बीरपाडा विद्यालयमा सिमा पर्खाल निर्माणको अभियानमा भूतपूर्व विद्यार्थीहरूको सहयोगको अपिल


जयगाउँ ः पश्चिम बङ्गालको डुवर्स क्षेत्रमा अवस्थित बीरपाडा नेपाली उच्चत्तर माध्यमिक विद्यालयले यस वर्ष स्थापनाको ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) भव्य रुपमा मनाएको छ। सन् १९७५ मा स्थापित यस विद्यालयले प्रारम्भदेखि नै आर्थिक कठिनाइहरूको सामना गर्दै नेपाली भाषामा शिक्षा प्रदान गर्दै आइरहेको छ। स्वर्ण जयन्ती समारोहको अवसरमा गतः जनवरी २१ तारिखमा विद्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक तथा भूतपूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस विशेष अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थीहरूको संगठनले गुरु दक्षिणाको भाव व्यक्त गर्दै विद्यालयको एकपट्टिको सिमा पर्खाल निर्माण गरिदिने घोषणा गरेका थिए। उक्त घोषणालाई कार्यान्वयनमा ल्याउन सङ्गठनले आर्थिक सहयोग सङ्कलनको अभियान आरम्भ गरिसकेको छ। हालै आयोजित एक पत्रकार सम्मेलनमा सङ्गठनका पदाधिकारीहरूले सम्पूर्ण भूतपूर्व विद्यार्थीहरूलाई सहयोगका लागि अपिल गरेका छन्। उनीहरूले अहिलेसम्म ४२ भन्दा बढी ब्याचका विद्यार्थीहरू यस विद्यालयबाट माध्यमिक शिक्षा प्राप्त गरिसकेको जानकारी दिँदै सबैलाई यथासम्भव योगदान गर्न अनुरोध गरेका छन्। सङ्गठनका तर्फबाट भनिएको छ “यो अभियान विद्यालयको भौतिक संरचनामा सहयोग पुर्‍याउनु मात्र नभई, हामीलाई शिक्षा प्रदान गर्ने गुरुहरूप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो।” उनीहरूले पर्खाल निर्माण कार्य शुरु भइसकेको जनाउँदै छिट्टै सम्पन्न हुने विश्वास पनि व्यक्त गरेका छन्। भूतपूर्व विद्यार्थीहरूको सशक्त सहभागिताले यो अभियान सफल हुने आशा गरिएको छ।

Leave a comment