भाजपा प्रतिपक्षी नेता शुभेन्दु अधिकारीको बाहुलीबाट एकैसाथ दुईवटा सालिकको अनावरण

भाजपा प्रतिपक्षी नेता शुभेन्दु अधिकारीको बाहुलीबाट एकैसाथ दुईवटा सालिकको अनावरण


कालचिनी : भाजपाका कालचिनी विधायक विशाल लामाको मुख्य पहल अनि सालिक निर्माण समितिको आयोजनामा शनिबार एकैसाथ गोर्खा स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्ल र आदिवासी स्वाधीनता सेनानी बीर विरसा मुण्डाको पूर्णाङ्ग सालिक एकसाथ अनावरण कालचिनी खण्डको भाटपाडा चियाबारीमा सम्पन्न भयो। भाजपा प्रतिपक्षी नेता शुभेन्दु अधिकारीलगायत दार्जीलिङका सांसद राजु विष्ट, अलिपुरद्वार सांसद मनोज तिग्गा, फालाकाट विधायक दीपक बर्मन, कुमारग्राम विधायक मनोज उराँव, नगरकट्टा विधायक पुना भेङ्गरा, रायगञ्जका सांसद कार्तिक पाल, विधायक सुशील बर्मन, विधायक दुर्गा मुर्मू, पूर्व सांसद तथा विधायक दशरथ तिर्की साथै भूतपूर्व सेनाहरूको उपस्थितिमा दुवै सालिकको एकसाथ अनावरण गरिएको थियो। सालिक अनावरणसँगै सालिक स्थल नजीकै नवनिर्मित आई लभ भाटपाडा र शहीद स्मृति स्थलको पनि उद्घाटन सम्पन्न भएको थियो।
सालिक अनावरण र शहीद स्मृति स्थलको उद्घाटन पश्चात मञ्चमा आमन्त्रित सबै अतिथिहरूलाई भव्य स्वागत गरिएको थियो भने मञ्चमा शहीद मेजर दुर्गा मल्लको जीवनीबारे शिक्षक देवकुमार राई र बीर विरसा मुण्डाको जीवनीबारे आदिवासी युक शिवचरण टोप्पोले परिचय वक्तव्य प्रस्तुत गरेको थियो। मञ्चमा अबेरसित आइपुगेका गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीलाई स्वागत गरिएको थियो।
स्वयम् कालचिनी विधायक विशाल लामाको उद्घोषणामा सम्पन्न सो समारोहमा भाजपाका प्रतिपक्ष नेता शुभेन्दु अधिकारीले राज्यमा भाजपाको यूथ आइकन विधायक विशाल लामाले गोर्खा सपुत शहीद मेजर दुर्गा मल्ल र आदिवासी स्वाधीनता सेनानी बीर विरसा मुण्डाको सालिक स्थापना गरेर दुवै जाति सम्प्रदायको राष्ट्रलाई दिएको योगदानको कदर गर्ने काम आफैमा ऐतिहासिक रहेको प्रशंसा गरे।
तिनले राजनैतिक सम्बन्धित केही मन्तव्य नगरेतापनि बङ्गलादेशको कट्टरपन्थीहरूले चिकन नेकलाई चुडाल्ने षडयन्त्र गरिरहेको र यसलाई कसले मदद गर्दैछ त्यसको जानकारी सबैलाई रहेको बताउँदै शहीद मेजर दुर्गा मल्ल र बीर विरसा मुण्डाको देशप्रेम, राष्टवादी, मूलवासी सोँचलाई पुनः काममा लगाउने बेला आएको र गोर्खा, आदिवासी, राजवंशी आदि वञ्चित जाति सम्प्रदायहरूलाई अधिकार दिन सबैले देशको प्रधानमन्त्रीलाई सहयोग दिनुपर्ने आह्वान गरे। आगामी १७ नोभेम्बरमा पुनः डुवर्सको कुमारग्राममा विधायक मनोज उराँवको कार्यक्रममा आउने पनि शुभेन्दु अधिकारीले बताए। कार्यक्रममा अर्को विशिष्ट अतिथि दार्जिलिङका सांसद राजु विष्टले पनि आदिवासी र गोर्खाहरू अहिले पनि स्वतन्त्र नभएकोले यी जातिलाई उन्मुक्ति दिन सकेसम्म आफूहरूले काम गरिरहेको बताउँदै डुवर्सको कालचिनी भाटपाडामा यो महत कार्यक्रममा आउन पाउँदा खुसी लागेको बताए।

यसरी नै अलिपुरद्वार सांसद मनोज तिग्गाले पनि सहमित्र विधायक विशाल लामाले गरेको कामलाई साधुवाद व्यक्त गरे। कार्यक्रमबीचमा विभिन्न नेपाली र आदिवासी सांस्कृतिक नृत्य अनि खुकुरी नाच लगायत अन्यान्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने अन्तमा कालचिनी विधायक विशाल लामाले भाटपाडामा दुई स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्ल र बीर विरसा मुण्डाको पूर्णाङ्ग सालिक साथै आई लभ भाटपाडा एवम् शहीद स्मारकको उद्घाटन समारोह आफूले कुनै राजनैतिक रंग बिना सम्पन्न गरेको बताउँदै कार्यक्रममा पार्टीको झण्डा कतै प्रयोग नगरिएको र यसमा सबै तप्कालाई नै निम्तो दिएको अनुसार कार्यक्रम सफल भएको दाबी गरेका छन्। आफूले कुनै राजनैतिक स्वार्थ बिना यो काम गरेको र आउँदो दिनमा यस्ता गर्न सकिने कामहरू अझै गर्दै लैजाने पनि विधायक विशाल लामाले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment