बनबस्तीका दाबी र अवैद्य रिलोकेशन विरुद्ध रेञ्ज कार्यालय अघि विक्षोभ प्रदर्शन

कालचिनीः उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको पक्षबाट शुक्रबार बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ सुन्तलाबारी रेञ्ज समक्ष ज्ञापन साथै वन विभाग विरुद्ध विक्षोभ प्रदर्शन गरियो। रेभेन्यू भिलेज भइसकेको बनबस्तीलाई जबरजस्ती रिलोकेशनको लागि करकाप गर्न नपाईने, रेभेन्यू भिलेजमा परिणत नगरिएको बनगाउँलाई अविलम्ब रेभेन्यू भिलेजमा परिणत गरिनु पर्ने र बनबस्तीका विकासको लागि पारित भएको काममा वन विभागले खोँचे थाप्न नपाउने र रिलोकेशनको नाममा मनमानी अत्याचार वन विभागले गर्न नपाउने आदि विविध दाबीहरू लिएर शुक्रबार उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको ब्यानरमा सुन्तलाबारी रेञ्ज कार्यालयमा स्थानीय बक्साद्वार पहाड, सुन्तलाबारी, २८/२९ बस्तीका बासिन्दाहरूले विक्षोभ प्रदर्शन गरे।
उक्त विक्षोभ प्रदर्शनको कार्यक्रममा रेञ्ज अधिकारी मार्फत एफडीलाई ज्ञापन पनि सुम्पिएको थियो। उक्त कर्मसूचीमा सामेल भएर नेतृत्व दिएका उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले वनाधिकार कानुन पास भएर पनि यसलाई बनबस्तीमा लागु गर्न वन विभागले अडचन उत्पन्न गरिरहेको र वनाधिकार मुताबिक बनबस्तीका बासिन्दाहरूले आफ्नो अधिकार र कर्तव्य आत्मसात गर्दै आउँदा पनि वन विभागले बाधा मात्र गर्ने गरेको आरोप लगाउँदै रिलोकेशन गर्न अघि गाउँलेहरूको मूलभूत सुविधाहरूलाई ध्यानमा राखेर काम गरेको हुनपर्ने र जुन बनबस्तीका मानिसहरू स्थानान्तरण हुन चाहन्दैन उनीहरूलाई मानसिक प्रताडना पनि वन विभागले गर्न नपाउने जनाएका छन्।
आफूहरू रिलोकेशनको विरोधमा नरहेको तर रिलोकेशनको जबरजस्ती भार बनबस्तीका बासिन्दाहरूमा थोप्न नपाइने पनि तिनले जनाएका छन्। अलिपुरद्वार जिल्ला शासकको नाममा लेखिएको ज्ञापन पत्र पनि रेञ्ज अधिकारी मार्फत सुम्पिँदै सामुदायिक वनवासीको स्वार्थलाई पन्साएर एवम् ग्राम सभासँग सहकार्य नगरि वन विभागले मनमर्जी गर्न नपाउने, दक्षिण खयेरबारीमा पिउने पानीको पाइपलाइन बसाउन वन विभागले बाधा गरेको निन्दा गर्दै पिउने पानीको सर्वराहमा वन विभागले रोकटोक गर्न नपाउने र असंवैधानिक तरीकाले रेभेन्यू भिलेजलाई रिलोकेशनको १५ लाखको लोभ देखाउँदै बनबस्ती बासिन्दाहरूलाई मानसिक प्रताडना गर्न नपाइने, १५ लाख चाहिँदैन वनाधिकार लागु गर आदि विविध वनग्राम सम्बन्धित दाबीहरू लिएर विक्षोभ प्रदर्शन पनि गरिएको थियो। उक्त अवसरमा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलसहित सह कन्भेनर सुन्दरसिंह राभा, विश्वनाथ राभा, अरुण कुमार राई, एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

Leave a comment