बक्सा ब्याघ्र प्रकल्पको आयोजनामा विश्व बाघ दिवस पालन

कालचिनीः सोमबार विश्व बाघ दिवसको अवसरमा बक्सा ब्याघ्र प्रकल्पको राजाभातखावास्थित एनआईसीमा अलिपुरद्वार कलेज र कोचबिहार एबीएन शील कलेजको विद्यार्थीहरूलाई समेटेर बाघ संरक्षणबारे कार्यशाला सम्पन्न भयो। बक्सा ब्याघ्र प्रकल्पको आयोजनामा सम्पन्न उक्त कार्यशालामा विद्यार्थीहरूलाई मान्छे र बाघको द्वन्द्व, यसको कारण र समाधानबारे चित्राङ्कन प्रतियोगिता राखिएको थियो। उक्त अवसरमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी आईएफएस डा. हरिकृष्णन टीजेको मुख्य उपस्थिति रहेको थियो भने अन्य बन अधिकारीहरूमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमका एडीएफओ नवीकान्त झाँ, एडीएफओ पल्लव मुखर्जीलगायत बीटीआर पुर्वका दुईजना एडीएफओको पनि उपस्थिति रहेको थियो। कोचबिहार र अलिपुरद्वार कलेजका जम्मा ३० जना विद्यार्थीहरूलाई बाघ संरक्षणमाथि सचेतना साथै चित्राङ्कन प्रतियोगितामा सहभागी बनेकाहरूलाई प्रमाणपत्र र उपहार प्रदान गरिएको थियो।

उपरोक्त सम्बन्धमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी आईएफएस डा. हरिकृष्णन टीजेले सोमबार विश्व बाघ दिवसको उपलक्ष्यमा अलिपुरद्वार र कोचबिहारको प्रायः ३० जना कलेजियट छात्राहरूलाई समेटेर बाघ संरक्षणबारे सचेतना गरिएको र यसै क्रममा ती विद्यार्थीहरूलाई मान्छे र बाघको द्वन्द्व यसको कारण र समाधानबारे चित्राङ्कन प्रतियोगितामा सामेल गरिएको र यसबाहेक विद्यार्थीहरूलाई बक्सा ब्याघ्र प्रकल्पले गिद्ध प्रजनन केन्द्रमा विलुप्तिको सङ्घारमा पुगेको गिद्धको संरक्षण साथै बक्साको जङ्गलमा बाघको वासस्थान फर्काई ल्याउन काम गरिरहेको जानकारी गराएको बताउँदै केवल रोयल बेङ्गल बाघ मात्र नभएर अन्य वन्य प्राणीको पनि संरक्षण गर्न ७६० वर्ग किलोमीटरमा विस्तृत बक्सा ब्याघ्र प्रकल्पको संरक्षणको दिशामा बन विभाग अघि बढेको पनि जनाएका छन्। तिनले विगतको भूलहरूबाट सिक्दै पुनः बक्सा जङ्गलको गरिमा फर्काई ल्याउन काम चलिरहेको थप जनाएका छन्।

Leave a comment