कालचिनीः गत १७ सेप्टेम्बरको दिन कलकत्तामा सीसीपीए, ट्रेड यूनियन अनि लेबर डिपार्टमेन्टबीचको म्याराथन बैठकले चियाबारी श्रमिकहरूको बोनस दर २० प्रतिशतको सट्टा अन्ततः १६ प्रतिशतमा आएर सम्झौता भएता पनि यसको सूचना कमाने श्रमिकहरूले पाए लगत्तै हाल प्रत्येक चियाकमानमा श्रमिकहरू आन्दोलित बनेका छन्।
लगातार गेट सभा मार्फत श्रमिकहरूले बोनस २० प्रतिशत दिनु पर्ने चर्को आवाज उठाइरहेका छन्। तर यता डुवर्सको ए श्रेणीमा पर्ने चियाकमानहरूमा पनि १६ प्रतिशतको सट्टा कतै १५ कतै १४ त कतै १२ प्रतिशतको दरले बोनस दिईने चुक्ति भएको थाह पाएपछि चिया श्रमिकहरू आन्दोलित बनेका छन्। कालचिनी खण्डको मेचपाडा चियाबारी ए श्रेणीमा रहेता पनि यसपाली १५ प्रतिशतको दरले बोनस दिईने चुक्ति पत्रमा देखेपछि श्रमिक अनि ट्रेड यूनियनको स्थानीय यूनिट नेताहरू आफ्नै सेन्ट्रल नेताहरूप्रति आक्रोशित बन्दै गेट सभामा सामेल भएका छन्।
यसै क्रममा गत सोमबारदेखि लगातार गेट सभा गर्दै आइरहेको मेचपाडा चियाबारीको यूनियन नेताहरूले जबसम्म कम्पनीले १६ प्रतिशतको दरमा बोनस दिने सहमति व्यक्त गर्दैनन् तबसम्म गेट सभा लगातार जारी रहने बरु कुनै परिणामको सामना गर्न आफूहरू तयार रहेको जनाएका छन्।