भाइचुङ भोटिया फुटबल रेसिडेन्सियल एकाडेमी नासिकको निम्ति आर्यान महाराष्ट्र प्रस्थान || आर्यनसित ५ वर्षको कन्ट्रयाक साइन
गाेरूबथान : भाइचुङ भोटिया फुटबल रेसिडेन्सियल एकाडेमी नासिकको निम्ति छनौट भएका गोरुबथानको छोरो आर्यन तामाङ हिजो महाराष्ट्रको निम्ति एनजेपी रेल्वे स्टेसनबाट प्रस्थान भए। आर्यनसित उनका दाजु अनि एकजना साथी साथमा गएका छन्। आर्यनलाई एनजेपीसम्म पुराउन उनका परिवारका सदस्य, साथीहरू अनि गोरुबथान खण्ड पञ्चायत समिति कर्माध्यक्ष शिशिर प्रधान, शिक्षक असिम राई, योगेश राई बाछाना आदि गएका थिए। देशका सफलतम फुटबल कप्तान भाइचुङ भोटियाद्वारा गठित नासिक महाराष्ट्रको भाइचुङ भोटिया फुटबल रेसिडेन्सियल एकाडेमी देशका टप आठ फुटबल एकेडेमीमध्ये एक हो। जसमा आर्यन under 15 क्याटोगरीबाट सय प्रतिशत स्कलरशिपमा चयनित भएका छन्। आर्यनसित एकाडेमीले ५ वर्षको कन्ट्रयाक साइन गरेको छ।
देशमा रहेका Top 8 फुटबल एकेडेमीमा टाटा फुटबल एकेडेमी, मुम्बई रिजनल एकेडेमी, कोलकाता रिजनल एकेडेमी, गोवा रिजनल एकेडेमी, गोवा इलाइट एकाडेमी, भाइचुङ भोटिया फुटबल रेसिडेन्सियल एकाडेमी, इण्डियन टाइगर फुटबल एकेडेमी, कोलकाता फुटबल एकेडेमी रहेका छन्। उक्त एकेडेमीमा AIFF द्वारा लाइसेन्स प्रदान गरिएको कोचहरूले खेलाडीहरूलाई प्रशिक्षण दिन्छन्। यस एकाडेमीका खेलाडीहरूले राज्य, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।
गोरुबथानको छोरो आर्यन तामाङले देशको शीर्ष फुटबल एकेडेमीमा यसरी मौका पाउनु ठूलो उपलब्धि रहेको बताउँदै केही दिनअघि गोरुबथान खण्ड पञ्चायत समितिले आर्यनलाई बधाई तथा शुभकामना प्रकट गरेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गोरुबथान खण्ड पञ्चायत समिति सभापति सूर्यमणि राईले खेलाडी आर्यनको यस उपलब्धिले गोरुबथानलाई गौरवान्वित बनाएको बताउँदै आर्यनलाई सुन्दर करिअरको निम्ति शुभकामना प्रकट गरेका थिए।
स्मरण रहोस् स्व. समिर तामाङ अनि श्रीमति बसन्ती राईका छोरो आर्यन दुइ वर्षअघि नाडुङ्ग फुटबल एकेडेमी कालेबुङमा छनौट भएर कुमुदिनी होम्समा नवौँ श्रेणीमा पढ्दै थिए। केही दिनअघि मात्र सम्पन्न सुब्रतो कप फुटबलमा कुमुदिनी होम्सको पक्षबाट कलकत्तामा तिनले सहभागिता जनाएका थिए। भाइचुङ भोटिया फुटबल रेसिडेन्सियल एकाडेमीको निम्ति छनौट शिविर कालेबुङमा राखिएको थियो। उक्त शिविरमा चयनित भएपछि फाइनल चयनको निम्ति नासिकमा शिविर राखिएको थियो। त्यहाँ पनि आर्यन चयनित भएका थिए।