कालचिनीः कालचिनी विधायक विशाल लामाले गत केही दिन कुनै मीडिया सञ्चारमाध्यममा दिएको बयानबाजीले ढुङ्गा र बालुवा लेबर यूनियन विक्षुब्ध बनेका छन्। वैद्य रुपमा सरकारी चलान काटेर नदीबाट ढुङ्गा र बालुवा ओसार पसार गर्ने कार्य चलिरहेको समय र सो कार्यमा धेरै दैनिक मजदुरी गरेर पेटपाला चलिरहेको बेला एकजना जिम्मेदार विधायकले यसरी ढुङ्गा बालुवा चोरी गर्ने काम भइरहेको झुटो आरोप लगाएको भन्दै लेबर यूनियनले घोर भत्सर्ना गर्दै शुक्रबार कालचिनी चौपतिमा केही क्षण चक्काजाम गर्दै विधायक विरुद्ध नारा लगाएको थियो। कथित रुपमा कालचिनी विधायक विशाल लामाले केही सञ्चारमाध्यमलाई नदीमा अवैद्य खनन कार्य भएको र अवैद्य रुपमा ढुङ्गा बालुवा बाहिर तस्करी गरिरहेको बयान दिएको थियो भने यसैलाई केन्द्र गरेर शुक्रबार ढुङ्गा बालुवासँग जडित लेबर यूनियनले विधायक विशाल लामा विरुद्ध नाराबाजी गरेका थिए।
यता उक्त सम्बन्धमा कालचिनी विधायक विशाल लामासित सम्पर्क गर्दा तिनी वर्तमान राज्य बाहिर रहेको र यो सबै तृणमूलले झुटो नाटक गरेको फोन मार्फत जनाएका छन्। आफूले कहिले कसैलाई चोरीको आरोप नलगाएको तर बर्षाको बेला जुन क्षति नदीको बाढले पुऱ्याउने गर्दछ त्यसको जिम्मेवार नदीमा अवैद्य उत्खननले हुने गरेकोले यसलाई रोकथाम गरेर सुरक्षा बाँधको व्यवस्था सराकारले गर्नुपर्ने अपिल गरेको मात्र जनाएका छन्।
अर्कोतिर लेबर यूनियनले विधायकले आजसम्म कुनै विकासको काम नगरेको उल्टा वैद्य रुपमा काम गरेर परिवारको पेट पाल्ने श्रमिक परिवारको पेट मार्ने काम गरिरहेको आरोप लगाएका छन्। यता यस सम्बन्धमा उक्त लेबर यूनियनले कालचिनी बीडीओ समक्ष यसको निन्दा विधायक विरुद्ध आपत्ति जनाउन गएको बताइएको छ।