छैठौँ डुवर्सव्यापी सोनम ल्होछार कालचिनीमा हुने

कालचिनीः प्रत्येक वर्षझैँ डुवर्स तामाङ बौद्ध सङ्घको आयोजनामा सम्पन्न हुने डुवर्सव्यापी सोनम ल्होछार यसपाली कालचिनीस्थित बक्सा क्लब मैदान रबीन्द्र-भानु-बिरसा भवनमा सभ्य अनि भव्यताकोसाथ पालन गरिने जानकारी डुवर्स तामाङ बौद्ध सङ्घको मूलसचिव कुमार गोलेले दिएका छन्। आइतबार कालचिनीस्थित सावित्री धर्मशालामा सम्पन्न डुवर्स तामाङ बौद्ध सङ्घ, कालचिनी ब्लक कमिटीको सभामा सङ्घको गतिविधि, अन्तर्राष्ट्रिय तामाङ परिषदको विज्ञ भेलाको रिपोर्ट साथै आगामी तामाङ नयाँ वर्ष २८६१औँ सोनम ल्होछार पालन विषयमा वृहत छलफल चलेको थियो।
उक्त सभाको अध्यक्षता सङ्घको कालचिनी ब्लक कमिटीको सभापति असीम पाख्रिनले गरेको थियो भने सभामा सङ्घको केन्द्रिय अध्यक्ष डीबी वाईबा, मूलसचिव कुमार गोले, सङ्घको उपाध्याक्ष मनिकुमार योञ्जन, ताम्बा लाक्पा योञ्जन, शम्भू तामाङ, जयगाउँ २ नम्बर ग्राम पञ्चायत प्रधान फुर्बा लामा, पेमा लामा, पवन लामा, मनोहर लामा, ब्लक सचिव श्याम थोकर, केन्द्रिय सदस्य मनकाजी लामा, देवकुमार लामा, टीकाराम लामा, एवम् विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा लामो छलफल पश्चात यो आउँदो २८६१औँ डुवर्सव्यापी सोनम ल्होछार आगामी २ फरवरी २०२५ को दिन कालचिनीस्थित बक्सा क्लब मैदान रबीन्द्र-भानु-बिरसा भवनमा सभ्य अनि भव्यताकोसाथ पालन गरिने सर्वसम्मतिले तय गरेको छ। सो डुवर्सव्यापी सोनम ल्होछारको आयोजक कमिटीको प्रमुख सल्लाहकारमा असिम पाख्रिनलगायत डीबी वाईबा, कुमार गोले, लाक्पा योञ्जन ,मनिकुमार योञ्जन, मनकाजी तामाङ, पदम गोले, सुमन पाख्रिन र ज्ञानलाल थोकर रहेका छन् भने आयोजक सभापतिमा श्याम थोकरलाई चयन गर्दै उपसभापतिमा जम्मा ८ जना क्रमैले नितु राणा तामाङ, प्रेम घिसिङ, पेमा लामा, सोभित लामा, टीकाराम लामा, साङ्गे लामा, गणेश लामा, कालु लामा र शम्भू मोक्तान रहेका छन्। महासचिवमा संयुक्त रुपमा पवन लामा र शरण लामालाई चयन गर्दै सचिवहरूमा फुर्बा लामालगायत अन्य ७ जनालाई चयनित गरिएको छ। यसरी नै कोषाध्यक्षमा ध्रुव गोम्देन, सहकोषाध्याक्षमा उर्गेन लामालाई चयन गर्दै जम्मा २३ जना भन्दा अधिक कार्यकारिणी सदस्यहरूको चयन गरिएको आयोजक कमिटीको सभापति श्याम थोकरले जनाएका छन्।


विशेषगरी तामाङ जातिको महान सांस्कृतिक पर्वको रुपमा सोनम ल्होछार पालन गर्दै आइरहेको तामाङ जातिलाई सांस्कृतिक अनि पारम्परिक रुपमा एकबद्ध राख्न अनि यसलाई सामुहिक रुपमा प्रचार प्रसार एवम् संरक्षण गर्दै लैजाने उद्देश्यले डुवर्सव्यापी रुपमा सोनम ल्होछार पालन गरिने मुख्य सल्लाहकार असीम पाख्रिनले थप जनाएका छन्।

Leave a comment