमा हाँसन आयौँ
दुवै वैनो गोपिनी साथमा ल्यायौँ
सुनैको संघारे, खपैको द्वारो घुरुक्कै उधारो,
धर्मै द्वारो, हाँस्नै पर्यो,
खोल्नै पर्यो जानी नरिसाऊ ।

यसरी गीतमा विनम्रता जनाउँदै रमाइलो गर्न थाल्छन् । पुर्सुङ्गेहरू हसाउँन थाल्छन् । स्त्री पुरुष सबैलाई एउटै सम्बोधन गर्दै माग्न थाल्छन् – दिइ हाल भाउजू दिइहाल । हुन त आजकाल यी सबै औपचारिकता कायम गरिँदैन । आधुनिकताको मिचाइमा सांस्कृतिको ह्रास हुन थालेपछि पूर्वकालको जस्तो दिइहाल भाउजू हाटको रमाइलो छैन भनिन्छ । मधेशका मानिसहरू यो हाटलाई  गोरुबथानको मेला भनेर आइह्रिन्थे । पत्थर झोडा, डालिम, फपारखेती, कुँवापानी गोरुबथान, लुवर फागु, नोम बस्ती आदि विभिन्न स्थानका मारुनीहरू झुप्पिन्थे । मान्छेको घुइचोले किन बेचको काम रोकिन्थ्यो ।

गाउँका नानीहरूलाई आमा बाबुले हराउँछ भनेर हाट हेर्न जानु प्रतिबन्ध गर्थे । यससँग सम्बन्धित भाउजू शब्दलाई कतिपयले सम्बोधनको अप–शब्द भनी ठान्छन् । भनाइ छ यो ठाउँलाई राँडीको देश भनिन्थ्यो रे । एकपल्ट लाग्ने मानिस कम बाँच्थ्यो रे । हुनसक्छ त्यस स्त्रीहरूको बहुलता भएकोले सबै काम धन्धामा उनीहरूकै हात थियो । यसै आधारमा भाउजू शब्दले प्राथमिकता पाएको हुन सक्छ । यो परम्परा कहिले शुरु भयो भन्ने सम्बन्धमा कसैले केही बताउन सक्तैनन् । मधेशबासीहरूका निम्ति अनि सामुहिक प्रदर्शनको निम्ति यो परम्परा शुरु गरिएको हो भन्ने अनुमान चाहि गरिन्छ । तर यस्तो हाटको प्रचलन अरु कही कतै रहेको थाहा पाइन्न । यो नै दिइ हाल भाउजू हाट–को आञ्चलिक विशेषता हो । तर आजको परिपेक्ष्यमा चिन्तनीय कुरो के छ भने यो प्रचलन यहाँ कम हुँदै गएको छ । एकाध मारुनीहरू भेला हुन्छन् । मखुण्डो लाएका मूराहरू हाटमा दिइहाल भाउजू दिइ हाल भन्दै झोला थापेको मात्र देखिन्छ । जातिबाटै संस्कृतिको जोगाडा हुन सक्तछ ।

अतः यसलाई पनि हाम्रै संस्कृतिको एउटा पदचिन्ह मानेर यसको सम्बर्द्धनको निम्ति क्रियात्मक पाइला चाल्ने सचेतना कतै हामीमा छ की ?

कालेबुङ, भारत

साभार – हिमालचुली दैनिक 

८ मार्च १९८४

+++**+++

याे पनि हेर्नुस्


Leave a comment