बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि) -द्वारा आयोजित प्लाटिनियम जुब्ली इन्टर स्कूल मेघा फुटबल फेस्टको विजेता टोली बन्न पुगेको छ पेदोङको सन्त जर्ज उच्चतर माध्यमिक विद्यालय। २२ सेप्टेम्बरको दिन आयोजित भव्य फाइनल खेलमा आयोजक टोली बाउमावि-लाई पराजित गरेर सन्त जर्ज स्कूल विजयी बनेको हो। उत्तर बङ्गालका चार जिल्लाका २० स्थापित विद्यालयहरूले एक महिनासम्म चलेको यस फुटबल टुर्नामेन्टमा भाग लिएका थिए। टुर्नामेन्टको हरेक खेलमा दर्शकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
फाइनल खेलमा मुख्य अतिथिका रूपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा, स्थानीय समाजसेवीहरू राजेश छेत्री, समीर छेत्री बुढा़थोकी, सुमन प्रधान र विद्यालयका प्रधानाध्यापक सागर शर्माका बाहुलीबाट विजेता र उपविजेता टोलीलाई नगद राशि, विजेता सिल्ड र ट्रफीहरू प्रदान गरियो। विजेता टोलीका लागि ३० हजार नगद राशि अनि उपविजेता टोलीका लागि २० हजार नगद राशि क्रमैले समीर छेत्री बुढ़ीथोकी (चन्दाकम्पनी) र नितिन अग्रवाल (चुनाभट्टी)-ले प्रायोजन गरेका थिए। टुर्नामेन्टका सम्पूर्ण ट्रफीहरू चन्दाकम्पनीका समाजसेवी सुमन प्रधानले प्रायोजन गरेका थिए। टुर्नामेन्टभरिका उत्कृष्ट खेलाड़ीका रूपमा सन्त जर्ज विद्यालयका कप्तान बासिल लेप्चा पुरस्कृत भए। माउन्ट जियोन अङ्ग्रेजी विद्यालयका अनिष छेत्री श्रेष्ठ गोलकिपर बने भने राइजिङ प्लेयर बनेका छन् बाउमावि-का आयूष मिञ्ज। यसैगरी, टुर्नामेन्टभरि सर्वाधिक ६ वटा गोल गर्ने बाउमावि-का अन्तरिक्ष टोप्पोले सर्वोच्च गोलदाताको खिताब जिते भने सन्त जर्ज उच्चतर माध्यमिक विद्यालयका छेवाङ तामाङ बने ‘म्यान अफ् द म्याच’। समापन समारोहमा सेन्ट स्टिफन स्कूल, कफेरको ब्रास ब्याण्ड प्रस्तुति र चर्चित गायक बिक्रम कालिकोटेको गायनले दर्शकवर्गलाई छुट्टै रोमाञ्चकता र आनन्द प्रदान गरेको थियो। स्थानीय दुई अङ्ग्रेजी विद्यालयको सांस्कृतिक प्रस्तुति पनि दर्शनीय थियो।
यस अवसरमा टुर्नामेन्टमा विभिन्न रूपले सहयोग पुऱ्याउने सबै दाता र सहयोगीहरूलाई विद्यालयले ‘टोकन अफ् एप्रिसिएशन’-द्वारा सम्मानित गरेको थियो। फुटबल फाइनल खेलको लगत्तै,आन्द्राको रोगले ग्रसित विद्यालयकी भूतपूर्व छात्रा सञ्जीला उराँवलाई रु.१५,००० राशि प्रदान गरियो। फाइनल खेलपछि नै विद्यालयका प्रधानाध्यापक सागर शर्माले विद्यालयले उपविजेता बनेपछि प्राप्त गरेको राशिको ७५ प्रतिशत उनलाई सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेका थिए। यति भव्य खेल आयोजन गर्नमा सहयोग पुऱ्याउने सबैप्रति विद्यालयका प्रधानाध्यापकले आभार प्रकट गरेका छन्। खासगरी, टुर्नामेन्टमा सहभागी सबै विद्यालय, प्राध्यानाध्यापकगण, स्थानीय विभिन्न सङ्घ-संस्था, भूतपूर्व विद्यार्थीवर्ग, विद्यालय सञ्चालन समिति, जीटीएका विभिन्न क्षेत्रका सभासद्गण अनि दाताहरूप्रति आभार प्रकट गरेका छन्। उनले भने, हाम्रो विद्यालय आयोजक मात्र हो। यसपालि हामीले गौरवपूर्ण कुरो के बोध गऱ्यौँ भने हाम्रो परिवार विद्यालयका शिक्षण/अशिक्षण कर्मचारीहरू मात्र होइन रहेछन्, हाम्रो परिवार कति विशाल रहेछ भन्ने कुरा स्वतस्फूर्त रूपमा अनेक प्रकारले पाएको सहयोगबाट बुझ्न सक्यौँ। हाम्रा भूतपूर्व विद्यार्थी र शुभचिन्तकहरूको यसप्रकारको सहयोग र सहभागिताले हामी आह्लादित भएका छौँ। यसले हामीमा नयाँ उत्साह भरेको छ। प्रधानाध्यापकले मालबजार, मङ्पू र रम्भी क्षेत्रका पुलिस-प्रशासन र अधिकारीहरूद्वारा प्रदान गरिएको सहयोगको निम्ति पनि कृतज्ञता प्रकट गरे। यस टुर्नामेन्टलाई सफल बनाउन विद्यालयका शिक्षण तथा अशिक्षण कर्मचारीहरूले पुऱ्याएको योगदानको पनि उनले मुग्धकण्ठले प्रशंसा गरे।