भाजपा पञ्चायत सदस्य तृणमूलमा
कालचिनीः दशैँको रमझम चलिरहेकोबीच सोमबार कालचिनी ग्राम पञ्चायतको भाटपाडा ए चियाबारी पार्ट नम्बर ११/१५३ का भाजपा निर्वाचित पञ्चायत सदस्य रीमा लोहोराले तृणमूलमा योगदान दिएकी छन्। कालचिनी ब्लक तृणमूल कङ्ग्रेस कार्यालयमा सोमबार भाजपा निर्वाचित पञ्चायत सदस्य रीमा लोहोराले तृणमूल ब्लक सभापति असीम पाख्रिनको बाहुलीबाट झण्डा ग्रहण गरेकी थिईन्।
यस अवसरमा तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले भाजपाले लामो लामो कुरा मात्र गर्न जानेको र उनीहरूले गरेको वाचा, दाबी कहिले पुरा नभएकोले जनताले अब सबै थाहा पाएको र यसै क्रममा नै भाजपाबाट पञ्चायत सदस्य भएकी रीमा लोहोराले पनि जनताको हितमा केही गर्न नसकेकोले तृणमूलको पक्षमा उभिन आएकी जनाएका छन्। यता दल परिवर्तन गरेको सन्दर्भमा रीमा लोहोराले पनि जनताको आकांक्षा भाजपामा बसेर पुरा गर्न नसक्ने भएकोले नै राज्य सरकारसँग मिलेर काम गर्ने इच्छा राखेर तृणमूलमा आएकी बताएकी छन्।