भानु मोडमा २११ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

२११ औँ भानु जयन्ती कार्यक्रम दलसिंहपाडा भानु मोडमा भव्य रूपमा सम्पन्न


जयगाउँ : आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती जयगाउँ थाना अन्तर्गत दलसिंहपाडास्थित भानु मोडमा आज एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जयगाउँ डेभलपमेन्ट अथोरिटी (जेडिए) का अध्यक्ष गङ्गाप्रसाद शर्मा रहेका थिए भने सभापतित्व महेन्द्र क्षेत्रीले गरेका थिए।


मुख्य अतिथि तथा अध्यक्षद्वयको हातबाट भानुभक्त सालिकमा धूपदीप प्रज्वलन तथा माल्यार्पण गर्दै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमको साहित्यिक सत्रमा स्थानीय कविहरू कमल थुलुङ, उत्तम भुजेल, रतन भुजेल र राकेश शर्माले भानुभक्तको योगदानमाथि कविता वाचन गरेका थिए। त्यसक्रममा आदिकविको संक्षिप्त जीवनी प्रस्तुत गर्दै कमल शर्माले भानु आचार्यको योगदानलाई स्मरण गराएका थिए।


यस अवसरमा हालै दिवंगत भएका वरिष्ठ आख्यानकार सानु लामाको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो। त्यस्तै, जयगाउँका वरिष्ठ समाजसेवी बी.बी. खवासको योगदानको कदर गर्दै उहाँको जीवन परिचय मनोज कुमार श्रेष्ठले प्रस्तुत गरे भने सानु लामाको साहित्यिक योगदानबारे दुर्गा राई ‘चामलिङ’ ले संक्षिप्त चर्चा गरेका थिए।

कार्यक्रममा जयगाउँ २ नम्बर ग्राम पञ्चायतकी प्रधान शुभला शाह, उपप्रधान फुर्ब लामा, जयगाउँ १ नम्बर ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा अन्य क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी दलसिंहपाडा ग्राम पञ्चायतकी प्रधान माया आले, उपप्रधान दिलीप थापा, समाजसेवी गणेश आले, प्रताप सिंह राणा, हेम कुमार मगर, कालचिनी पञ्चायत समितिकी उपसभापति नितु राणा, विकास क्षेत्री, अशोक क्षेत्री लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
जयगाउँ १ र २ नम्बर ग्राम पञ्चायत तथा दलसिंहपाडा ग्राम पञ्चायतको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दुर्गा थुलुङ र मनोज कुमार श्रेष्ठले गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment