कालचिनीः धनी उराँव एकजना कमाने श्रमिकको नाम हो। ५८ बर्षीय धनी उराँव नामले धनी भएता पनि तिनको नियती भने कमानको १ डेसिमल पनि पुग न पुगको माटोमा गाडेको कालो प्लास्टिकको छाप्रोमा सुकुम्वासी जीवन बाँच्न बाध्य बनेको चिया श्रमिकको प्रतिरुप नै हो भन्न सकिन्छ। २०१४ सालको सेप्टेम्बर महीनामा बोनस र वेतन विवादले ठप्प हुन पुगेको कालचिनी खण्डको रुग्ण मधु चियाबारी अन्ततः ७ सालको लामो कष्टपूर्ण समयपछि विगत २०२१ को २७ दिसम्बरको दिन खोलिएको थियो। कमान खोलिएर विस्तारै कमान सामान्य अवस्थामा फर्कने बताइएता पनि त्यही कमानको स्थायी श्रमिक धनी उराँव र तिनको पत्नी आशारानी उराँवले अन्य श्रमिकहरूले सरह खाद्य सुरक्षा अधिनियम अन्तर्गत पाइरहेको रासन पाउन वञ्चित रहँदै आएको फ्याक्ट फाइन्डिङ कमिटीको रिपोर्टले जाहेर गरेका छन्। धनी उराँवले न त कमानबाट न नै सरकारी प्रकल्पको कुनै सुविधा एवम् सरकारी आवास योजनाको एउटा घर भनौँ केही नपाएको रिपोर्टले खुलासा गरेकाे छ । यसबीच धनी उराँव मिर्गीजन्य रोगले ग्रसित थिए।
सरकारको दैलोमा सरकार, टोलमा समाधानको शिविरहरूमा पनि धनी उराँवको आधारकार्डसँग रासनकार्डको समायोजन नहुँदा विगत २-३ बर्षदेखि रासनबाट वञ्चित रहँदै आएको रिपोर्टले बताएका छन्। फ्याक्ट फाइन्डिङ कमिटीले धनी उराँव गत २ फरवरीको दिन रोग र भोकले नै मरेको बताउँदै धनीको मृत्यु पछाडी श्रम कानूनहरूको स्पष्ट उल्लङ्घन मात्र नभएर चिया अधिनियम १९५१, पेमेन्ट अफ वेजेस एक्ट १९३६, राष्ट्रिय खाद्य सुरक्षा कानून २०१३ को सरासरी उल्लङ्घन भएको बताइएको छ। पीबीसीएमएसका प्रतिनिधि बिरबल उराँव र विनय केरकेट्टाले सरकार तथा प्रशासन समक्ष ६ वटा दाबीहरू राखिएको जनाएका छन्। ती दाबीहरूमा धनी उराँवको मृत्युको छानबीन गर्न एउटा स्वतन्त्र टोली गठन गर्दै दोषी अधिकारीहरू वा व्यक्तिहरू विरुद्ध कडा कानूनी कदम चाल्नु पर्ने, भोकमरीले मृत्यु भएको धनी उराँवको विधवालाई उचित क्षतिपूर्ति दिइनु पर्ने, विधवालाई एएवाई, लक्ष्मी भण्डार, तपशिली बन्धु मात्र नभएर सबै सरकारी पाउने व्यवस्था उपलब्ध गराउने, एएलसीले मधु चियाबारीको प्रबन्धनपक्षलाई श्रम कानूनहरूको पालन नगरेकोमा कारवाही गर्नु पर्ने आदि दाबी अघि बढाइएको जनाएका छन्।