जयगाउँ स्थित गोपीमोहन खेलमैदानलाई भारतीय स्वतन्त्र सेनानी रामसिंह ठकुरीको नाममा ‘रामसिंह ठकुरी रङ्गमञ्च’को रूपमा विकास गर्ने र रामसिंह ठकुरीको पूर्णकदको सालिक समेत स्थापना गरिने -चेयरम्यान गङ्गाप्रसाद शर्मा
दलसिंहपाडा: आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा दलसिंहपाडास्थित भानु मोडमा “आइ लभ भानु मोड” लेखिएको आकर्षक बोर्डको उद्घाटन गरिएको छ। उद्घाटन समारोह जयगाउँ डेभलपमेन्ट अथोरिटी (जेडिए) का चेयरम्यान गङ्गाप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

उक्त बोर्ड जयगाउँका उद्यमी तथा ड्रुक इन्डो अटोमोबाइलका मालिक थम्बे शेर्पाको अनुदानमा निर्माण गरिएको हो। स्मरणीय रहोस्, सन् २०२२ मा जयगाउँ १ नम्बर ग्राम पञ्चायत, जयगाउँ २ नम्बर ग्राम पञ्चायत र दलसिंहपाडा ग्राम पञ्चायतको संयुक्त पहलमा जिएसटी मोडमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिएको थियो। सोही समारोहमा पश्चिम बङ्गाल सरकारका अनुसूचित जनजातिका मन्त्री बुलुचिक बराइकले सालिकस्थलको नाम ‘भानु मोड’ राख्ने घोषणा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चेयरम्यान शर्माले भने, “आदिकवि भानुभक्त आचार्य नेपाली जातिको गौरव हुन्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा भानु जयन्ती महत्त्वपूर्ण अवसर हो।” तिनले आगामी दिनमा जयगाउँ स्थित गोपीमोहन खेलमैदानलाई भारतीय स्वतन्त्र सेनानी रामसिंह ठकुरीको नाममा ‘रामसिंह ठकुरी रङ्गमञ्च’को रूपमा विकास गर्ने र रामसिंह ठकुरीको पूर्णकदको सालिक समेत स्थापना गरिने घोषणा गरे। यसै कार्यक्रममा उद्यमी तथा समाजसेवी ड्रुक इन्डो अटोमोबाइलका मालिक थम्बे शेर्पालाई स्मृति चिन्ह प्रदान गरी सम्मान अर्पण गरेका थिए। कार्यक्रममा तीनवटै ग्राम पञ्चायतका प्रतिनिधि, स्थानीय बासिन्दा तथा क्षेत्रीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
याे पनि हेर्नुस्
